‘कलाकारिता रोजेकाले यता न उताको भएँ’
विश्व बस्नेत विसं २०३५ मा निर्माण भएको ‘सिन्दूर’ फिल्मका नायक हुन् । ‘सिन्दूर’पछि ‘अन्याय’ निर्माण र अभिनय गरेका उनी तेस्रो फिल्म ‘नाता’मा आउँदा निर्देशक भए । त्यसैले नेपाली फिल्म क्षेत्रमा उनको परिचय अभिनेता, निर्माता र निर्देशकको छ ।
अहिलेसम्म करिब २५ फिल्म, केही सिरियल र थुप्रै विज्ञापन फिल्म अभिनय गरेका बस्नेत उमेरले ७७ वर्षमा हिँडिरहेका छन् । तर उनको सोच भने जवान छ । त्यसैले पनि उनी मौका पाए एक फिल्म निर्देशन गर्ने इच्छा राख्छन् । पछिल्लो समय नेपाली फिल्म नचल्नुको कारण दर्शक रुचिअनुसार फिल्म नबन्नु उनको बुझाइ छ । फिल्मका लेखकसमेत विश्व बस्नेतका जीवनका विभिन्न पाटा रातोपाटीको ‘मेरो जीवन’ स्तम्भमा उनकै शब्दमाः
२५ वर्षदेखि शाकाहारी
दालभात, तरकारीलगायत सबैथोक खान्छु, त्यो हेल्दी भने हुनुपर्छ । म २५ वर्षदेखि भेजिटेरियन हो । माछामासु खान्न । काउली, बन्दालगायतका तरकारी धेरै मनपर्छ । रेस्टुरेन्ट कहिलेकाहीँ जान्छु । रेस्टुरेन्टका खानामा विभिन्नथरिका मिसावट हुने भएकाले स्वास्थ्यका लागि उचित हुँदैन, त्यसैले खान्नँ । मलाई पकाउन रुचि छ । सबैथोक पकाउन सक्छु ।
नियमित योगा
फिट्नेसमा सजग छु । हरेक दिन बिहान नियमित डेढदेखि दुई घण्टा एक्सरसाइजमै बिताउँछु । एक्सरसाइजका लागि योग, प्रणायाम, ध्यानदेखि मर्निङ वाकसम्म गर्छु ।
एक्सरसाइजकै लागि भनेर कहिल्यै क्लब धाइनँ । एक्सरसाइजका लागि घरमै ट्राम्पलिङलगायत केही समान छन् । तीसमेत प्रयोग गर्छु ।
पहिले टिपटप
पोसाकमा पहिले म धेरै सौखिन थिएँ । सधैँ टिपटप भएर हिँड्थे । अहिले भने सामान्य रुचि छ । पहिरनमा धेरै मनपर्ने जिन्सपाइट र क्याजुअल पहिरन हो ।
फर्मल कार्यक्रम, विवाहलगायतमा जानुपर्दा दौरासुरुवाल टोपी र सुटपाइन्ट लगाउँछु । अन्य समय क्याजुअल पहिरन प्रयोग गर्छु । पहिरनमा मनपर्ने रङ नीलो हो । पहिरन प्रायः रेडिमेड किन्छु । ब्रान्ड हेर्ने बानी कहिल्यै छैन । मनपरेको किन्छु ।
पुस्तक पढ्छु
पुस्तक अध्ययन धेरै गर्छु । फिक्सन, नन्फिक्सन लगायत हरेक किसिमको पुस्तक पढ्न मनपर्छ । पछिल्लो समय क्यान्सरलगायत विभिन्न स्वास्थ्यसम्बन्धी पुस्तकहरू अध्ययन गरिरहेको छु ।
पहिले अङ्ग्रेजी साहित्यका किताब धेरै पढ्थेँ । ‘इन्द रियलम् अफ द माइन्ड’ भन्ने मेरो अङ्ग्रेजीमा एउटा कविताको पुस्तक पनि निस्किएको छ । अहिले क्यान्सरसम्बन्धी एक पुस्तक ल्याउने तयारीमा छु ।
फुर्सदै फुर्सद
जागिर नभएकाले अहिले फुर्सदै फुर्सद छ । त्यसैले अहिले दुई कुराको रिसर्च गरिरहेको छु । एउटा वैकल्पिक क्यान्सर, अर्काे कोरोना ।
पछिल्लो तीन वर्ष मैले कोरोना मात्रै रिसर्च गरेर बिताएँ । कोरोनाका विषयमा मलाई जति जानकारी नेपालमा कसलाई होला र ? यस विषयमा पर्चा, पुस्तक र लेखहरू समेत प्रकाशन गरेको छु ।
हक्की खेल्थेँ
पहिले खेलकुदमा रुचि थियो । स्कुल पढ्दा हक्की, बास्केटबल, फुटबल र ब्याडमिन्टनसमेत खेल्थेँ । यी खेलमा भन्दा पनि बडी बिल्डिङमा रुचि धेरै थियो ।
स्कुलका खेलकुद प्रतियोगितामा पनि भाग लिन्थेँ । पुरस्कार जितेको रेकर्ड छैन । अहिले खेलकुद हेर्न पनि मनपर्दैन ।
घुमघाममा रुचि
घुमघाममा एकदमै रुचि छ । पहिले नपुगेका नयाँ नयाँ ठाउँ जान मनपर्छ । फोटोग्राफीमा पनि रुचि भएकाले प्राकृतिक सौन्दर्य भरिएका ठाउँ घुम्छु ।
देशका धेरै जिल्ला त घुमेको छैन । त्यस्तै १५, २० भए कि । विदेशका भने ४, ५ देश मात्र हो ।
टीभी, फिल्म
टीभी नहेरको जुगौँ भयो । टीभीमा सबै झुटो कुरो आउँछ । किनभने हरेक टीभीमा एउटै कुरो फरक फरक देख्न र सुन्न सकिन्छ । के विश्वास गर्ने, के नगर्ने । टीभीले प्रोपोगान्डा मात्र गर्छ ।
पछिल्लो समय फुर्सद नभएर फिल्म पनि हेरेको छैन । अचले बिहानदेखि अबेर रातिसम्म म रिसर्चमै समय बिताउँछु । फिल्म ज्ञानवद्र्धक, विश्वप्रसिद्ध अवार्ड जितेका र राम्रा कथामा बनेका हेर्न मनपर्छ ।
केटाकेटीदेखिकै रुचि
कलाकारितामा केटाकेटीदेखिकै रुचि थियो । त्यो समय देवानन्द, सन्नीकपुरलगायतका फिल्म हेरेर ऐनाअगाडि बसेर उनीहरूको अभिनयको नक्कल गर्थंे ।
त्यो समय म एकदमै राम्रो थिएँ । मैले केटी हेर्ने होइन, उनीहरू मलाई हेर्थे । उनीहरू मसँग नजिकिन, बोल्न अगाडि सर्थे । प्रेम प्रस्ताव राख्थे । त्यसैले पनि म आफूलाई हिरोको कल्पना गर्थें । अध्ययन सकिएपछि फिल्म अभिनय गर्ने सोचले मुुम्बई गएँ । त्यहाँ मेरो फुपूको छोरा प्रकाश थापा थिए । उनले पनि बोलाएका थिए । उनीसँगै फिल्मको सुटिङमा हिँड्दा इन्डियनले हिरो जस्तो छौ । फिल्म खेल्न भन्थे । त्यसपछि अभिनयको ट्रेनिङ लिन थालेँ ।
२०३५ सालमा नेपालमा ‘सिन्दूर’ फिल्मका लागि अडिसन भइरहेको थियो । भारतमा ट्रेनिङ गरेको र प्रकाश थापासँग चिनजान भएकाले हिरोमा म छानिएँ । अनि भएँ हिरो ।
कलाकारिता पछिल्लो समय धेरैको पेसा भएको छ । उनीहरूले राम्रो आम्दानी गरिरहेका छन् । मेरो समयमा कलाकारिता सौख थियो ।
जब ‘सिन्दूर’ सुपरहिट भयो । त्यसपछि २०४५ मा आफँैले ‘अन्याय’ बनाएँ । त्यसको हिरो पनि मै थिएँ । त्यसपछि २०५० मा ‘नाता’ निर्देशन गरेँ । मैले लगातार तीन फिल्ममा तीन फड्को मारेँ अर्थात् नायक, निर्माता र निर्देशक भए । यो रेकर्ड कसैको पनि छैन होला । तीनवटै फिल्म सुपरहिट साबित भयो ।
त्यो समय भुवन केसी, शिव श्रेष्ठ फिल्म माग्न जान्थे, म त्यसो गर्दिनँ थिए । यो फिल्म लाइनमा धूर्त, चलाख मानिस माथि जाँदा रहेछन् । लाटो सोझा पछि पर्दा रहेछन् ।
त्यसपछि पनि मैले विभिन्न फिल्म चरित्र अभिनेता भएर गरेँ । बालचलचित्र ‘एकादेशमा’ र ‘स्कुल’ बनाए ।
२०५४पछि पनि लगातार फिल्म अभिनय ररिहरे । करिब २५ भन्दा बढी फिल्म अभिनय गरेको छु । फाट्टफुट्ट सिरियल र थुप्रै विज्ञापन समेतमा मेरो अभिनय छ ।
जागिर फोटोग्राफी
करिब ३५ वर्षअगाडि कमलपोखरीमा किस्टल एकमेडमी भन्ने थियो । त्यहाँ डेढ वर्ष फोटोग्राफी पढाएँ । त्यसपछि अरू दुई ठाउँमा केही समय फोटोग्राफी पढाएको थिएँ । त्यो नै हो मेरो जीवनको जागिर अनुभव । त्यसपछि अहिलेसम्म बेरोजार छु ।
प्रेम विवाह
२०३५ मा मैले प्रेम विवाह गरेको हो । २०४५ मा निर्माण भएको मेरो ‘अन्याय’ फिल्मको तयारी २०३५ अगाडि नै हुँदैथियो । फिल्मका लागि कलाकार चाहिएको थियो ।
काठमाडौँकी उनी अडिसन दिन आएकी थिइन् । सोही क्रममा हाम्रो भेट र चिनजान भयो । केही समयपछि उनीसँगै विवाह गरेँ । विवाहका विषयमा योभन्दा बढी केही भन्दिनँ, नसोध्नुहोला प्लिज ।
सपना केही
मेरा दुईवटा सपना छन् । एउटा कोरोनाबारेमा सबैलाई जानकार बनाउने । अर्काे वैकल्पिक क्यान्सरको जो मैले अध्ययन गरिरहेको छु, त्यसका लागि क्यान्सर सेन्टर खेल्ने र पछि त्यो विस्तार गरेर अस्पतालको रूप दिने । तेस्रो सपना एउटा राम्रो फिल्म निर्देशन गर्नेछ ।
भूल भयो होला
भूल नगर्ने मानिस को होला र ? मेरो पनि भूल धेरै भए होला । भूलबाट सिक्ने पनि हो । कति भूलमा पछुतो भयो पनि भयो होला । तर अहिले याद छैन । सधैँ पछुतो हुने भूल गरेजस्तो भने लागेको छैन ।
कलाकारितामा आउनु पनि एक किसिमले भूल नै भयो जस्तो लाग्छ । मेरा बुबा आर्मीको कर्णेल हुनुहुन्थ्यो । काकाको छोरा पनि कर्णेल भयो । म पनि आर्मीमा गएको भए जर्नेल, कर्नेल वा प्रधानसेनापति हुन्थेँ होला । किनभने मेरो क्लासमेट ताराबहादुर थापा, प्याराजङ्ग थापा प्रधानसेनापतिसम्म भए ।
अर्काे कुरो राजनीतिमा आएको भए मन्त्रीसमेत हुन्थेँ कि । शेखर कोइराला मेरा जुनियर हुन् । कोइरालाहरूसँग सानैदेखि सङ्गत थियो । कलाकारिताबाहेक जुन फिल्डमा गएको भए पनि म उच्च तहमा पुग्थेँ । कलाकारिता रोजेकाले यता न उताको भएँ । हाम्रो समय समयमा ३, ४ वर्षमा एउटा फिल्म बन्थ्यो । एकपछि अर्काे फिल्म कुर्दैमा समय बितेको पत्तै भएन ।
छैन रोग
४ वर्षअगाडिसम्म मलाई प्रेसर थियो । त्यसको औषधि पनि खान्थेँ । त्यो समय एक पटक हृदयाघात भयो । जसका कारण गङ्गालाल अस्पताल भर्ना भएँ । त्यहाँ मुटुमा ९५ प्रतिशतसम्म ब्लकेज देखियो । डाक्टरले तुरुन्त स्टेन्ट राख्न सल्लाह दिएका थिए ।
डाक्टरले त्यसका लागि एक महिनाको समय पनि दिए । त्यो समय मैले मुटुको पूरै अध्ययन गरेँ । त्यसपछि डाक्टरले दिएको सबै औषधि छोडेर आफैँ आयुर्वेदको औषधि सुरु गरेँ ।
अहिले ४ वर्ष भयो । आफ्नै औषधिका कारण अहिले समस्या छैन । त्यो समय आफ्नो औषधि आफैँले गर्दा साथीभाइले यो पालग भयो, मर्छ भनेर गालीसमेत गर्थे । अहिले प्रशंसा गर्छन् ।
त्यो दुःख
आफूले चाहेको र गर्न खोजेको कुरो पूरा भएन भने दुःख र पूरा भयो भने सुख मिल्छ । त्यसैले मानिसले जतिसक्दो चाहना, इच्छा कम गर्नुपर्छ । आफूसँग जे छ, त्यसमा रमाउने मानिस जहिले पनि खुसी र सुखी हुन्छ ।
मापसे पहिले गर्थें
मापसे पहिले गर्थें, अहिले गर्दिनँ । पहिले पनि सधैँ र धेरै होइन । थोरै लिन्थेँ । यसको सौखिन कहिल्यै भइनँ । नेपालका धेरै कलाकार रक्सी खाएर बिग्रिएका छन् । मापसे भनेपछि प्राण फल्छन् । मेरो त्यस्तो बानी कहिल्यै भएन ।
गीतसङ्गीत सुन्छु
गीतसङ्गीत सुन्छु । नेपालीभन्दा पनि अङ्ग्रेजी सुन्छु । बढी सुन्ने भनेको सङ्गीतहरू हो । सङ्गीतमा म बिहान, बेलुका, देउँसो जुनै समय पनि रमाउन सक्छु ।
खराब बानी
मेरो खासै खराब बानी छ जस्तो लाग्दैन । केही साथीभाइले घमन्डी पनि भनेका छन् । म आफूलाई त्यस्तो लाग्दैन ।
राशि ‘मिथुन’
मेरो राशि ‘मिथुन’ हो । ग्रहदशामा विश्वास लाग्छ । ज्योतिष हेराउँदा कहिलेकाहीँ पुगेको छ । नमिलेको अवस्था पनि धेरै छन् ।
ज्योतिषले ६२ वर्षमा खड्गो छ भनेका थिए, त्यो समय झन्डै मरेको । त्यसपछि ७३ मा गाह्रो छ भनेका थिए । यो समय हृदयाघात भयो । त्यो पनि जितेँ ।
फिल्म रिलिजको समय पनि धेरै पटक ज्योतिष हेराएको थिए, त्यो भने मिलेन ।
मृत्यु निश्चित छ
मृत्यु एक दिन सबैको निश्चित छ । मृत्यबाट टाढा कोही छैन । मृत्यु सबैले स्वीकार्नुपर्छ । मृत्यु कष्टपूर्ण नहोस्, सुखदाय होस् भन्ने मेरो चाहना छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको फैसलापछि गण्डकीका सभामुखले भने– कानुन व्यवसायीसँग परामर्श गर्छु
-
गण्डकी प्रदेशका सांसद मनाङे ज्यान मार्ने उद्योगमा सर्वोच्चबाट दोषी ठहर
-
समीक्षाले लिएर आइन् मनछुने गीत ‘मुटु रेटियो’
-
सिकलसेल उपचारका लागि भेरी अस्पतालमा बेग्लै वार्ड स्थापना हुने
-
राजस्व सङ्कलनमा थप मेहनत गर्न अर्थमन्त्रीको निर्देशन
-
राष्ट्रिय परिचयपत्रको विवरणलाई ‘केवाईसी’मा प्रयोग गर्ने बाटो खुल्यो