शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘कलाकारिता रोजेकाले यता न उताको भएँ’

राजनीति रोजेको भए मन्त्री हुनेथिएँ
शनिबार, १५ असोज २०७९, ०९ : ४७
शनिबार, १५ असोज २०७९

विश्व बस्नेत विसं २०३५ मा निर्माण भएको सिन्दूर फिल्मका नायक हुन् । सिन्दूरपछि अन्याय निर्माण र अभिनय गरेका उनी तेस्रो फिल्म नातामा आउँदा निर्देशक भए । त्यसैले नेपाली फिल्म क्षेत्रमा उनको परिचय अभिनेता, निर्माता र निर्देशकको छ ।

अहिलेसम्म करिब २५ फिल्म, केही सिरियल र थुप्रै विज्ञापन फिल्म अभिनय गरेका बस्नेत उमेरले ७७ वर्षमा हिँडिरहेका छन् । तर उनको सोच भने जवान छ । त्यसैले पनि उनी मौका पाए एक फिल्म निर्देशन गर्ने इच्छा राख्छन् । पछिल्लो समय नेपाली फिल्म नचल्नुको कारण दर्शक रुचिअनुसार फिल्म नबन्नु उनको बुझाइ छ । फिल्मका लेखकसमेत विश्व बस्नेतका जीवनका विभिन्न पाटा रातोपाटीको मेरो जीवन स्तम्भमा उनकै शब्दमाः

२५ वर्षदेखि शाकाहारी

दालभात, तरकारीलगायत सबैथोक खान्छु, त्यो हेल्दी भने हुनुपर्छ । म २५ वर्षदेखि भेजिटेरियन हो । माछामासु खान्न । काउली, बन्दालगायतका तरकारी धेरै मनपर्छ । रेस्टुरेन्ट कहिलेकाहीँ जान्छु । रेस्टुरेन्टका खानामा विभिन्नथरिका मिसावट हुने भएकाले स्वास्थ्यका लागि उचित हुँदैन, त्यसैले खान्नँ । मलाई पकाउन रुचि छ । सबैथोक पकाउन सक्छु ।

नियमित योगा

फिट्नेसमा सजग छु । हरेक दिन बिहान नियमित डेढदेखि दुई घण्टा एक्सरसाइजमै बिताउँछु । एक्सरसाइजका लागि योग, प्रणायाम, ध्यानदेखि मर्निङ वाकसम्म गर्छु ।

एक्सरसाइजकै लागि भनेर कहिल्यै क्लब धाइनँ । एक्सरसाइजका लागि घरमै ट्राम्पलिङलगायत केही समान छन् । तीसमेत प्रयोग गर्छु ।

पहिले टिपटप

पोसाकमा पहिले म धेरै सौखिन थिएँ । सधैँ टिपटप भएर हिँड्थे । अहिले भने सामान्य रुचि छ । पहिरनमा धेरै मनपर्ने जिन्सपाइट र क्याजुअल पहिरन हो ।

फर्मल कार्यक्रम, विवाहलगायतमा जानुपर्दा दौरासुरुवाल टोपी र सुटपाइन्ट लगाउँछु । अन्य समय क्याजुअल पहिरन प्रयोग गर्छु ।  पहिरनमा मनपर्ने रङ नीलो हो । पहिरन प्रायः रेडिमेड किन्छु । ब्रान्ड हेर्ने बानी कहिल्यै छैन । मनपरेको किन्छु ।

पुस्तक पढ्छु

पुस्तक अध्ययन धेरै गर्छु । फिक्सन, नन्फिक्सन लगायत हरेक किसिमको पुस्तक पढ्न मनपर्छ । पछिल्लो समय क्यान्सरलगायत विभिन्न स्वास्थ्यसम्बन्धी पुस्तकहरू अध्ययन गरिरहेको छु ।

पहिले अङ्ग्रेजी साहित्यका किताब धेरै पढ्थेँ । इन्द रियलम् अफ द माइन्ड भन्ने मेरो अङ्ग्रेजीमा एउटा कविताको पुस्तक पनि निस्किएको छ । अहिले क्यान्सरसम्बन्धी एक पुस्तक ल्याउने तयारीमा छु ।

फुर्सदै फुर्सद

जागिर नभएकाले अहिले फुर्सदै फुर्सद छ । त्यसैले अहिले दुई कुराको रिसर्च गरिरहेको छु । एउटा वैकल्पिक क्यान्सर, अर्काे कोरोना ।

पछिल्लो तीन वर्ष मैले कोरोना मात्रै रिसर्च गरेर बिताएँ । कोरोनाका विषयमा मलाई जति जानकारी नेपालमा कसलाई होला र ? यस विषयमा पर्चा, पुस्तक र लेखहरू समेत प्रकाशन गरेको छु ।

हक्की खेल्थेँ

पहिले खेलकुदमा रुचि थियो । स्कुल पढ्दा हक्की, बास्केटबल, फुटबल र ब्याडमिन्टनसमेत खेल्थेँ । यी  खेलमा भन्दा पनि बडी बिल्डिङमा रुचि धेरै थियो ।

स्कुलका खेलकुद प्रतियोगितामा पनि भाग लिन्थेँ । पुरस्कार जितेको रेकर्ड छैन । अहिले खेलकुद हेर्न पनि मनपर्दैन ।

घुमघाममा रुचि

घुमघाममा एकदमै रुचि छ । पहिले नपुगेका नयाँ नयाँ ठाउँ जान मनपर्छ । फोटोग्राफीमा पनि रुचि भएकाले प्राकृतिक सौन्दर्य भरिएका ठाउँ घुम्छु ।

देशका धेरै जिल्ला त घुमेको छैन । त्यस्तै १५, २० भए कि । विदेशका भने ४, ५ देश मात्र हो ।

टीभी, फिल्म

टीभी नहेरको जुगौँ भयो । टीभीमा सबै झुटो कुरो आउँछ । किनभने हरेक टीभीमा एउटै कुरो फरक फरक देख्न र सुन्न सकिन्छ । के विश्वास गर्ने, के नगर्ने । टीभीले प्रोपोगान्डा मात्र गर्छ ।

पछिल्लो समय फुर्सद नभएर फिल्म पनि हेरेको छैन । अचले बिहानदेखि अबेर रातिसम्म म रिसर्चमै समय बिताउँछु । फिल्म ज्ञानवद्र्धक, विश्वप्रसिद्ध अवार्ड जितेका र राम्रा कथामा बनेका हेर्न मनपर्छ ।

केटाकेटीदेखिकै रुचि

कलाकारितामा केटाकेटीदेखिकै रुचि थियो । त्यो समय देवानन्द, सन्नीकपुरलगायतका फिल्म हेरेर ऐनाअगाडि बसेर उनीहरूको अभिनयको नक्कल गर्थंे ।

त्यो समय म एकदमै राम्रो थिएँ । मैले केटी हेर्ने होइन, उनीहरू मलाई हेर्थे । उनीहरू मसँग नजिकिन, बोल्न अगाडि सर्थे । प्रेम प्रस्ताव राख्थे । त्यसैले पनि म आफूलाई हिरोको कल्पना गर्थें । अध्ययन सकिएपछि फिल्म अभिनय गर्ने सोचले मुुम्बई गएँ । त्यहाँ मेरो फुपूको छोरा प्रकाश थापा थिए । उनले पनि बोलाएका थिए । उनीसँगै फिल्मको सुटिङमा हिँड्दा इन्डियनले हिरो जस्तो छौ । फिल्म खेल्न भन्थे । त्यसपछि अभिनयको ट्रेनिङ लिन थालेँ ।

२०३५ सालमा नेपालमा सिन्दूर फिल्मका लागि अडिसन भइरहेको थियो । भारतमा ट्रेनिङ गरेको र प्रकाश थापासँग चिनजान भएकाले हिरोमा म छानिएँ । अनि भएँ हिरो ।

कलाकारिता पछिल्लो समय धेरैको पेसा भएको छ । उनीहरूले राम्रो आम्दानी गरिरहेका छन् । मेरो समयमा कलाकारिता सौख थियो ।

जब सिन्दूर सुपरहिट भयो । त्यसपछि २०४५ मा आफँैले अन्याय बनाएँ । त्यसको हिरो पनि मै थिएँ । त्यसपछि २०५० मा नाता निर्देशन गरेँ । मैले लगातार तीन फिल्ममा तीन फड्को मारेँ अर्थात् नायक, निर्माता र निर्देशक भए । यो रेकर्ड कसैको पनि छैन होला । तीनवटै फिल्म सुपरहिट साबित भयो ।

त्यो समय भुवन केसी, शिव श्रेष्ठ फिल्म माग्न जान्थे, म त्यसो गर्दिनँ थिए । यो फिल्म लाइनमा धूर्त, चलाख मानिस माथि जाँदा रहेछन् । लाटो सोझा पछि पर्दा रहेछन् ।

त्यसपछि पनि मैले विभिन्न फिल्म चरित्र अभिनेता भएर गरेँ । बालचलचित्र एकादेशमास्कुल बनाए ।

२०५४पछि पनि लगातार फिल्म अभिनय ररिहरे । करिब २५ भन्दा बढी फिल्म अभिनय गरेको छु । फाट्टफुट्ट सिरियल र थुप्रै विज्ञापन समेतमा मेरो अभिनय छ ।

जागिर फोटोग्राफी

करिब ३५ वर्षअगाडि कमलपोखरीमा किस्टल एकमेडमी भन्ने थियो । त्यहाँ डेढ वर्ष फोटोग्राफी पढाएँ । त्यसपछि अरू दुई ठाउँमा केही समय फोटोग्राफी पढाएको थिएँ । त्यो नै हो मेरो जीवनको जागिर अनुभव । त्यसपछि अहिलेसम्म बेरोजार छु ।

प्रेम विवाह

२०३५ मा मैले प्रेम विवाह गरेको हो । २०४५ मा निर्माण भएको मेरो अन्याय फिल्मको तयारी २०३५ अगाडि नै हुँदैथियो । फिल्मका लागि कलाकार चाहिएको थियो ।

काठमाडौँकी उनी अडिसन दिन आएकी थिइन् । सोही क्रममा हाम्रो भेट र चिनजान भयो । केही समयपछि उनीसँगै विवाह गरेँ । विवाहका विषयमा योभन्दा बढी केही भन्दिनँ, नसोध्नुहोला प्लिज । 

सपना केही

मेरा दुईवटा सपना छन् । एउटा कोरोनाबारेमा सबैलाई जानकार बनाउने । अर्काे वैकल्पिक क्यान्सरको जो मैले अध्ययन गरिरहेको छु, त्यसका लागि क्यान्सर सेन्टर खेल्ने र पछि त्यो विस्तार गरेर अस्पतालको रूप दिने । तेस्रो सपना एउटा राम्रो फिल्म निर्देशन गर्नेछ ।

भूल भयो होला

भूल नगर्ने मानिस को होला र ? मेरो पनि भूल धेरै भए होला । भूलबाट सिक्ने पनि हो । कति भूलमा पछुतो भयो पनि भयो होला । तर अहिले याद छैन । सधैँ पछुतो हुने भूल गरेजस्तो भने लागेको छैन ।

कलाकारितामा आउनु पनि एक किसिमले भूल नै भयो जस्तो लाग्छ । मेरा बुबा आर्मीको कर्णेल हुनुहुन्थ्यो । काकाको छोरा पनि कर्णेल भयो । म पनि आर्मीमा गएको भए जर्नेल, कर्नेल वा प्रधानसेनापति हुन्थेँ होला । किनभने मेरो क्लासमेट ताराबहादुर थापा, प्याराजङ्ग थापा प्रधानसेनापतिसम्म भए ।

अर्काे कुरो राजनीतिमा आएको भए मन्त्रीसमेत हुन्थेँ कि । शेखर कोइराला मेरा जुनियर हुन् । कोइरालाहरूसँग सानैदेखि सङ्गत थियो । कलाकारिताबाहेक जुन फिल्डमा गएको भए पनि म उच्च तहमा पुग्थेँ । कलाकारिता रोजेकाले यता न उताको भएँ  । हाम्रो समय समयमा ३, ४ वर्षमा एउटा फिल्म बन्थ्यो । एकपछि अर्काे फिल्म कुर्दैमा समय बितेको पत्तै भएन ।  

छैन रोग

४ वर्षअगाडिसम्म मलाई प्रेसर थियो । त्यसको औषधि पनि खान्थेँ । त्यो समय एक पटक हृदयाघात भयो । जसका कारण गङ्गालाल अस्पताल भर्ना भएँ । त्यहाँ मुटुमा ९५ प्रतिशतसम्म ब्लकेज देखियो । डाक्टरले तुरुन्त स्टेन्ट राख्न सल्लाह दिएका थिए ।

डाक्टरले त्यसका लागि एक महिनाको समय पनि दिए । त्यो समय मैले मुटुको पूरै अध्ययन गरेँ । त्यसपछि डाक्टरले दिएको सबै औषधि छोडेर आफैँ आयुर्वेदको औषधि सुरु गरेँ ।

अहिले ४ वर्ष भयो । आफ्नै औषधिका कारण अहिले समस्या छैन । त्यो समय आफ्नो औषधि आफैँले गर्दा साथीभाइले यो पालग भयो, मर्छ भनेर गालीसमेत गर्थे । अहिले प्रशंसा गर्छन् ।

त्यो दुःख

आफूले चाहेको र गर्न खोजेको कुरो पूरा भएन भने दुःख र पूरा भयो भने सुख मिल्छ । त्यसैले मानिसले जतिसक्दो चाहना, इच्छा कम गर्नुपर्छ । आफूसँग जे छ, त्यसमा रमाउने मानिस जहिले पनि खुसी र सुखी हुन्छ ।

मापसे पहिले गर्थें

मापसे पहिले गर्थें, अहिले गर्दिनँ । पहिले पनि सधैँ र धेरै होइन । थोरै लिन्थेँ । यसको सौखिन कहिल्यै भइनँ । नेपालका धेरै कलाकार रक्सी खाएर बिग्रिएका छन् । मापसे भनेपछि प्राण फल्छन् । मेरो त्यस्तो बानी कहिल्यै भएन ।

गीतसङ्गीत सुन्छु

गीतसङ्गीत सुन्छु । नेपालीभन्दा पनि अङ्ग्रेजी सुन्छु । बढी सुन्ने भनेको सङ्गीतहरू हो । सङ्गीतमा म बिहान, बेलुका, देउँसो जुनै समय पनि रमाउन सक्छु ।

खराब बानी

मेरो खासै खराब बानी छ जस्तो लाग्दैन । केही साथीभाइले घमन्डी पनि भनेका छन् । म आफूलाई त्यस्तो लाग्दैन ।

राशि ‘मिथुन’

मेरो राशि मिथुन हो । ग्रहदशामा विश्वास लाग्छ । ज्योतिष हेराउँदा कहिलेकाहीँ पुगेको छ । नमिलेको अवस्था पनि धेरै छन् ।

ज्योतिषले ६२ वर्षमा खड्गो छ भनेका थिए, त्यो समय झन्डै मरेको । त्यसपछि ७३ मा गाह्रो छ भनेका थिए । यो समय हृदयाघात भयो । त्यो पनि जितेँ ।

फिल्म रिलिजको समय पनि धेरै पटक ज्योतिष हेराएको थिए, त्यो भने मिलेन ।

मृत्यु निश्चित छ

मृत्यु एक दिन सबैको निश्चित छ । मृत्यबाट टाढा कोही छैन । मृत्यु सबैले स्वीकार्नुपर्छ । मृत्यु कष्टपूर्ण नहोस्, सुखदाय होस् भन्ने मेरो चाहना छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप