शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अब कसैले अकालमा ज्यान गुमाउनुपर्दैन : मन्त्री चौधरी

शनिबार, १५ असोज २०७९, १६ : ५९
शनिबार, १५ असोज २०७९

शहरी विकास मन्त्री मेटमणि चौधरीले स्वास्थ्य सेवा अभावका कारण अब अकालमा कसैले पनि ज्यान फाल्न नपर्ने बताएका छन् । देउखुरी निसराउ समूहले गढवामा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै प्रमुख अतिथि मन्त्री चौधरीले यस्तो बताएका हुन् । 

मन्त्री चौधरीले स्तरीय जनशक्ति, आवश्यक उपकरण र पूर्वाधार निर्माण तथा व्यवस्थापनसँगै नागरिकको स्वास्थ्य उपचार सेवा फेरिँदै गइरहेको उनको भनाई थियो । मन्त्री चौधरीले नागरिक स्वास्थ्यप्रति सरकारले आफ्नो जिम्मेवारी बोध गर्दै एक वडा, एक सामुदायिक स्वास्थ्य संस्था निर्माण तथा सञ्चालन गरी हरेक शहरदेखि गाउँसम्मको स्वास्थ्यवस्थालाई मजबुत बनाउँदै लगिरहेको विश्वास व्यक्त गरे ।  उनले भने– ‘अब औषधी उपचार नपाएर ज्यान फाल्नुपर्ने अवस्था नागरिकहरुको छैन ।’ 

मन्त्री चौधरीले नागरिक स्वास्थ्य अवस्थाका लागि आवश्यक पर्ने पहिलो आधारभूत आवश्यकता नै पूर्वाधार रहेकाले त्यसको विकासमा सरकार अग्रसर बनिरहेको बताए । उक्त अवसरमा मन्त्री चौधरीले आसन्न प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारका जिताउन अपिल गरे । मुलुकको भविष्य निर्माण र जनताको अधिकार जोगाउन गठबन्धन उभिएकाले अब मुलुकको भविष्य निर्माण गर्न पनि सत्ता गठबन्धन आवश्यक देखिएको उनको भनाई थियो । 

शिविर उद्घाटनका विशिष्ट अतिथि लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री इन्द्रजित थारूले स्वास्थ्य सेवा हरेक नागरिकको पहुँचमा हुनुुपर्ने त्यसका लागि सरकारले आवश्यक योजना सहितको संरचना, जनशक्ति र आवश्यक उपकरण व्यवस्थापन सँगै अघि बढेको बताए ।

देउखुरी निसराउ समूहका अध्यक्ष शिव चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा गढवा गाउँपालिका अध्यक्ष यमनाराण शर्मा पोख्रेल लगायतका मन्तव्य राखेका थिए । शिविरमा करिव १ हजार ९ सय ४० जना लाभान्वित भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप