शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गुल्मीका अनाथलाई दसैँ खर्च जुट्यो

शनिबार, १५ असोज २०७९, ११ : २७
शनिबार, १५ असोज २०७९

बाँके जिल्लाका एकजना समाजसेवी अनाथ बालबालिकाहरूलाई दसैँ खर्च बोकेर गुल्मी आइपुगेका छन् । बाँकेको खर्जुरा गाउँपालिका–४ का लीलबहादुर थापाले गुल्मीका अनाथ बालबालिकाहरूको दसैँ खर्च बोकेर आएका हुन् । तम्घासको स्काउट भवनमा अस्थाई छात्रावासको व्यवस्थापन गरी संरक्षण दिइएका अनाथ बालबालिकालाई थापाले ५५ हजार रुपैयाँ दसैँ खर्च उपलब्ध गराएका छन् ।

महेन्द्र नमूना माविको स्काउट भवनमा केही दिनअघि ती बालबालिकालाई ब्यवस्थापन गरिएको थियो । उक्त दसैं खर्च विद्यालयकी सहायक प्रधानाध्यापक लक्ष्मी अर्याललाई एक कार्यक्रमकाबीच थापाले हस्तान्तरण  गरेका छन् । सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले सबै सरोकारवाला निकायहरु मिलेर सडक बालबालिकाको व्यवस्थापन गरिएको बताउँदै सहयोगदाता थापालाई धन्यवाद दिए  ।

रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले जिल्लाका स्थानीय तह, शिक्षा समन्वय इकाई, प्रशासन तथा सुरक्षा निकाय र सम्बद्ध सबै पक्ष मिलेर बालबालिकाहरूको व्यवस्थापन गर्न सफल भएको भन्दै यो पुण्य काममा जोडिएर बालबालिकाहरूको भविष्यका लागि सहयोग गरेकोमा थापाप्रति कृतज्ञता जाहेर गरेका थिए ।

शिक्षा विकास तथा समन्वय इकाई गुल्मीका इकाई प्रमुख लोकनाथ मरासिनीले उक्त सहयोग रकममध्ये नगद १० हजारबाट बालबालिकाहरूलाई न्यानो कपडा र बाँकी रकम ४५ हजारबाट खाजा तथा खानाको व्यवस्थापन गरिने बताए । 

शिक्षा विकास तथा समन्वय इकाई गुल्मीले समाजसेवी थापालाई पनि सम्मान गर्यो । प्रमुख जिल्ला अधिकारी पौडेल, रेसुङ्गा नगरपालिकाका नगरप्रमुख पन्थी, जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक अर्जुन रानाभाट लगायतले थापालाई सम्मान गरेका हुन्  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप