बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

आइतबार सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

शनिबार, १५ असोज २०७९, १४ : ३०
शनिबार, १५ असोज २०७९

राष्ट्रपति विद्यादेवी भण्डारी नेपाली सेनाद्वारा आइतबार दिउँसो सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने फूलपाती बढाइँ समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी हुने भएकी छन् । उनी नेपाली सेनाको परमाधिपति समेत हुन् ।

बढाइँ कार्यक्रममा सैनिक हेलिकप्टरद्वारा पुष्पवृष्टिका साथै राष्ट्रिय गीत र दुर्गा भजनको धुन प्रस्तुत गर्ने कार्यक्रम छ । सो अवसरमा सेनाले परेड प्रस्तुत गर्नाका साथै फूलपाती बढाइँअन्तर्गत राइफलबाट लहरे र एकठ्ठा तथा तोपबाट पनि बढाइँ गर्नेछ । परेडमा दुर्गायन्त्रको चिह्न बनाएर प्रस्तुत गरिनेछ ।

कोभिड–१९ को सङ्क्रमणका कारण अघिल्लो वर्ष फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने उद्देश्यले साङ्केतिक रूपमा मात्र आयोजना गरिएको थियो । बडादसैँको सप्तमी अर्थात् फूलपातिका दिन सेनाले सैनिक मञ्चमा हर्षोल्लासका रुपमा फूलपाती बढाइँ गर्ने पहिले देखिनकै चलन हो ।

गोर्खाबाट ल्याइएको जमरा र फूलपाती हनुमान ढोकाको दसैँ घरमा भित्र्याउने साइत मिलाएर टुँडिखेलमा फूलपाती बढाइँ गरिन्छ । नेपाली सेना मुलुकको प्रमुख सुरक्षा अङ्ग हो । टुँडिखेलको बढाइँ सकिएपछि आवश्यक मात्रामा जनशक्ति राखेर अरुलाई दसैँ बिदामा जान अनुमति दिने सेनामा चलन छ । सेनाको अहिले सङ्गठन प्रमुखमा प्रभुराम शर्मा रहेका छन् ।

फूलपाती समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनालगायत विशिष्ट महानुभावलाई आमन्त्रण गरिको छ । सैनिक मञ्चको बढाइँ हेर्न टुँडिखेल वरपर नरनारीको पनि बाक्लो उपस्थिति हुने गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप