शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दसैँ बिदामा घुमघाम : यी हुन् लुम्बिनी प्रदेशका मुख्य पर्यटकीय गन्तव्य

शनिबार, १५ असोज २०७९, ०६ : ३२
शनिबार, १५ असोज २०७९

 के तपाई दसैँ बिदाको सदुपयोग गर्दै कतै घुम्न जाने योजनामा हुनुहुन्छ ? त्यसो हो भने लुम्बिनी प्रदेशमा केही यस्ता रमणीय र पर्यटकीय स्थल छन्, जो तपाईको बिदा सदुपयोग गर्ने उचित गन्तव्य हुन सक्छन् ।

लुम्बिनी
लुम्बिनी विश्वकै धार्मिक पर्यटनको एउटा गन्तव्य हो । शान्तिका अग्रदुत भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी रुपन्देही जिल्लामा पर्दछ । इशापूर्व ५६३ वैशाख पूर्णिमामा आमा मायादेवीको कोखबाट लुम्बिनीमा सिद्धार्थ गौतमबुद्धको जन्म भएको थियो ।

मायादेवी आफ्नो घर कपिलबस्तुबाट माइती देवदह जाँदैगर्दा बाटोमै (लुम्बिनीमा) गौतमबुद्धको जन्म भएको थियो । लुम्बिनीमा मायादेवी मन्दिर मुख्य आकर्षणकोे केन्द्र बनेको छ । धार्मिक पर्यटनको दृष्टिले नेपालकै प्रमुख पर्यटकीय गन्तव्य रहेको लुम्बिनीको नामले यस प्रदेशको पनि नामकरण गरिएको छ ।

दैनिक सयौं आन्तरिक तथा बाह्य पर्यटकले भ्रमण गर्ने लुम्बिनी परिसरमा दर्जनौं घुम्नलायक बौद्ध गुम्बा तथा मन्दिर, तालतलैया तथा नहरमा बोटिङको व्यवस्था पनि गरिएको छ । यहाँ निरन्तर लुम्बिनी दीपको प्रज्ज्वलन गरिन्छ ।

रुपन्देहीको भैरहवा सहरदेखि २१ किलोमिटरको दुरीमा रहेको लुम्बिनी पुग्न जुनसूकै समय सवारी साधन पनि उपलब्ध छन् । भैरहवाको छेउमै हालै निर्माण सपन्न भएर सञ्चालनमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि लुम्बिनी घुम्ने पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ ।

लुम्बिनीमा पर्यटकहरुलाई सुविधाका लागि सुविधा सम्पन्न होटल पनि खुलेका छन् । यहाँ तारे होटेलदेखि स–साना होटल तथा रेष्टुराँहरु सञ्चालनमा छन् । लुम्बिनी विकास कोषले भौतिक संरचनाहरु पनि थपिरहेकाले कतिपय संरचना निर्माणाधीन अवस्थामा छन् । लुम्बिनीसँग बुद्धको मावली रुपन्देहीको देवदहस्थित भवानीपुरलाई पनि जोडेर पर्यटकहरु भ्रमण गर्ने गर्दछन् ।

यसैगरी गौतमबुद्धको पवित्र अस्तिधातु रहेको पश्चिम नवलपरासीको रामग्रामलाई पनि लुम्बिनीसँग जोडर विकास गरिँदै छ । पश्चिम नवलपरासीको सदरमुकाम परासी रामग्राम नगरपालिकाको बजारमा रहेको रामग्राममा बुद्धका विविध आयामबारे खोज अनुसन्धान भइरहेको छ । रामग्राम स्तुपाको नामबाट रामग्राम नगरपालिकाको नामकरण गरिएको हो ।

बुद्धसँग सम्बन्धित अध्ययनका लागि पनि परासीमा पर्यटकको आगमन हुुने गरेको छ । निकै शान्ति र हराभरा रामग्राम पनि धार्मिक पर्यटनको केन्द्र बनेको छ ।

तिलौराकोट

तिलौराकोट कपिलबस्तु जिल्लामा पर्दछ । भगवान गौतमबुद्धले तिलौराकोटमा २९ वर्ष बिताएका थिए । गौतमबुद्धका बुबा सुद्धोधन बस्ने यो तिलौराकोट कपिलबस्तुको सदरमुकाम तौलिहवादेखि तीन किलोमिटर उत्तरमा वाणगंगा खोलाको किनारमा पर्छ ।

तिलोराकोट शिवगढ गाउँसँग जोडिएको छ । यहाँ तीनवटा भग्नावशेष छन् । यहाँ दरबारको भग्नावशेष र पूर्वी पश्चिमी द्वार छन् । तिलौराकोटलाई सरकारले संरक्षित स्मारक क्षेत्र घोषणा गरेको छ ।

गौतमबुद्धबारे चासो राखेर अध्ययन गर्न धेरै पर्यटकहरु यहाँ पुग्ने गरेका छन् । भग्नावशेष जीर्ण बन्दै गए पनि निकै शान्त र सुन्दर लाग्ने यो स्थल पर्यटकको रोजाईमा पर्ने गरेको छ ।

रानीमहल

नेपालको ताजमहल भनेर चिनिने पाल्पाको रानीमहल एक प्रसिद्ध पर्यटकीय स्थल हो । विक्रम सम्वत् १९५० देखि १९५४ सम्म चार वर्ष लगाएर बनाइएको कलात्मक रानीमहल दरबार पनि पर्यटकको मुख्य रोजाई बन्ने गरेको छ ।

पाल्पा गौंडाका तत्कालीन जनरल खड्ग शमशेरले दिवंगत रानी तेजकुमारीको सम्झनामा बनाएको यो रानीमहल दरबार बेलायती इन्जिनीयरले डिजाइन गरेका हुन्, जो निकै कलात्मक छ ।

खासगरी प्रेमको प्रतीकका रुपमा रहेको यो महल हेर्न मुख्यतः प्रेम दिवसको दिन पर्यटकको निकै भिड लाग्ने गर्दछ । नयाँ वर्षको पहिलो दिन र प्रेम दिवस (१४ फेब्रुअरी) का दिन यहाँ अत्यधिक पर्यटक पुग्ने गर्दछन् । अन्य दिन पनि यहाँ पर्यटकहरु घुम्न जाने गरेका हुन्छन् ।

सदरमुकाम पाल्पाबाट १३ किलोमिटर उत्तरतर्फ बौवागुम्बास्थित कालिगण्डकीको किनारमा ठूलो चट्टानमाथि यो दरबार अवस्थित छ । महलभित्र पोखरी, मन्दिर, बगैंचा आदि छन् । कालिगण्डकीको तिरमा मनोरम प्राकृतिक स्थलमा रहेको रानीमहललाई तानसेन नगरपालिकाले संग्रहालय बनाएर संरक्षण गरेको छ । तानसेनबाट पैदल हिँडेरै पनि साढे दुई घण्टामा पुग्न सकिने रानीमहल पछिल्लो समय पाल्पामा पहिलो पर्यटकीय स्थलको रुपमा परिचित छ । चिसो मौसम, स्वच्छ वातावरण रहेको रानीमहल नजिकै खाना तथा बास बस्नका लागि होटल तथा रेष्टुराहरु पनि सञ्चालित छन् । 

भैरवस्थान

पाल्पाको रिब्दीकोट गाउँपालिका– ४ मा पर्ने भैरवस्थानको अग्लो डाँडोमा भैरवको मन्दिर छ । ११ रोपनी चार आना क्षेत्रफलमा रहेको यो विशाल भैरव मन्दिर पाल्पाका तत्कालीन सेन वंशीय राजाले स्थापना गरेका हुन् ।

धार्मिक पर्यटनको हिसावले निकै महत्वपूर्ण रहेको यो मन्दिरमा पाल्पाका राजा मुकुन्द सेनले काठमाडौंबाट भैरवको मूर्ति ल्याएर वि.सं. १५१५ तिर स्थापना गरेका थिए । भैरवको मूर्ति भु्इँ तलामा छ । नजिकै कालीको मूर्ति छ । मन्दिरमा भाकल पूजा, पन्चवली पूजा, क्षमा पूजा आदि गरिन्छ । यो मन्दिरमा चढाइने प्रसादको रुपमा रोट प्रख्यात छ । यहाँ ठूलो त्रिशुल राखिएको छ । जनरल खड्ग शमशेरले आफ्नी श्रीमतीको चाहनामा यो त्रिशुलमा सुनको जलप लगाइदिएको भनाइ छ ।

प्राकृतिक मनोरम स्थलमा रहेको मन्दिरको दक्षिणतिर रोट पकाउने रोटघरहरुले झनै आकर्षण बढाएका छन् । सफा, शान्त, सुन्दर मन्दिर परिसरमा धार्मिक पर्यटकहरु पूजाआजा गर्न र तस्बिर खिचाउन लालयित हुन्छन् । यहाँ बली चढाएका पशुपंक्षीलाई प्रसादको रुपमा तयार गरिदिने व्यवस्था पनि छ ।

मन्दिर नजिकै केही व्यवसायीले गत वर्षदेखि जीपलाईन पनि निर्माण गरेका छन् । जीपलाईन खेल्नका लागि पनि पर्यटक आउने गर्दछन् । पाल्पाको सदरमुकाम पाल्पाबाट १० किलोमिटर पश्चिममा रहेको भैरव मन्दिर पनि पाल्पाको एक प्रमुख पर्यटकीय स्थल हो । यहाँ आन्तरिक पर्यटक मात्र होइन, बाह्य पर्यटक पनि उल्लेख्य मात्रामा आउने गर्दछन् ।

रेसुङ्गा

गुल्मी जिल्लाको सदरमुकाम तम्घासबाट एक घण्टाको पैदल दुरीमा रहेको अग्लो घना जंगलसहितको डाँडो रेसुङ्गा नामले परिचित छ । करिब ३५ सय हेक्टर क्षेत्रफलमा फैलिएको रेसुङ्गामा प्राचिन युगमा ऋष्यशृंग ऋषिले तपास्या गरेको मान्यता छ ।

भगवान राम र लक्ष्मणले ऋष्यशृंग ऋषिको दर्शन गर्न आउँदा ऋषिलाई यहाँ के अभाव छ भनी सोधेको र ऋषिले पानीको समस्या देखाएपछि राम लक्ष्मणले धनुषवाणले हानेर पानी निकालिदिएको किम्बदन्ती छ । यहाँ अहिले सुन्दर पोखरी र भ्यू टावरसमेत निर्माण गरिएको छ ।

यहाँ गणेश, शिव, विष्णु, शिद्धबाबा लगायत देवीदेवताको मन्दिर स्थापना गरिएको छ । धार्मिक पर्यटनका दृष्टिले निकै चार्चामा रहेको रेसुङ्गामा खासगरी गर्मी महिनामा पर्यटकको चाप बढ्ने गर्दछ । रेसुङ्गा डाँडाबाट धौलागिरी, माछापुच्छ«े, अन्नपूर्ण लगायत १५ वटा हिमाल देखिन्छन् । आन्तरिक तथा बाह्य पर्यटक लोभिने रेसुङ्गा डाँडामा होटल पनि खुलेका छन् । यहाँ खान र बस्नको समेत सुविधा भएपछि सदरमुकाम तम्घास आउने पर्यटक रेसुङ्गा पुगेकै हुन्छन् । रेसुङ्गा पुगेका पर्यटकले रिडीको रुरु धाम पनि अवलोकन गर्न सहज छ । पक्की सडक विस्तार भएकाले रेसुङ्गालाई रुरुको पर्यटकीय क्षेत्रसँग जोडिएको छ । रिडीमा अहिले तीनमुखे पुल बनेपछि थप रमणीय बनेको छ ।

सुपादेउराली मन्दिर

अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धीखर्कबाट ४७ किलोमिटर दक्षिणतर्फ कपिलबस्तुको गोरुसिङ्गे रोडमा पर्ने यो मन्दिर नरपानी र फलामे पहाडको खोँचमा अवस्थित छ । समुन्द्र सतहबाट करिब ४ हजार ५ सय फिटको उचाईमा रहेको यो मन्दिर बाइसे चौबिसे राज्यका बेला खाँचीकोटका राजाले निर्माण गरेको किन्बदन्ती छ ।

धर्मात्मी मानिसले मागेको आशिष दिने मान्यता रहेको सुपादेवीको यो मन्दिरमा धार्मिक पर्यटकको भिड हमेसा हुन्छ । भाकल गरेर फल प्राप्त भएपछि पनि देवीलाई ढाँटेको कारण एक लाउरेलाई यो भिरमा देवीले टाँसेको भन्ने मान्यता पनि चर्चामा छ । मन्दिर नजिकैको भिरलाई लाउरे टाँसिएको भिर नामकरण गरिएको छ ।

स्थानीयको भनाइ अनुसार प्राचिन कालमा एक युवकले आफू लाहुरे (भारतीय सेना) हुन पाउँ भनी भाकल गरेको र लाहुरे भइसकेपछि देवीलाई छलरे अर्कै बाटो प्रयोग गर्दा उनी भिरमा टाँसिएर मृत्यु भएको थियो । जिल्लाको मध्यभाग देवीस्थलमा पर्ने यो मन्दिरमा बली दिएर विभिन्न पूजाआजा गरिन्छ भने विवाह, ब्रतवन्ध पनि गरिन्छ । बली चढाएका पुशुपंक्षी घरमा नलगी नरपानी डाँडामा प्रसाद बनाएर खाने प्रचलन छ ।

नरपानीको सुन्दर डाँडाबाट हिमशिखरहरु हेर्दै सुपादेउराली मन्दिरमा देवीको पूजा गर्न नेपालीमात्र नभइ भारतीय नागरिकसमेत आउने गर्दछन् । धार्मिक पर्यटनको केन्द्र बनेको सुपादेउरालीको प्राकृतिक सुन्दरता र मन्दिर दर्शनका लागि एकपटक पुग्नै पर्ने ठाउँ हो यो ।

स्वर्गद्वारी

प्युठान जिल्लामा पर्ने स्वर्गद्वारी निकै चर्चित धार्मिक पर्यटकीय गन्तब्य हो । प्युठानको सदरमुकाम खलङ्गाबाट २६ किलोमिटरको दुरीमा रहेको स्वर्गद्वारी मन्दिर नेपालकै प्रमुख धार्मिक पर्यटनको केन्द्रमध्ये एक हो । परापूर्व कालमा पाण्डवहरु स्वर्ग जाँदा प्रयोग गरेको बाटो (द्वार) भएकाले यसको नाम स्वर्गद्वारी रहेको बताइन्छ । भगवान ब्रह्मा र ऋषिहरुले तपस्या गरेका यो पवित्र भूमिमा ऐतिहासिक अग्निखण्ड, गुफा, महाप्रभु, गाईको दर्शन गर्नाले रोगब्याधि नलाग्ने र मनोकांक्षा पूरा हुने जनविश्वास छ ।

२६ सय रोपनीमा फैलिएको स्वर्गद्वारी मन्दिरको जग्गा दाङ जिल्लाका विभिन्न ठाउँमा पनि १०५० विगाहा जग्गा छ । समुन्द्र सतहदेखि ७००० फिट उचाइमा रहेको स्वर्गद्वारीमा गौसाला, निरन्तर अग्निकुण्ड, महायज्ञ तथा विभिन्नि पूजापाठ हुने गर्दछन् । यहाँ आउने भक्तजनलाई निःशुल्क प्रसादी तथा भोजनको ब्यवस्था छ । गौसालाका सयौं गाईगोरुलाई हेरचाह गर्ने कामदार पनि राखिएको छ । विभिन्न देवीदेवताका मन्दिर रहेको स्वर्गद्वारी साँच्चैकै स्वर्गजस्तै छ ।

स्वर्गद्वारीमा विभिन्न देशबाट पर्यटकहरु आउने गर्दछन् । विषेशगरी वैशाख पूर्णिमा, उभौली पर्व तथा बुद्धजयन्तीमा यहाँ भव्य मेला लाग्दछ । यहाँ रथयात्रा समेत गरिन्छ भने वेदको पाठशाला पनि सञ्चालन गरिएको छ । पर्यटकको भिडभाड भइरहने यो पवित्र स्थलको अवलोकन गर्नु पनि दसैँ बिदाको सदुपयोग गर्ने माध्यम बन्न सक्छ ।

स्वर्गद्वारीसँग प्यूठानको ओखरकोटमा अवस्थित कोट मन्दिरको पनि चर्चा गरिन्छ । एक शक्तिपीठको रुपमा परिचित ओखरकोटको कोट पनि पर्यटनको केन्द्र बन्दै गएको छ । अग्लो डाँडोमा अवस्थित प्राकृतिक हिसाबले निकै मनोरम स्थल कोटमा विभिन्न भौतिक निर्माणका काम भइरहेका छन् । यस कोटमा पनि दैनिक पर्यटकहरु घुम्न आउने गर्दछन् ।

धारापानी

दाङ जिल्लाको सुन्दर सहर घोराही नजिकै रहेको धारापानी क्षेत्र धार्मिक पर्यटनको प्रमुख स्थल हो । यहाँ विश्वकै अग्लो दाबी गरिएको पञ्च धातुमिश्रित त्रिशुल स्थापना गरिएको छ । यहाँ पाण्डेश्वरको मन्दिर छ, जहाँ पाण्डव शयन शिला, विभिन्न देवीदेवताका मन्दिर छन् । यहाँ साढे ५५ फिट उचाइको त्रिशुल, १०८ शिवलिङ्ग, १०८ जोडी वरपिपल, १०८ सीमका वृक्ष, ओम कुण्ड आदि आकर्षणका रुपमा छन् ।

धारापानीमा तीर्थाटन लागि धेरै आन्तरिक तथा बाह्य पर्यटक आउने गर्दछन् । खासगरी शिवरात्रिका बेला यहाँ भब्य मेला लाग्दछ । पाण्डेश्वर धामका रुपमा परिचित यस धाम प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । यहाँ गुरुयोजना बनाएरै भौतिक संरचना बनाउने काम भइरहेको छ ।

यस आसपास दर्जनौं जलाशय तथा कुण्ड छन् । त्यस्तै तुल्सीपुरको थारु संग्रहालय पनि एक पर्यटकीय स्थल बनेको छ । थारु संस्कृतिको अध्ययनका लागि यो पनि पुग्नैपर्ने एक ऐतिहासिक स्थल बनेको छ ।

बागेश्वरी मन्दिर

बाँके जिल्लाको मुख्य सहर नेपालगञ्ज बजारमा अवस्थित बागेश्वरी मन्दिर धार्मिक पर्यटनको हिसाबले निकै चर्चित र महत्वपूर्ण मानिन्छ । यहाँ सतीदेवीको जिब्रो पतन भएको जनविश्वास गरिन्छ । यो मन्दिरमा पूजाआराधना गर्दा मनोकांक्षा पूरा हुने जनविश्वास छ । यहाँ गणेश, जुंगे महादेव आदिको मूर्ति स्थापना गरिएको छ ।

यहाँ पूजा आराधना गर्न भक्तजनको निकै भिड हुने गर्दछ । बागेश्वरी माताको पूजा गर्न आसपासका जिल्ला दाङ, बर्दिया, सुर्खेत, दैलेख तथा छिमेकी मुलुक भारतबाट समेत भक्तजनहरु आउने गर्दछन् । धार्मिक पर्यटनको केन्द्र बन्दै गएको यो मन्दिर हेर्न लायक छ ।

राष्ट्रिय निकुञ्जहरु

बर्दिया जिल्लाको बर्दिया राष्ट्रिय निकुञ्ज नेपालको एक प्रमुख पर्यटकीय गन्तब्य हो । बर्दियाको ठाकुरद्वारामा रहेको यो राष्ट्रिय निकुञ्ज करिव ९६८ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । सन् १९६८ मा शाही सिकार आरक्षको रुपमा स्थापना गरिए पनि पछि यसलाई शाही बर्दिया वन्यजन्तु आरक्षण नामकरण गरियो । बबई नदी आसपासको क्षेत्रलाई पनि समेटेर यसलाई राष्ट्रिय निकुञ्ज घोषणा गरिएको छ ।

यस निकुञ्जमा बाघ संरक्षणका लागि मुख्य पहल गरिएको छ । यहाँ गैंडा, घडियाल, डल्फिन, गोही आदिको संरक्षण गरिएको छ । यहाँ ५६ प्रजातिका बन्यजन्तु र ४३८ थरीका रैथाने र बसाइ सरी आउने चरा पाइन्छन् ।

त्यस्तै बाँके जिल्लाको बाँके राष्ट्रिय निकुञ्ज पनि पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ । यो ५५० वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । यी राष्ट्रिय निकुञ्जहरु पनि पर्यटकको रोजाईमा पर्ने मुख्य पर्यटकीय स्थल हुन् ।

हिमालहरु​​

पूर्वी रुकुम जिल्लामा पर्ने पुथा र सिस्ने हिमाल पनि लुम्बिनी प्रदेशमा पर्ने प्रमुख पर्यटकीय क्षेत्र हुन् । पुथा लुम्बिनी प्रदेशमा पर्ने सबैभन्दा अग्लो हिमाल हो । समुन्द्र सतहदेखि पुथा ७ हजार २४६ मिटरको उचाईमा छ भने सिस्ने ५ हजार ८४९ मिटरको उचाईमा छ । यी हिमालका वरपर विभिन्न सानाठूला हिम ताल छन् ।

पूर्वी रुकुमको उत्तरपूर्वमा रहेको मैदान डाँडा र खोर्सेबाट सिस्ने हिमाल देख्न सकिन्छ । यी हिमालमा मानिसहरु नचढेकाले कन्या हिमाल पनि भन्ने गरिन्छ । पर्यटकीय हिसाबले निकै मनमोहक यी हिमाललाई लुम्बिनी प्रदेश सरकारले चिनाउन भने सकेको छैन । यी हिमाललाई तराईको बुद्ध जन्मस्थल लुम्बिनीसँग जोडेर विकास गरिनुपर्ने पर्यटन क्षेत्रका विज्ञहरु बताउँछन् । यी हिमाल निकै मनमोहक छन् ।

रुकुमका हिमालसँगै रोल्पा र रुकुमका कतिपय स्थलहरु युद्ध पर्यटनका हिसाबले पनि विकसित हुँदै गएका छन् । रोल्पाको लिवाङ, थवाङ लगायतका युद्ध पर्यटनका क्षेत्रहरु पर्याप्त प्रचारप्रसारको अभावमा ओझेलमा परेका छन् । यी युद्ध पर्यटनका क्षेत्रलाई विश्वसामु चिनाउन स्थानीय सरकार तथा प्रदेश सरकारले पहल गर्नुपर्ने देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप