कविता : खुशी हराएको जिन्दगी
उल्लासमय परिवेशले
मेरो गाउँ सर्लक्क निलेको बेला
घर घरमा हर्षित
अनगिन्ती मुस्कानहरु भेटिए
पल्लाघरे ठुल्दाइ
पिपलबोटका हर्क दाइ
अनि मालतीका कान्छा पनि
धेरै बर्षपछि घर आँगनमा
मुस्कुराउँदै पुगेपछि
पूरा गाउँलाई धुमधामले
बडा दसैंले छोएको देखिन्छ
छिमेकीका घरमा मीठा पकवान
र, खसी ढालिएको छ
तर मेरो सानो झुपडीमा
केवल शुन्यता छ
खुशी हराएका मनहरु
परदेशीको बाटो हेरिरहेछन्
मेरी बूढी आमा अनि
सानुका आँखामा
आँसु छछल्किएका छन्
वर्ष दिनको यति ठुलो पर्वमा
छोरो घर नआउँदा
आमाको मन भक्कानिएको छ
प्रिय सानुको मुहारबाट
चमक सर्लक्क मेटिएको छ
सानो छोरा दर्शन
मेरो तस्बिरलाई काखमा राखेर
नियालिरहेछ
र, सोधिरहेछ प्रश्नमाथि प्रश्नहरु
हाम्रो बाबा किन नआउनुभाको आमा ?
खै त हाम्रो घरमा खसी ढालिएको ?
बाबाले खै त मलाई नाना र गाडी ल्याएको ?
अबोध छोराका यी प्रश्नहरु
सानु र आमाका मुटुमा
खिल बनेर बिझाउँछन्
अनि केवल आँखा रसाउँछन् ।
परदेशीहरुको घरमा प्रायः
यही दृश्य भेटिन्छ
यही कारुणिक वेदनाले पोलिरहन्छ
परदेशी हुनुको पीडा
आफन्तसँग टाढा हुनुको चोट
अनि चाडपर्वमा
संगै हुन नपाइएका बाध्यताहरु
बोकेर बिरानो मुलुकमा
परदेशी पीरको भारी
उचालिरहेछ निरन्तर निरन्तर
तातो बालुवामाथि
तेल र ग्यासका गन्धभित्र
अनवरत पसिना चुहाइरहन्छ
तै पनि अभावको भुइँचालोले
जिन्दगी हल्लाइरहन्छ ।
काँडा माथिको पैदल यात्रा जस्तो
हामी परदेशीको जिन्दगी
खुशी हराएको कालो जिन्दगी ।
दिपक आचार्य ‘जलन’
बर्दिया, हाल : साउदी अरब
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्नोल्ड श्वार्जनेगरको भन्दा ठूलो बाइसेप भएकी महिला, आफैँलाई भन्छिन्– ‘लेडी हल्क’
-
गोविन्दा शिव सेनामा प्रवेश, चुनाव लड्ने अड्कलबाजी
-
भूपू गोर्खाहरूको माग सम्बोधन गर्न बसेको चौथो वार्ता पनि निष्कर्षविहीन
-
काठमाडौँका निजी विद्यालयको नाम नेपालीकरण गर्न एक महिनाको अल्टिमेटम
-
मन्त्रिपरिषद् पुनर्गठन गर्दा यस्तो बन्यो शालिकरामको टिम (सूचीसहित)
-
एसईई परीक्षामा चिट चोराएको आरोपमा दुई जना पक्राउ