शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालगञ्जमा दसैँ पर्व लक्षित बजार अनुगमन

शुक्रबार, १४ असोज २०७९, १२ : ५५
शुक्रबार, १४ असोज २०७९

नेपालगञ्जमा दसैँ पर्वलाई लक्षित गरी संयुक्त अनुगमन समितिले बजार अनुगमन सुरुआत गरेको छ । दसैँ पर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य तथा खाद्यवस्तुमा हुनसक्ने मिसावट तथा महँगीलाई मध्यनजर गरी बजार अनुगमन गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगञ्जका सूचना अधिकारी देवीलाल चौलागाईंले बताए । 

उनका अनुसार, बजार अनुगमन गर्दा नेपालगञ्जमा म्याद गुज्रेका सामान र मापदण्डविपरीत मासु बेचिरहेको फेला परेको छ । नेपालगञ्जस्थित राही मार्ट, ब्राइट किराना पसल पसल, राँझास्थित सिद्धबाबा पोल्टी एण्ड फिड सप्लायर्सलगायत पसलमा म्याद गुज्रिएको सामान फेला परेको छ । 

चाडपर्वको बेलामा बजारमा कृतिम मूल्यवृद्धि, म्याद नाघेका सामानको बिक्रीलगायत गुणस्तरहीन सामानसमेत बिक्री गरिने हुँदा अनुगमनलाई तीव्र पारिएको छ । उपभोक्ताले हानिकारक मिसावटयुक्त खाद्य वस्तु खान नपरोस् भन्ने उद्देश्यले अनुगमन गरेर व्यापारीलाई सचेत बनाइएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले बताए । 

चाडपर्वका बेलामा वस्तुको गुणस्तर र सर्वसुलभ मूल्यभन्दा पनि नाफा कमाउने उद्देश्यका साथ अखाद्य तथा मिसावट गर्ने कामलाई निरुत्साहित पार्न अनुगमन कार्यलाई नियमित गरिएको उनको भनाइ छ । 

जिल्ला प्रशासन कार्यालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, भेटेरीनरी अस्पताल तथा विज्ञ केन्द्र, नेपालगञ्ज उपमहानगरपालिका र उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधिसहितको संयुक्त अनुगमन टोलीले बजार अनुगमन गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप