बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

निबन्ध : बीउ छर्नेको कथा

शनिबार, १५ असोज २०७९, ०७ : ५६
शनिबार, १५ असोज २०७९

बच्चा पढाउने एक शिक्षक बन्नुको नाताले आफूले पढाएका सबै विद्यार्थीहरुले समान गतिमा प्रगति गर्न सकून् भन्ने कामना राख्नु स्वभाविक हो । सबै नानीहरू एकसे एक उत्तिकै राम्रा, असल र योग्य बनून् भन्ने चाहना राख्नु अन्यथा हुँदैहोइन । 

पढाउने शिक्षकको निम्ति आफ्ना शिष्यहरु सहोदर सन्तानतुल्य हुन्छन् । कसैले पनि आफ्नो सन्तानको कुभलो कदापि चिताउँदैन । फेरि आमाबाबुको नजरमा सबै सन्तान बराबरी छन् । कसैलाई तलमाथि गर्नुपर्छ भन्ने सोच किमार्थ उठ्दैन । 

तर, हामीले आशा कामना गरे जस्तो सबै नानीहरू सिकाइमा एउटै अनुपातमा अगाडि बढ्न सक्तारहेनछन् । सिकाइपछि प्राप्त हुने उपलब्धिमा हाम्रो चाहना विपरीतको स्थिति निर्माण हुँदोरहेछ । हाम्रो सोचाइको आदर्श र वास्तविक यथार्थबीच ठूलो खाडल देखा पर्दाेरहेछ ।

बगैँचा लाउने मालीले रोपे जति सबै फूल उत्तिकै राम्रोसित फुलून्, फक्रियून भन्ने आशा राखेको हुन्छ । सबै फूलले उत्तिकै राम्रोसित सुगन्ध सौन्दर्य छरोस् भन्ने कामना राखेको हुन्छ । तर, मालीको आदर्श चाहना विपरीत उही गतिमा सबै फूल फुल्न सकिराखेको हुँदैन । उत्तिकै सुगन्ध सौरभको बहार रच्न सकिराखेको हुन्नन् । 

उत्तिकै मल, माटो, पानी दिँदादिँदै पनि बोट जुन रुपमा झाँगिनु पर्ने हो, जुन रुपमा कोपिला हाल्नुपर्ने हो र जुन रुपमा फक्रिनु पर्ने त्यसमा आँच आइरहेको हुन्छ । कोही सुरुमै ठिङग्रिन्छन्, कुनै वीचमा रोगाउँछन् । कुनैलाई भने जति हावापानी माटाको मात्रा पुग्दैन, पुगे पनि कुनैलाई वढी हुन जान्छ । कुनैलाई कमी हुनजान्छ । कुनै विरुवालाई जन्तु जनावरले बीचमै चपाइदिन सक्छ । यसरी विभिन्न खालको प्रकोपसित जोगिँदै सीमित फूलहरु फुल्न सफल हुन्छन् ।

मालीको बगैँचाको जस्तो छ मेरो स्कूल । मालीको बगैँचामा फूलको जुन गति छ । त्यसै गतिमा नानीहरु कोही फुलिरहेछन्, कोही फक्रिरहेछन्, कति त असमयमै कक्रिरहेछन् । र, कति समस्याको भुमरीमा झोक्रिरहेछन् । 

हिसाब लाउँछु, यो साल अठ्ठाइस जनामा दस जना विद्यार्थीमात्र कक्षा बाह्र उत्तीर्ण गरी स्नातक तहमा भर्ना पाएछन् । सुरुमा तेत्तीस जनाले भर्ना लिएका थिए । त्यस मध्येकी एकजना केटी विवाह भएपछि पढ्न छोडिछिन्, अर्काे भाइ घरको दुःखले पासपोर्ट बनाएर अरबतिर लागेछ । एकजना भाइको बाउ मरेपछि घर संसार समाल्नुपर्ने व्यवहारिक झमेला आइलागेछ । अर्काे एक केटी प्रहरीमा भर्ना भएर तालिम गर्न हिँडिछन् । अर्काे एक विद्यार्थी यसखालको पढाइबाट जीवन नचल्ने देखेर ड्राइभरी सिक्न कालेबुङतिर गएछ । 

तेत्तीसमा पाँच विद्यार्थी यसरी घटेछन् । अहिले अन्तिम नतिजा हेर्दा पढ्नेहरुमा पनि दिलचित्त लगाएर पढ्ने सिर्फ दस जना निक्लिए । अरु त कुनैलाई जम्मै विषय, कुनैलाई चार विषय, कुनैलाई तीन विषय, कुनैलाई दुई विषय लागेर बिजोग बनेको स्थिति छ । 

बाह्रमा छोडिएका अठार जना कुनकुन नियतिको सिकार भएर कहाँ कहाँ थन्किनु पर्ला ? त्यो भविष्यकै गर्भभित्र कैद छ । लाग्छ रोजीरोटी, विवाह बन्धन र घर व्यवहारको रन्ठगोलमा उनीहरुले आफूलाई प्रवृत्त गराउँदै जालान् । 

स्नातक तह पुग्ने दस जनामा पनि कतिले सफलतापूर्वक त्यो तहको पढाइ पूरा गर्लान्, शङ्कै लागेर आउँछ । स्नातक तह सफलतापूर्वक पूरा गरी स्नातकोत्तर तहमा पुग्ने त बढीमा एक तिहाइको संख्यामा सीमित रहलान् । एसइइ पछिको अनुपात यसै किसिमको छ । जतिजति माथिल्लो तहमा विद्यार्थीहरु बढोत्तरी हुँदै जान्छन् । त्यति त्यति संख्या खिइँदै जान्छ । 

एसइइमा सम्मिलित संख्याको एक तिहाइको हाराहारीमा प्रमाण पत्रको तह उक्लिन सक्षम हुन्छन् ।  प्रमाणपत्र तहको एकतिहाइ मुस्किल वश स्नातक तहमा पुग्छन् । स्नातक तहका एक तिहाइ बडा कठिनले स्नातकोत्तरमा पाइला टेक्न पुग्छन् । 

यस अनुपातले असफल विद्यार्थीहरु बीचमै कोही काँडाघारीमा अल्झिछन् । कोही रुखो जमिनमा उम्रिएको विरुवा जस्तो बीचमै ओइलाउँछन् । कोही जनावरले मुन्टो निमोठेको विरुवा जस्तो अगाडि बढ्न भुल्दछन् । कोही चट्टानमा खसेको बीउ जस्तो टुसाउन पनि सक्दैनन् । धेरैलाई आफ्नै जीवनका झिनामसिना लुते धन्धाले अल्झो थापिरहेको हुन्छ । घर संसारका अनेकन समस्याका डोरीले उनीहरुका खुट्टा बाँधेको हुन्छ ।

सगरमाथा चढ्न निस्केको एक अरोही दलमा जम्मा बाह्र सदस्य छन् । त्यसमध्ये केही आधार शिविरसम्म पुगेर फर्किन बाध्य हुन्छन् । कोही त्यसभन्दा केही माथि पुगी लेक लागेर यात्रा स्थगित गर्छन् । कोही हिमकन्दरामा चिप्ली मर्छन् । कोही हावाहुरीको प्रतिकूलताले बीचमै आरोहण स्थगन गरी बाटैबाट घर फर्किन्छन् । 

बाँकी एकादुई यात्री मात्र शिखर पुग्दछन् । सायद प्रकृतिमा पनि यस्तै व्यवस्था छ क्यारे । जंगलमा थुप्रै जातका वनस्पति छन् । जसमध्ये फूल फुल्ने जातका वनस्पति थोरै नै छन् । जंगलका सबै वनस्पतिमा सुन्दर फूल लाग्दैन । मान्छेको हकमा पनि त्यही कुरा लागू हुन्छ कि क्या हो ?

यस सन्दर्भमा जिससले हालेको बीउ छर्नेको कथा याद आउँछ । कथामा छ एउटा बीउ छर्ने मानिस । ऊ एकदिन बीउ छर्न निस्क्यो । उसले छरेको बीउ केही बाटोमा परे र ती बीउलाई चराचुरुङ्गी आएर खाइदिए । केही बीउ ढुङ्गेनी जग्गामा परे । ढुङ्गामाथि धेरै माटो थिएन । त्यहाँ माटाको गहिरो तह थिएन । ती बीउ उम्रिन त  छिटै उम्रे । तर जब घाम लाग्न थाल्यो । ती उम्रेका विरुवा ओइलाउन थाले । जराले माटोभित्र गहिरो जान नसकेकोले चाँडै सुकेर गए । 

केही बीउ काँडाको बीचमा परे । काँडाहरूबीच उम्रिन न बडा कष्टले उम्रे । तर, ती विरुवा काँडाको चेपमा परे । जति फुक्काफाल भएर बढ्नुपथ्र्यो, बढ्न सकेनन् । उल्टो काँडाहरुको चेपमा निस्सासिएर ओइलाए । 

केही बीउ असल जमिनमा प¥यो । र, त्यही बीउले कुनैले सय, कुनैले साठी, कुनैले तीस गुणा फल दिए । जिससले अन्तिममा भने जसको कान छ, त्यसले सुनोस् । 

बीउ छर्नेको दृष्टान्त जीवनका अनेकौँ सन्दर्भमा लागु भैरहेको पाउँछु । हामीले जन्माएका अनेकौँ सन्तानहरुको प्रगति, अधोगतिमा पनि यही नियम लागु भैरहेको पाउँछु । आफूले पढाएका शिष्यहरुको जीवनमा पनि ठ्याक्क यही नियम मिलेको भेट्छु । 

कुनै अन्नको बीउ जस्तै हाम्रा सन्तति शिष्यहरु कोही बाटोमा गिर्न पुग्छन्, जसलाई चराचुरुङ्गीले टपटप टिपेर खाइदिन्छ । कुनै थोरै माटो भएको ढुङ्गेनी जग्गामा पर्छन्, र त उम्रेर पनि बीचमै मर्दछन्, बीचमै हराउँछन् । कुनै काँडाको सेपमा हुर्किन नपाएर, फुल्न नपाएर ढिङ्गुरिन्छन् । असल माटो भेटेर उम्रिनेको संख्या अत्यन्त सीमित हुन्छ । यस कथाका सांकेतिक अर्थ छन्– मान्छे समस्याको काडाँघारीबीच फस्यो भने आशातीत विकास गर्न सक्तैन ।

सयमा सय सन्तान अब्बल उत्कृष्ट होऊन्, सयमा सय शिष्य सफलताको सगरमाथा उक्लिन सकून् भने आदर्श कामना राख्नु एउटा कुरा हो । तर, यथार्थमा सबै बीउले असल मल माटो, पानीको संयोग नभेट्ता रहेछन् । येशुको यही आप्तवचनले मेरो असन्तोषलाई सान्त्वना दिइरहेछ ।

प्राचीन कालीन तिब्बतको एउटा कहानी कतै पढेको छु । हिमाली वनको शिखरमा एक आश्रम थियो । अर्काे आश्रम ल्हासामा थियो । अनकण्टार पहाडमा अवस्थित आश्रममा पुग्न निकै दिनको यात्रा गर्नुपथ्र्याे । अनेकन जोखिमहरु व्यहोरेर त्यहाँ पुग्न सकिन्थ्यो । 

एकचोटिको कुरा हो । त्यस आश्रमका गुरु वृद्ध भैसकेका थिए । उनको संसार छोड्ने दिन नजिक नजिक आइरहेको थियो । उनले एक शिष्यलाई भने, “अव मेरो अन्त्यको बखत आयो । धेरै दिन म अब यहाँ रहन्न । म वृद्धपनि भैसकेँ । रोगले पनि मलाई गलाउँदै लगेको छ । तिमी जाऊ ल्हासाको आश्रममा र त्यहाँका प्रधान गुरुलाई भन, पहाडी शिखरको आश्रममा गुरु बन्नको लागि एक भिक्षु पठाइदिनु अरे ।”  

वृद्ध गुरुको आज्ञा शिरोपर गरी ऊ ल्हासाको आश्रममा झरे । गुरुले पठाएको समाचार त्यहाँको प्रधान गुरुलाई सुनायो । उनले भने, “तिमी फिक्री न लेऊ । म हिमालयको आश्रमको लागि एक सय संन्यासी पठाइदिन्छु ।”

उताबाट आएको शिष्यले आपत्ति जनायो, “होइन होइन, सयजना होइन । आश्रमको उत्तराधिकारी समाल्न त एकजना मात्र सन्यास चाहिएको हो । सयजना पठाएर त समस्या हुन्छ । न सय जनालाई खानपिनको व्यवस्था गर्न सकिन्छ । न सुत्न, बस्न र लत्ताकपडाको प्रबन्ध गर्न सकिन्छ । विकट हिमाली वनमा रहेको आश्रममा त्यस्तो पर्याप्त भौतिक सुविधा छैन ।”

 गुरुले भने –“तिमी चिन्ता न लेऊ । सत्यको बाटोमा हिँड्ने हजाराैँ हुन्छन् तर मञ्जिल टेक्ने एकादुई मात्र हुन्छन् । यहाँबाट बाटो लाग्ने सय जना भएपनि शिखरमा पुग्ने आखिरमा एउटै व्यक्ति हुन्छ ।”
    गुरुको रहस्यदर्शी कुरा उसले बुझ्न सकेन । आखिर सय जना सन्यासी त्यहाँबाट हिमालयको आश्रमको लागि प्रस्थान गरे । केही हप्ताको पैदल मार्ग छिचोल्दै, थुप्रै गाउँ कुना नाघ्दै, विकट पत्थरिलो बाटो पार गर्दै त्यस आश्रममा पुगिन्थ्यो । 

उनीहरु हिँड्दै गए । अनेकौँ गाउँबस्ती छिचोल्दै गए । सय जना मध्येका धेरै सन्यासीहरुको घर तिनै गाउँमा थियो । उनीहरुले आफ्नो गाउँ आएपछि मन फेरे । धेरै दिन भयो घर नगएको, मातापितालाई भेट्न मन छ । एक झल्को मातापिताको दर्शन गरेर आउँछौ । हुनपनि हो, आफ्नो गाउँ आइपुगेपछि, आफ्नो घर नजिक आइपुगेपछि घर निस्किन सबैलाई मन हुन्छ ।

उनीहरुलाई घर जान अनुमति मिल्यो । एक हप्ताको यात्रामा सय जनामा दश जना सन्यासी मात्र बाँकी रहे । त्यसपछि एउटा सानो सहर आयो । सहरमा रहेको आश्रमका गुरु मरेर आश्रम रित्तो भएको रहेछ । त्यहाँका मानिसहरुले एक जना सन्यासी त्यहीँको आश्रमको लागि छोडिदिन आग्रह गरे । दशजना मध्येबाट एक जना त्यहीँ छाडियो । टोली अर्काे ठाउँमा पुग्यो, त्यहाँ राजाको छोराको बिहे रहेछ । त्यस बिहेमा पुरेत्याइँ गर्न तीन जना भिक्षुको आवश्यकता रहेछ । तीनजनालाई त्यहीँ छोडिदिन अनुरोध भयो । तीन जना त्यहीँ खपत भए ।

बाँकी यात्रीहरु पहाडी वनकन्दरा हुँदै अगाडि बढिरहे । बाटोमा एकजना जवान युवतीसित भेट भयो । उनले एकजना सन्यासी त्यहीँ छोडिदिन पुकारा गरिन् । ती युवतीको वडो कारुणिक अवस्था थियो । उनी एक सिकारीकी एक्ली छोरी रहिछिन् । आमाको मृत्यु भैसकेको थियो । बाबु सिकार खेल्न गएका घर फर्केका थिएनन् । उनलाई गतिलो सहाराको खाँचो थियो । उनी सुन्दरी थिइन् । जवान थिइन् । बाँकी रहेका सन्यासी मुखामुख गर्न थाले । सबैको भित्री मनमा युवतीसित रहन पाए हुन्थ्यो भन्ने थियो । सबैले म बस्छु, म बस्छु भनेर आफ्नो उत्कट अभिलाषा प्रकट गर्न थाले । त्यहाँ पनि को रहने ? भन्ने विषयमा विवाद आयो । समस्या आयो । 

अन्तिममा युवतीलाई इच्छुक मध्येबाट एकजना रोज्न लगाइयो । युवतीले उमेरमा सबभन्दा जवान ठिटोलाई रोजिन् । एवं रीतले ल्हासाबाट हिँडेका सयजना यात्री घट्दै घट्तै एकजना मात्र बाँकी रह्यो ।

त्यसमा पनि माथि पुग्नपुग्न लागेको बखतमा एउटा झ्याउलो आइलाग्यो । एकजना नास्तिकले बाटो छेकेर सन्यासीलाई चुनौती दियो, उसले विचारको वहस गर्न निमन्त्रणा दियो । सन्यासीपनि तर्क र बहसमा निष्णात् थियो । उसले लल्कारेपछि त्यहीँ जमेर बहस गर्ने मनसुवा देखायो । सार्वजनिक वहसमा भाग लिन त्यहीँ बस्यो र साथीलाई भन्यो–“मित्र ! जितेँ भने माथि आश्रममा आउँछु । हारे भने यिनकै शिष्य भएर यहीँ बस्छु । तपाईं जानुस् ।” 

उ एक्लै बाटो लाग्यो । ल्हासाबाट हिँडेका सयजना सन्यासीबीच बाटोमै तितरवितर भए । लिन जाने मान्छेमात्र एक्लै लुरुलुरु फर्कियो । उसलाई डर थियो । गुरु वृद्धावस्थाको सीमान्त घडीमा थिए । त्यसमाथि पनि विरामी परेका थिए । कतै गुरुले देहत्यागको गरी सके कि उसलाई संशय थियो । हतार गरेर ऊ आश्रममा पुग्यो । बूढा आखिरी घडीमा उसकै प्रतिक्षामा थिए । उही शिष्य एक्लै आफूसामु आइपुगेकोमा उसलाई आश्रमको उत्तराधिकारी बनाएर उनले शरीर छोडे । 

सत्यको मार्गमा हिँड्ने, कदम उठाउने सयौँ हजारौँको संख्या भएपनि शिखर टेक्ने एकादुई मात्र हुन्छन् । सत्यको मार्गमा हिँड्न अखण्ड धैर्यको खाँचो पर्छ । असीम संकल्पको आवश्यकता पर्छ । सत्यको मार्गमा टिक्न दृढ ईच्छाशक्ति चाहिन्छ । अरु सरदर मान्छे त बाटैमा गल्छन्, यात्रा विसाउँछन् र जीवनको सजिलो बाटो रोजेर मूल बाटोबाट किनारा लाग्छन् ।

 जीवनको बाटो सजिलो छैन । सपाट छैन, सरल छैन, सरस छैन, सहज छैन । जीवनको बाटो कठिन छ । अनगिन्ति मोडहरु छन् । घुम्तीहरु छन्, जँघारहरु छन् । जो अप्ठ्यारो अक्करबाट गुज्रिन्छ । काँढामय झोरजंगलबाट अगाडि बढ्छ । पलपलका चुनौती जसले मुकाविला गर्ने आँट राख्छ, त्यसले सफलताको शिखर चुम्दछ । जो रोज रोज रणशार्दूल बनेर कठिनाइ उपर झम्टा मार्छ, त्यो जीवनपथमा विजयी बन्दछ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप