साहित्य

कथा : कुलाईनको बोको

person explore access_timeअसोज १५, २०७९ chat_bubble_outline0

लाईन होकि कुलाईन हो, मलाई थाहा छैन । हाम्रोतिर मंसिरको धान्य पूर्णिमाको दिन गाउँ भरिका दाजुभाई मिलेर कुल देवताको पूजा गर्छन् । यही पूजालाई कुलाईन पूजा भनिन्छ । 


म पाँच बर्षको हुँदा मंसीरको एउटा धान्य पूर्णिमामा बाले कुलाईन थानमा बोको पूजा गर्नु भएन । त्यतिबेला बाले बोको पूजा नगर्दा मैले भोगेको मेरो अबोध बालपीडा अहिलेसम्म ताजै छ । 



मैले सम्झिरहेको छु । खेतमा धान पहेँलो हुँदै थियो । धर्ती रमाउँदै थिइन् । हामी केटाकेटीहरू दसैँको रमाईलो गर्ने तयारीमा थियौँ । दसैँअघि परेको सिमसिम पानीले चौरमा हिलो भयो । खेल्न जान सकिएन । हाम्रो दलानमा साथीहरु जम्मा भएर एकखुट्टे खेल्न थाल्यौँ । 



बिस्तारै हाम्रो घरमा छिमेकीहरू आउन थाले । किन आए हामीले वास्ता नगरी खेली रह्यौँ । घर भित्रबाट मान्छेहरु कल्ङमल्याङ गरेको आवाज आउँदै थियो । पुरेतहरू किताब पढ्दै थिए । आज पूजा रहेछ, सेलराटी खान पाइने भो जस्तो लाग्दै थियो । हामी खेलमा रमाउँदै थियौँ । आमाले भित्रबाट, ए बाबु भातखान छिटो आइज भन्नु भयो । 

म भित्र गएँ । भान्सामा आमा रुँदै भात पस्कन लाग्नु भाथ्यो । घरका सबैजनाले हतार हतारमा भात खायौँ । आमा किन रोएको मैले कुरा बुझिन । 

एकछिनपछि ओछयानमा सुतेकी हजुरआमालाई बाहरुले तुलसीको मोठ नजिकै आँगनमा लगेर सुताउनु भयो । हजुर आमाले हात गोडा तनक्क तन्काउनुभयो । सबैले रामराम, नारायण नारायण भने । घरमा रुवाबासी चल्यो । म पर बसेर हेरिरहेको थिएँ । 

केही बेरमै उहाँ सुतेकै ठाउँमा सेतो कपडाले बेरियो । गाउँलेहरु आए । शंख बजाउँदै बोकेर लगे । बा पनि उनीहरु सँगसँगै जानुभयो । आमा र म भने घरैमा रोएर बस्यौँ । आमा गाउँका अरु महिलाहरु पनि वरपर बसेर रुँदै थिए ।

हजुरआमालाई लिएर गएका मान्छेहरु साँझ फर्केर आए । तर हजुरआमालाई ल्याएनन् । बरु बा सेतो कपडा लगाएर हामीले छुन नहुने भएर आउनु भएछ । 

यसपछि गाउँमा थुप्रै चाडपर्व आए । अरुले रमाएर चाड माने । तर त्यो रमाइलो हाम्रो घरमा आएन । दसैंमा मासु भात खान र टीका जमरा हल्लाउँदै मामाघर जान नपाउँदा मलाई खपिनसक्नु भयो । झगडा गरेर धेरै पटक रोएँ । तै पनि मेरो केही लागेन । 

दसैँ​पछि तिहार आयो । सबैका घरघरमा सेलरोटी पाक्यो । हाम्रो घरमा आमाले ताइसमेत बसाउनु भएन । म रोइकराइ गरेपछि छिमेकीले दिएका एक हत्केला सेल रोटीको भरमा तिहार सकियो । न घरमा सेलरोटी पाक्यो, न झिलीमिली बत्ती बल्यो । न देउँसे र भैलो नाच्न कोही आए । सारै नरमाइलोसित मैले त्यो दसैं, तिहार बिताएँ । 

हुँदाहुँदै कुलाईन थानमा बोका पूजा गर्ने दिन आएछ । छिमेकीहरु सबैले घरमा बोका किनेर ल्याए । हाम्रो घरमा चै बोका छैन । मैले आमालाइ सोधे आमा कुलाईन पूजालाई बोका ल्याउने हैन ?

मेरोकुराले आमा एकछिन टोलाउनु भयो । अनि बिस्तारै खुइए गरेर भन्नुभयो, मैले अस्तिनै तँलाई भनेको हैन बाबु ? घरमा हजुरआमाको जुठो छ । जुठोमा पूजाआजा गर्नुहुन्न । टीका टालो गर्नुहुन्न । माछामासु खान हुन्न, भनेर । कति अबुझ भाको छोरा तँ ?पूजा नहुने भएपछि किन ल्याउनु त्यो बोको ?पूजा गर्न हुनेले बोको ल्याए । हामी पनि अर्को साल ल्याउँला । जा खेल्न, कचकच नगर । 

आमाको कुरा नसकिदै फेरि मैले सोधे, कुलाइनको पूजा बोकाले गर्छ हो आमा ?
आमा रिसाउँदै, यो केटाले मलाई हैरान पार्यो । नकरा जा उता भन्नुभयो । 

म अटेरी हुँदै छेउमा उभिएर टोलाए । एकछिन पछि मेरो पाखुरामा समातेर आमाले काखमा राख्नुभयो । र,भन्नु भयो, हेर बाबु, हरेक दुई वर्षमा हाम्रो कुलाइन पूजा हुन्छ । सक्नेले सिङ्गै बोका देउतालाई दिन्छन् । नसक्नेले पैसा दिएर अरुको बोकामा रगत मिसाउने हो । यसपाली हाम्रो पूजा चल्दैन के गरौ त ?

‘मलाई बोको चराउने रहर लाग्यो आमा,’ मैले भने ।

सुन, अझ छोरा जन्मिएको र छोराको बिहे गरेको भाग हर्षबढाइँ भनेर छुट्टा छुट्टै बोको कुलाइनलाई दिनुपर्छ । खै यहाँकाले के गरेका हुन्, म जान्दिन । तेरा बाउबाजेको चलन यस्तै छ । हाम्रो माइतमा यो चलन छैन । छोरा जन्मेपनि बिहेगरेपनि एउटा काँचो नरिवल चढायो भैहाल्छ । 

यति भनेर मलाई काखबाट निकालेर भैमा राख्दै उठेर उहाँ आँगन बडार्न लाग्नुभयो ।

उहाँको पछि लाग्दै मैले आमालाई फेरी सोधें,  आमा यसपाली हाम्रो भाइ जन्मिएको हैन ? काटौन त एउटा बोको ?

आमाले झर्किँदै भन्नु भयो, फेरि उही कुरा गर्छ यो त, यो वर्ष हुन्न भनेको हैन ? आगौँ द्यालीछैन । परागौँको द्यालीमा जुठोसुतक परेन भने बोका पूजा गरौंला । त्यतिबेला हर्षबडाइ समेत दुईटा गरौंला । अहिले मलाई धेरै कचकच नगर । जा बरु चौरतिर खेल्न ।  

मन अमिलो पार्दै, आमाको आज्ञा पुरा गर्न, म चौरतिर खेल्न गएँ । 

केही दिनपछि कुलाइनका डाङग्रेको घरमा बेलुका मान्छेहरु जम्मा भएछन् । डाङ्ग्रेले ‘हेर, बाबुहेर’ गर्दै कुलाईन बोलाएछन् । धेरैमान्छे जम्मा भएको ठाउँमा रमाइलो भएछ । आफू त भात खाएर चाँडै सुतें । भोलिपल्ट साथीहरुले भनेपछि मात्र थाहा पाएँ । 

बिहान उठेर हामी तीनचार जना साथी खेल्दै थियौँ । डाङ्ग्रे बाको घरमा गाउँलेहरु जम्मा हुन थाले । हामी पनि खेल्न छोडेर रमाईलो हेर्न त्यतै गयौँ । 

कुलाईनको पूजाका लागि ल्याएको पीठो, चामल, घ्यु,पैसा र पूजाको सबै सामान एकैठाउँमा जम्मागरे । हामीले पर्खालमा बसेर हेरिरह्यौँ । हेर्दाहेर्दै आँगनमा धेरै मान्छे जम्मा भए । पूजाको सबै सामान बोकेर हिँड्न तयार देखिए । 

सेतो धोती बाँधेका डाङग्रेहरुले देउता राखेको डोली बोके । डोली सँगसँगै कलश र चम्मर बोकेका आइमाई थिए । बुढापाकाहरु शंख र घण्ट बजाउन थाले । हुँदाहुँदै डोलीअघि लगाएर अरु सबै पछि लागे । मेरा साथीहरु पनि रमाउँदै उतै गए । अरु मान्छे आआफ्ना बोका डोर्याएर मन्दिरतिर जाँदै थिए । म पनि खुसी हुँदै उनीहरु सँगसँगै दौडिए । 

म पछिपछि दौडिदै गएको बाले आँगनबाट देख्नु भएछ । 
‘ए बाबु तँ काँजान लाग्या ? घर आइजो ?’ भनेर हकार्नु भयो । 

म अँध्यारो मुख लगाउँदै घर फर्किएँ । आँगनको डिलमा उभिएर उनीहरु गएको देखिदासम्म हेरिरहे । कुलदेउताको मन्दिर जाने मेरो इच्छा पुरा भएन । म टोलाएको देखेर होला आमाले घरभित्र बोलाउनु भयो । म दौडिँदै गएँ ।

आमाले सम्झाउँदै भन्नु भयो, आज तिमी छिमेकीहरू कसैको घर जानुहुन्न । कुलाईन पूजाको प्रसाद पनि तिमीले खानुहुन्न । है बाबु । कतै नगएर घरैमा बस ।

मैले ‘हस् आमा, म कतै जान्न’ भने । आमाको आज्ञाकारी हुँदै आँगनमा एक्लै एकखुट्टे खेल्न थालेँ । बाआमा बारीमा जानुभयो । भाइ कोक्रोमा थियो । म खेल्दै थिएँ । बिहान कुलाईनथान गएको लस्कर शंखघण्ट बजाउँदै बलिदिएका बोका काठको नोलमा बोकेर रमाईलो गर्दै फर्किए । 

उनीहरु आएको रमाइलो हेर्दाहेर्दै आमाले बिहान भनेको कुरा सम्झिए । त्यता गइनँ । खेल्दा खेल्दै त्यो कुरा भुलेछ । एकछिन पछि खेल्ने साथी खोज्न पल्लो घरमा गएँ । म उसको आँगनमा पुग्दा उ काकासँग बोकाको टाउको पोल्दै रहेछ । त्यो देखेर आमाले बिहान भनेको कुरा झल्याँस्स सम्झिएँ । म फर्किन खोज्दै थिएँ । उसले देख्यो ।

‘ए तँ काँ जान लाग्या ? आइज एकछिन बसौँ, अनि खेल्न जाउँला भन्यो । मैले नाइँ भन्न सकिन । उसकै छेउमा गएर टुसुक्क बसेँ । 

आगोमा बोकाको टाउको पोलेको पहिलो पटक देखेँ । एकछिनपछि काकाले साथीलाई बाल्टीको पानी हाल्न लगाए र टाउको राम्ररी धोए । टाउको लिएर उनी घर भित्र गए । हामी पनि उनकै पछि लाग्यौँ । घरभित्र मझेरीमा प्लास्टिक ओछ्याएर अरु मान्छे बोकाको मासु काट्दै रहेछन् । त्यो हेर्दै डरलाग्दो दृष्य थियो ।

साथीले मलाई इसारा गर्यो । हामी ढोका सँगैको जाँतोमाथि बस्यौँ । खुकुरी हातमा भएका मान्छेलाई काकाले बोकाको टाउको समाउन दिए । उसले टाउकोबाट दुइटै कान निकालेर पटापट काट्यो । टुक्रा पारेको मासु वरपर हुनेलाई हातहातमा दियो । सबैजना खान थाले । मैले पनि हात थापे । मलाई दिएनन् । अरुले खाएको देखेर मेरो मुखमा थुक रसायो । 

मलाई देखाउँदै ‘काका यसलाई पनि दिनोस् न,’ साथीले भन्यो । 
घरमा जुठो परेकालाई काँ मासु दिनु भन्छ यो ? त्यसमाथि कुलाइन पूजाको प्रसाद, जुठो परेकालाई दिनुहुन्छ ? बडा जान्ने भएर मलाई सिकाउँछ । 

बुढाले हपारे । मेरो साथी चुप भयो । 
मैले सहन सकिन । रुँदै रुँदै घरतिर दौडिए । घरमा आमा एक्लै हुनुहुँदो रहेछ । आमालाई समातेर म झन बेसरी रुन थालेँ । 

लौ, किन रोएको ? फेरि के भयो यसलाई  ? आमाले सोध्नुभयो । 
रुँदा रुँदै पल्लो घरमा भर्खर भएको घटना जस्ताको तस्तै सुनाएँ । 


‘मैले आज गाउँमा नजा बाबु भन्दाभन्दै किन गाको त ? त्यो कुलाईनको प्रसाद हामीले छुन पनि हुन्न । खान पनि हुन्न भन्या हैन ?’ आमाले हकार्नु भयो ।

आमाको कुरा मैले मानिन । झगडा गर्दै हामी पनि आजै बोका काट्ने । अनि टाउको पोलेर, कानखाने । कुलाइन थान जाऊँ भन्दै हातखुट्टा फ्याँकेर भैमा लडिबुडी गर्न थालेँ । 

मेरो जिद्दीदेखेर आमा पनि भुत भुताउँदै रुन थाल्नु भयो । हामी आमाछोराको रुवाबासी चलेकै बेलामा बा घरमा टुप्लुक्क आउनुभो । 
के भयो यसलाई  ? अनि तँ चै किन रो की नि? भन्दै आमासँग झोक्किनुभयो ।


आमाले पनि मैले भनेको कुरा सुनाउँदै यसले बोका काट्न कुलाईनथान जाउँ भनेर हैरान पार्यो म के गरौ त ? भन्नुभयो । 
त्यसपछि बाले मलाइ फकाउँदै उठाएर बाख्रा बाँध्ने गोठमा लैजानुभयो । 

माउ बाख्रो देखाउँदै, हेर बाबु, यो बाख्री ब्याउने छ । यसले बोको पाउँछ । अनि त्योबोको तलाइँ डोर्याउन लगाएर कुलाइनथान लैजाउँला । पूजा गरेर ल्याउँला अनि हामी मात्र खाउँला । आज ती पापीले मासु नदिएर के भो त ? हामी पनि तिनीहरुलाई नदिउँला नि, पीर नमान । नरोअब भन्नुभो । 
मैले ज्ञानी हुँदै ‘हस्’ भने । 

बाले घरमा आएर आमालाई भने, हेरबुडी, अब जन्मने बोको दिवालीमा कान्छो छोराको हर्षबडाइ दिनुपर्छ । छोरो पनि त्यसैमा खुसी भएको छ । जन्मेपछि पानी चढाउँला ।
म एकैछिनमा पल्ला घरको घटना बिर्सिएर आँगनमा खेल्नथाले ।

त्यो माउ बाख्रो ब्याउँदा बाले भनेझैं एउटा पाठो, एउटा पाठी पायो । बोको जन्मिएको एक महिनापछि मैले यो बोको कुलाइनपूजा गरौं न बा भनेँ । 
बाले कुरा बुझाउँदै भने, पूजा आएको छैन । आएपछि गरौला बाबु । 

बाले कुलाइनको नाममा पानी हातमा लिएर बोकाको टाउको र जिउमा छरिदिनुभयो । किन हो, बोकोले जिउ हल्लायो । यस दिनबाट कान्छोभाइ जन्मिएको हर्षबढाइ बापत त्यो बोको कुलाईनको भयो ।  
मलाई बोको जति छिटो ठुलो हुन्छ, त्यति छिटो कुलाइनथान लगेर पूजा गर्न पाईन्छ भन्ने मनमा थियो । 

बा आमाको आँखा छलेर म बोकालाई चामल, गहुँ, मकै, चना ख्वाउन थाले । कुलाइन पूजा आज आउला भोलि आउला भन्दाभन्दै धेरै समय बित्यो । म स्कुल जानथालेँ तर पूजा आएन । बरु हजुरआमाको बरखी चै आयो । बरखीपछि बाले सेतो लुगा लगाउन छोड्नुभयो । 

हजुरआमाको बरखी सक्दा कुलाइनको बोको पनि झण्डै म जत्रो भाथ्यो । ठुला ठुला सिङ, लामो दारी र फराकिला कान हेर्दै डरलाग्ने थियो । उमेर छिप्पिएको हुँदा कुलाइनको बोको गाउँभरिका बाख्रीका लागि बीउको बोको भाथ्यो । म सधैँ स्कुलबाट आएर उसलाई एकघोगो मकै दिन्थे । 

बल्ल एकदिन आमाले भन्नुभयो, बाबु अब हाम्रो कुलाइनको पूजा आयो । पूजाको दिन बिहान तँ पनि  केही नखाई मन्दिर जा है ? पूजा गर्नुपर्छ । 
म खुसीले फुरुङ्ग भएँ । हतारिदै हुन्छ आमा भने । पूजा आएको कुरा आमाले भनेपछि मेरो मनमा अनेकौं कल्पना सिर्जिन थाले ।

कुलाइनपूजाको अघिल्लो दिन शुक्रबार परेछ । स्कुलमा नाचगानको कार्यक्रम थियो । अरु नाचगानमा झुम्मिए, म लुसुक्क घर आएँ । पहिला कुलाइनको झ्याँप्ले बोकोलाई मकै छोडाएर दिएँ । उ रमाएर खान थाल्यो । म फलैचामा बसेर खाजा खान थालेँ । बा आमा आँगनमा काम गर्दै हुनुहुन्थ्यो । 

सिरानघरे कुइकेलनी जेठी, ‘यसले बोको खोजेछ । लगाइदिनु परो’ भन्दै, ठुलो मदिसे बाख्री लिएर आँगनमा टुप्लुक्क आइन् । 
म रिसले भन भनिएँ र भने, भोलि हाम्रो कुलाइन पूजा हो । यो बोको पूजा गर्नुपर्छ । अन्तै लैजानुस् । हाम्रो बोको हुँदैन ।  
मेरो कुरा नसकिदै बाले ‘नकरा बाबु, केही हुन्न । गएर बोको फुकाइ दे ? आइसकेपछि किन फर्काउनु’ भन्नुभयो । 
म अटेर गरेर नबोली बसेको थिएँ । 

बा आफै गएर बोको फुकाइ दिनुभयो । ल लगाएर लैजानुस् भन्नुभयो । म हेरेको हेर्यै भएँ ।

बोको आएर फ्याँफ्याँ र वावा वावा गर्दै बाख्रीको वरपर घुम्न थाल्यो । म हाम्रो बोको नदिउँ भन्या भन्दै थिएँ । बाख्रोले कुइकेलनीलाई लछारेर भाग्यो । बाले दौडदै गएर बाख्रो समाएर ल्याउनुभयो । तिनले भैसी बाँध्ने किलामा बाख्रो बाँधेर म बसेको फलैचामा बस्न आइन् । उनी नजिकै आएको मलाई पटक्कै मनपरेको थिएन । 

तिनको बाख्री हाम्रो कुलाइनको बोकोसँग उफ्रीउफ्री जुध्न थाल्यो । तिम्रो बाख्री समाउन जाउ, हाम्रो बोकोलाई हान्यो । भनेर म तिनीसँग रिसाएँ । तर तिनी बोलिनन् ।

हेर्दाहेर्दै हाम्रो बोकाको सिङमा कुईकेलनीको बाख्रीको सिङ अड्कियो । फुत्काउन दुबैले बल गर्न थाले । म झन कराएँ । कुइकेलनी र हाम्रा बा दौडिएर छुटाउन जानुभयो । उहाँहरु नपुग्दै हाम्रो कुलाइनको बोकाको सिङ फुक्लेर भैमा खस्यो । ए ए ए भन्दाभन्दै बोको रक्तमुछेल भयो । 

बाआमा एकैचोटि लौन नि अब बित्यास पर्यो भन्दै कराउनु भयो । 
म भने बोकाको रगत बगेको देखेर रुँदै कराउँदै कुइकेलनीको बाख्रोलाई लौराले कुट्न थालेँ । बाले हतारहतार भैमा खसेको बोकाको सिङ टिपेर फेरि घुसारिदिनु भयो । आमाले खानेतेलमा मकै भुट्ने हाडीको कालो घोलेर वरपर दलिदिनुभयो । 

भर्खरै जोड्देको सिङ फेरि भैमा झर्ला भनेर बाले अर्को सिङसँग बलियो गरी कपडाले कसिदिनु भयो । बल्ल बोकाको सिङबाट रगतबग्न छोड्यो । 

हामी सबै आफ्नै धुनमा भयौँ । ती कुइकेलनी कतिखेर हिँडिछन् हामीले पत्तै पाएनौ ।
बाआमा घरभित्र गएर पिरोलिर्दै गुनगुनाउनु थाल्नु भयो । म आँगनमा खेल्न थालेँ । 

आज ठुलो दशा रछ, भन्दै बा गाउँतिर जानुभयो । किन त्यसो भन्नुभयो । मैले कुरा बुझिन । 

बा बेलुका अबेर फर्किदा एउटा लिखुरे बोको लिएर आउनु भएछ । घरमा बोको हुँदाहुँदै किन अर्को ल्याकोहोला भन्ने कौतुहलता भयो । दुईवटा बोका चाइने रैछ भन्ने मलाई लाग्यो । 

भात खाएर बा र म कुलाइनका डाङ्ग्रेको घरमा गयौ । सबै दाजुभाई जम्मा भैसकेका रहेछन् । हामी पुगेपछि अभिषेक भयो । डाँग्रे हेरबाबुहेर भन्दै काम्नथाले । धामी कामेको देख्दा मलाई डर लाग्यो । बालाई समाएर बसेँ । 

कामी रहेका धामीलाई बाले सोध्नुभयो, लौ परमेश्वर तिम्रो नाममा पानी हालेको मेरो कुलाईनको बोकाले आज सिङफुकाल्यो । त्यो बोको पूजा गर्नु हुन्छ कि हुँदैन ? भनिदिनु पर्यो परमेश्‍वर ?
धामीले काम्दै सुन भाई बिन्द्राला हो सिङ फुक्लेको बोको मलाई चल्दैन । बिटुलो हुन्छ । अर्को पूजा गर्नु । भनिदिए । 
‘हुन्छ प्रभु’ बाले भन्नुभयो । 

यता म भने घरकै बोको पूजा गर्ने भनेर रुन थाले । बाले मलाई गाली गर्दै देउता रिसाउँछन् भन्नुभयो । म देउताको डरले चुप भएँ । 
हामी सुत्न जाँदा अबेर भैसकेको थियो ।

बिहान उठेपछि गाउँका सबैजना डाँङग्रेको घरमा जम्मा भए । बा र म पनि पूजाको सामान लिएर गयौँ । सबैका पूजा सामान एकैठाउँमा जम्मा गरियो । अब पूजाको सामान र देउताको डोली सँगै बोको लिएर हिँड्ने बेला भयो । 

अरुले पूजाका लालि बोका लिएर त्यही आए । म पनि खुसी हुँदै कुलाईनको बोको लिन घरमा गएँ । म पुग्दा बाले हिजो ल्याएको लिखुरे बोको लिएर गोठबाट निस्कँदै हुनुहुँदो रहेछ ।
मैले तपाईं यो बोको लानोस् बा, म हाम्रो कुलाईनको बोको लिएर आउँछु भन्दै ढोकाभित्र गएँ । 

बाले सिङफुक्लेको बोको पूजागर्नु हुन्न भन्या हैन हिजो देउताले ? लौ खुरुक्क मसँग हिँड ठुलो बोको पूजा चल्दैन । किन लानु पर्यो ? भन्नुभयो । 

म रुँदै रुँदै गोठबाट बाहिरिए । बा बोको लिएर जानुभयो ।

अघिल्लो वर्षको पूजामा जस्तै यो वर्षको पूजामा पनि मैले आफ्नो कुलाइनको बोको लिएर मन्दिर जान पाइनँ । मनमा ठुलो चोट पर्यो ।

रुँदै रुँदै आँगनमा उभिएर गाउँका मान्छेहरु कुलाईनथान गएको हेरिरहे । सबैजना मन्दिर गएपछि म गोठभित्र गएँ । त्यही सिङफुक्लेको मेरो प्यारो कुलाइनको बोकाको फुक्लिएर जोडिदिएको सिङ हेर्दै रोएर बसेँ । मलाई आफ्नो कुलाईनको बोको बिनाको कुलाईनपूजा जरुरी लागेन ।


 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।