शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका ‘टप टेन’ समाचार

शुक्रबार, १४ असोज २०७९, २१ : ०३
शुक्रबार, १४ असोज २०७९

आज मिति २०७९ साल असोज महिनाको १४ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ–

१ काउन्टर रणनीति बनाउँदै एमाले

मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवार छनोट गर्न एमालेको बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले ठोस निर्णय गरेन । अध्यक्ष केपी ओली निवास बालकोटमा करिव ६ घण्टा बसेको बैठकमा प्रतिनिधिसभातर्फका १६५ र प्रदेश सभा तर्फका ३३० सिटमा उठाउने उम्मेदवारबारे एकएक छलफल भएपनि कुनै ठोस निर्णय भने नभएको हो । 

बैठकपछि प्रचार विभाग प्रमुख समेत रहेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले उम्मेदवारबारे प्रारम्भिक छलफल मात्रै भएको प्रतिक्रिया दिए । एमालेले सत्ता गठबन्धनबाट अघि सार्ने उम्मेदवार हेरेर आफ्नो उम्मेदवार तयार गर्नेगरी काउन्टर रणनीति बनाइरहेको छ। 

 ​२. समाजवादीको प्रदेशमा दाबी कति ?

नेकपा एकीकृत समाजवादीका नेता गंगालाल तुलाधरले प्रतिनिधिसभामा १७ भन्दा बढी सिट आफ्नो पार्टीको भागमा नपरे प्रदेशसभामा त्यसको परिपूर्ति हुनेगरी बाँडफाँट गर्नुपर्ने बताएका छन् । उनले भने, ‘सातै प्रदेशमा हाम्रा सांसद नै ६० को हाराहारीमा थिए । अबको भागबण्डामा पनि त्यो भन्दा कम संख्यामा जित्नेगरी हामी सहमत हुँदैनौ ।’

​यसैबीच नेकपा माओवादी केन्द्रले निर्वाचनमा को–कसलाई उम्मेदवार चयन गर्ला भनेर चर्चा सुरु भएको छ ।

​३. कांग्रेसमा रडाको

सत्तारुढ दल नेपाली कांग्रेसमा समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची हेरफेरबारे तीन दिनदेखि छलफल चलिरहेको छ । असोज ३ गते बुझाइएको बन्द सूचीलाई लिएर कांग्रेसको शेखर कोइराला–गगन थापा पक्षको विरोधपछि बालुवाटारमा त्यसलाई सच्याउन छलफल जारी रहेको हो ।

पार्टीको पदाधिकारी बैठकमा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने आश्वासन दिएका थिए । त्यसपछि सभापति बाहेका पदाधिकारी बसेर बन्दसूची हेरफेरको गृहकार्य चलिरहेको छ । कोइराला पक्ष निकट एक जना पदाधिकारी अनुसार ठोस सहमति भने भइसकेको छैन ।

​४. जसपा र लोसपाको चुनावी जोड घटाउ

नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच चुनावी तालमेलको विषयमा तीनदेखि वार्ता भइरहे पनि कुनै निष्कर्ष निस्किन सकेको छैन । पहिलो दिन सामान्य छलफल भयो । कसरी कुन मोडेलमा गठबन्धन गर्ने भन्नेमै पहिलो दिनको बैठक सकिएको थियो । दोस्रो दिन एमालेको सचिवालयको बैठक बसेका कारणले सकारात्मक नतिजा नआएको बताइएको छ ।

​पाँच दलीय गठबन्धनमा आवद्ध जनता समाजवादी पार्टी नेपाल सिट बाँडफाँटमा असन्तुष्ट बनेको छ । गठबन्धनमा केही क्षेत्रमा भएको सिट बाँडफाँटको समाचार बाहिर आएपछि जसपाका नेताहरुले असन्तुष्टि जनाउँदै आएका छन् ।

​५. रवीन्द्र मिश्रको उम्मेदवारी घोषणा

राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिने घोषणा गरेका छन् । शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले पार्टीको सहमतिसहित आफूले राप्रपाको हलो चिह्न लिएर चुनाव लड्ने घोषणा गरेका हुन् ।  उनले जनताले आफूलाई निर्वाचित गराएको खण्डमा आजसम्मकै गर्व गर्न सक्ने मध्येको सबैभन्दा सशक्त सांसदको रुपमा संसदमा जनताको आवाज बोल्ने प्रतिबद्धता गरे ।

​६. व्यवस्थाबारे पूर्व राजाको टिप्पणी

पूर्वराजा ज्ञानेन्द्र शाह दसैंको शुभकामना दिँदै वर्तमान शासन व्यवस्थामाथि नै प्रश्न उठाएका छन् । न्यायपालिका, कार्यपालिका भित्रको विवादले व्यवस्था नै सोच्ने अवस्था आएको शाहको भनाइ छ ।

आज एक भिडियो सन्देश मार्फत दसैँको शुभकामना दिँदै पूर्वराजा शाहले सत्ता स्वार्थले प्रेरित गठबन्धन हुनु देशका लागि दुर्भाग्य भएको दाबी गरे । शाहले मुलुक देशी विदेशीको क्रिडास्थल बन्दै गएकोमा चिन्ता व्यक्त गरेका छन्।

​७. लाल मोहम्मद प्रकरण

काठमाडौंको गोठाटारमा गत असोज ३ गते सर्लाहीका व्यापारी लाल महम्मद दर्जीको हत्यामा संलग्न तीन जनालाई सार्वजनिक गरिएको छ । शुक्रबार प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गर्दै हत्यामा संलग्न भएका तीन जनालाई सार्वजनिक गरेको हो ।

 काठमाडौंको गोठाटारमा गत ३ असोजमा गोली हानी हत्या गर्न सहयोग गरेको आरोपमा तीन जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले पक्राउ गरेका तीनैजना २१ वर्ष मुनिका रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक  भरतबहादुर बोहराले बताए ।

​८. कोरोना र डेंगु

पछिल्लो २४ घण्टामा ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २५३५ जनामा गरिएको नमूना परीक्षणमा ६३ जनामा संक्रमण पुष्टि भएको हो ।

​नेपालमा डेंगुबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ । यो तथ्यांक गत साउनयताको भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै डेंगु संक्रमित हुनेको संख्या २८ हजार १०९ पुगेको मन्त्रालयले जनाएको छ ।

​९. आयोगको निर्णय विवादमा

निर्वाचन आयोगले सामाजिक सञ्जालमार्फत निर्वाचन आचारसंहिता विपरितका काम भए–नभएको सम्बन्धमा अनुगमन गर्ने भएको छ । आयोगले सामाजिक सञ्जाल र डिजिटल मिडियाहरुको अनुगमन गर्ने उद्देश्य राखेर प्रेस अफिसको स्थापना गरेर सामाजिक सञ्जालमार्फत आचारसंहिता विपरितका काम अनुगमन गर्ने भएको हो ।

​नेपाल पत्रकार महासंघले निर्वाचन आयोगले व्यक्तिको अभिव्यक्ति स्वतन्त्रता र प्रेसको संवैधानिक स्वतन्त्रता नियन्त्रण गर्न खोजेको जनाएको छ । महासंघका महासचिव रोशन पुरीले शुक्रबार विज्ञप्ति जारी गर्दै मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सम्प्रेषण भएका सामग्री अनुगमन गर्न नेपाली सेना, नेपाल प्रहरीको साइबर ब्यूरोसमेत रहनेगरी संयन्त्र निर्माण गरेकोप्रति महासंघले आपत्ति जनाएको छ ।

​१०. र, यो पनि...

महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्रहालय उद्घाटन गरिएको छ।  महाकवि देवकोटाको घरलाई पुनः निर्माण गरी संग्रहालय निर्माण गरिएको हो । करिब सात करोड लगानीमा निर्माण भएको उक्त तीन तले संग्रहालयमा देवकोटासँग सम्बन्धित सामाग्री तथा विषयहरु रहेका छन् ।

​कर्णाली प्रदेशका प्रमुख तिलक परियार क्यानडा भ्रमणमा जाने तय भएको छ । असोज १९ र २० गते आयोजना हुने कार्यक्रममा सहभागी हुन उनी क्यानडाको ओटावा जाने भएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले उनको अनुपस्थितिमा  प्रदेश प्रमुखको कार्यभार लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनलाई तोकेकी छन् ।

​नेपालले हालको भन्दा आठ गुणा बढी निर्यात गर्न सक्ने सम्भावनालाई गुमाइरहेको एक अध्ययनले देखाएको छ । विश्व बैंकले गतवर्ष सार्वजनिक गरेको एक प्रतिवेदनले अध्ययनमा समावेश भएका करिब ५० मुलुकमध्ये सबैभन्दा सम्भावना खेर फालिरहेको देश नेपाल रहेको देखाएको छ ।

​पछिल्लो समय वैदेशिक रोजगारीका लागि मलेसियामा आकर्षण बढेको छ । वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपालीको संख्या अन्य मुलुकको तुलनामा सबैभन्दा बढी देखिएको छ । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार भदौ महिनामा मात्र ३३ हजार २० जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् । अन्य प्रमुख श्रम गन्तव्य मुलुकहरू साउदी, दुबई, कतार, कुवेतको तुलनामा यो संख्या निकै बढी हो ।

​थप समाचार

 

 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप