शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

व्यापारीको आरोप : खाद्यले लेकाली खसीलाई च्याङ्‍ग्रा भनेर बेच्यो

शुक्रबार, १४ असोज २०७९, १२ : १३
शुक्रबार, १४ असोज २०७९

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैंमा बेचिरहेको ‘च्याङ्‍ग्रा’ विवादित बनेको छ । व्यापार कम्पनीले दार्चुलाको अपी गाउँपालिकाबाट ल्याएर बेचिरहेको २ सयवटा च्याङ्‍ग्रा विवादित बनेको हो । खासगरी, निजी क्षेत्रले ‘लेकाली खसी’लाई च्याङ्‍ग्रा भनेर खाद्य कम्पनीले प्रतिकिलो ५५० रुपैयाँसम्म बढी मूल्य लिएर बेचेको आरोप लागेको छ ।

काठमाडौं चौपाया खरिद बिक्री केन्द्रका अध्यक्ष जनकराज खड्काले खाद्य कम्पनीले सिमला खसीलाई च्याङ्‍ग्रा भनेर महँगोमा बेचिरहेको बताए । कलंकी खसी बजारमा खाद्यले च्याङ्‍ग्रा भनेर महँगोमा बेचिरहेको जस्तै ‘लेकाली खसी’को बजार भाउ ७५० रुपैयाँ रहेको खड्काको भनाइ छ । उनका अनुसार हाल खाद्य कम्पनीले १२ सय ५० रुपैयाँ प्रतिकिलोमा बेचिरहेको लेकाली खसी बजार भाउभन्दा साढे ५ सय रुपैयाँले महँगो छ ।
यस्तै, कलंकी खसी बजार व्यवस्थापक जीवन खतिवडा खाद्यले च्याङ्‍ग्रा भनेर महँगोमा बेचिरहेको खसी ७५० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको बताए । 

‘गत वर्ष हामीले सोही खसीलाई प्रतिकिलो ७५० रुपैयाँमा बेच्दा बजारमा हंगामा मच्चियो तर, यसपटक सोही खसीलाई खाद्यले १२ सय ५० रुपैयाँ प्रतिकिलोमा बेचिरहेको छ।’ उनले भने । खाद्य कम्पनीले महँगोमा बेचेपछि कलंकी खसी बजारका व्यापारी ७५० रुपैयाँ प्रतिकिलोमा बेच्नुपर्ने ‘लेकाली खसी’ प्रतिकिलो १ हजार रुपैयाँमा बेच्ने तयारीमा रहेको खड्काको भनाइ छ ।

‘खाद्यले बेचेको खसी च्याङ्‍ग्रा हो वा होइन, त्यो हामीलाई जानकारी छैन तर, सोही प्रकारको लेकाली खसी हामीले हिजोसम्म प्रतिकिलो ७५० रुपैयाँमा बेचिरहेका छौं,’ उनले भने । खाद्य कम्पनीका बिक्री केन्द्र प्रमुख भिम थापा भने दार्चुलाको अपी गाउँपालिकाबाट ल्याइएको च्याङ्‍ग्रा बिक्री गरिरहेको बताउँछन् । उनले गाउँपालिकाबाट च्याङ्‍ग्रा निकासीको सर्टिफिकेट, जिल्ला प्रशासन कार्यालय दार्चुला र स्थानीय सहकारीहरूको सिफारिसमा २ सय वटा च्याङ्‍ग्रा ल्याएर बेचिरहेको बताए । 

‘च्याङ्‍ग्रा मुस्ताङमा मात्रै पाइन्छ भन्ने भ्रम छ, तर, त्यस्तो होइन, दार्चुलाबाट हामीले च्याङ्‍ग्रा ल्याएर बेचिरहेका छौं,’ थापाले भने । दार्चुलाको सहकारी मार्फत प्रतिकिलो ११ सय रुपैयाँमा किनेको च्याङ्‍ग्रा काठमाडौंसम्म ल्याउँदा १६० रुपैयाँ ढुवानी लागत जोडिएको र त्यसलाई छुटसहित १ हजार २४० देखि १ हजार २५० रुपैयाँसम्म बेचिरहेको थापाको भनाइ छ ।

‘पहिलोपटक मुस्ताङभन्दा बाहिरबाट च्याङ्‍ग्रा ल्याउँन हामीलाई पनि समस्या भएको थियो, सोहीकारण, स्थानीय भेटेनरीबाटै प्रमाणित गरिएको सर्टिफिकेट पनि हामीसँग छ,’ थापाले थपे ।

खाद्यले विगत २ वर्षयता च्याङ्‍ग्रा बिक्री गरिरहेको थिएन । यसपटक पनि च्याङ्‍ग्रा काठमाडौं ल्याउन सहज नभएको भन्दै बिक्रीको सुरसार नै थिएन । तर, अन्तिम समयमा आएर कम्पनीले अपी हिमाल गाउँपालिकाबाट ल्याएर बिक्री गरिरहेको हो ।  ‘मुस्ताङको च्याङ्‍ग्रा ल्याएको भए यसपटक प्रतिकिलो १९ सय रुपैयाँसम्म पर्न सक्थ्यो, त्यसबाहेक अन्यत्रबाट च्याङ्‍ग्रा ल्याउँदा सस्तो परेको हो,’ विक्री केन्द्र प्रमुख थापाले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप