बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मलेसियामा किन बढ्यो नेपालीको आकर्षण ?

शुक्रबार, १४ असोज २०७९, १२ : ०९
शुक्रबार, १४ असोज २०७९

पछिल्लो समय वैदेशिक रोजगारीका लागि मलेसियामा आकर्षण बढेको छ । वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपालीको संख्या अन्य मुलुकको तुलनामा सबैभन्दा बढी देखिएको छ । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार भदौ महिनामा मात्र ३३ हजार २० जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् । अन्य प्रमुख श्रम गन्तव्य मुलुकहरू साउदी, दुबई, कतार, कुवेतको तुलनामा यो संख्या निकै बढी हो ।

अन्य मुलुकमा २ देखि बढीमा ४ हजारको हाराहारीमा गएका छन् भने मलेसियामा प्रत्येक महिना जानेको संख्या बढ्दो क्रममा छ । विभागको तथ्याङ्क अनुसार साउनमा २२ हजार ३७५ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् । त्यस्तै असारमा १५ हजार ८२७, जेठमा ७ हजार १५१ जनाले यस्तो स्वीकृति लिएका थिए । असार अघि भने अन्य मुलुकको तुलनामै मलेसिया गएको देखिन्छ ।

बसुन्धारामा रहेको ब्ल्यु ओसियन ओभरसिज प्रालिका सञ्चालक ध्रुवकुमार रिजालका अनुसार मलेसियामा रोजगारीको आकर्षण बढ्नुको कारण तलबमा भएको वृद्धि हो । मलेसियाले अहिले श्रमिकको बेसिक तलब नै ८ घण्टाको १५०० मलेसियन रिंगेट (४१ हजार भन्दा बढी नेपाली रूपैयाँ) बनाइएको छ । यसअघि १२०० रिंगेट (३३ हजार नेपाली रूपैयाँ) थियो । त्यसमा २÷३ घण्टा ओभरटाइम समेत काम गर्न पाइन्छ ।

पछिल्लो समय जाने रेसियो बढे पनि डिमाण्ड भने घट्न थालेको उनको भनाइ छ । यो वर्षको अन्तिमसम्ममा मलेसिया जानेको संख्यामा निकै कमी आउने उनको भनाइ छ । यसरी मलेसियामा रोजगारीको आकर्षण बढ्नुको अर्को कारण भनेको कोरोना महामारीका कारण लामो समय समय मलेसिया रोकिएको थियो । त्यस्तै सरकारले मलेसियासँग श्रम सम्झौता गर्ने भन्दै कामदार पठाउनमा समेत रोक लगाएको थियो ।

मलेसियाले कोरोना महामारी अन्त्यको घोषणा गर्दै विदेशी कामदार ल्याउन थालेसँगै नेपालबाट जानेको संख्या ह्वात्तै बढेको उनको भनाइ छ । मलेसियाले फ्रि भिसा फ्रि टिकटको व्यवस्थालाई कार्यान्वयनमा ल्याएको छ । जसले गर्दा कामदारहरू निःशुल्क मलेसिया जाने गरेका छन् । धेरै मेन पावर कम्पनीले फ्रि भिसा फ्रि टिकटको डिमाण्ड ल्याए पनि यसलाई कार्यान्वयन गरेको देखिँदैन ।

उनीहरूले उक्त डिमाण्डलाई लुकाएर कामदारबाट पैसा लिने गरेको पाइएको छ । यसरी फ्रि भिसा फ्रि टिकटमा कामदारबाट पैसा लिएको पाइएमा कारवाही गर्ने चेतावनी सरकारले दिँदै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप