रमाइलो संसार : यसरी समातिएका थिए 'मरेका मानिस'बाट चोरहरू

person explore access_timeअसोज १४, २०७९ chat_bubble_outline0

कुरा त्यतिबेलाको हो, जतिबेला भारतमा मुगलहरूको शासन थियो । मुगल वादशाह शाहजाँहका दरवारमा एक महान् दार्शनिक सन्त थिए, जसलाई शाहजाँहका छोरा दारासिकोह गुरु मान्थे भने शाहजाँह आफैँ पनि प्रशंसा गरेर थाक्दैनथे । उनको वास्तविक नाम सूफी अब्द उर रज्जाक थियो । उनी अब्द उर रहीम, अलस अब्द उर करीम, अलस अब्द उर रज्जाकको नामले पनि परिचित थिए । तथापि व्यवहारमा भने शेख चिल्लीको नामले प्रसिद्ध भए । उनको जन्म हाल पाकिस्तानमा पर्ने बलुचिस्तान प्रान्तको खनाबदोस नामक गाउँमा भएको थियो तर घुम्दै आउँदा शाहजाँहको दरबारमा पुगेका थिए ।


महान् सूफी सन्त चिल्ली सच्चाइ र इमान्दरीका पर्यायवाची मानिन्थे । उनले झुट तथा छलकपट जानेकै थिएनन् । न देखावटी थियो न व्यवहारिकता । जे बोल्थे सिधै बोल्थे । लप्पनछप्पन थिएन । यही सरलता र सज्जनपनका कारण उनको कुरा सुन्नासाथ मानिस हाँस्ने गर्थे । कोही झु्ट भन्थे कोही छट्टु भन्थे र दृष्टिविहीनले हात्ती छामेजस्तो आफ्नै  स्वभाव अनुसारको अर्थ लगाउँथे । यथार्थमा उनी आर्फैँ भने न झुट थिए न छट्टु नै । जे थियो त्यही थिए र जे देखेका र सुनेका थिए त्यही भन्थे । जरुरै उनको व्यवहार बेढङ्गी देखिन्थ्यो तर केही न सन्देश भने छिपेकै हुन्थ्यो, जुन पछि गएर आफैँ प्रष्ट हुन्थ्यो । भनिन्छ उनी बाल्यकालमा मूर्ख थिए । उटपट्याङ् कुरा सोधेर हैरान पार्थे । उनको यस्तै उटपट्याङ् प्रश्नको उत्तर दिँदादिँदा उनकै आमासमेत हैरान हुने गर्थिन् ।



एकपटक उनले आमालाई सोधेका थिए–



‘आमा ! मानिस किन मर्छन् ?’

विचरी आमाले के उत्तर  दिनु ? तर, कुनै उत्तर नपाई उनी चुप रहनेवाला थिएनन् । केही न केही भन्नै पथ्र्यो । छोराको कुरा सुनेर आमा अपठ्यारोमा परिन् । त्यसैले पन्छाउने विचारले भनिन्–

‘मिति सकिएर मर्छन् नि किन मर्छन् भन्ने ।’

यत्तिकैमा उनी रोकिएनन् । तत्कालै अर्को प्रश्न गर्दै सोधे–

‘त्यो भनेको के हो नि आमा ?’

‘यही बुझ उसको संसारमा बस्ने समय सकिएको हो ।’

‘अनि मानिस बस्छन् चाहिँ कहाँ नि आमा !

‘देवताको घरमा नि कहाँ ।’

‘अनि मर्छन् चाहिँ कसरी नि आमा !’

आमालाई अर्को आपतप¥यो । केही न केही नभनी उम्किन पाइने अवस्था थिएन । त्यसैले कुरा बनाउँदै भनिन्–

‘केही पनि गर्दैनन् ।’

‘केही पनि नगरी कसरी मर्छन् त ?’

‘मात्र आँखा चिम्म गर्छन् ।’

‘आँखा चिम्म गरेपछि मरिहाल्छन् ?’

‘हा,े मरिहाल्छन् ।’

‘ए ! सजिलो पो रहेछ ।’

यति भनेर घरबाट निस्के । घुम्दै दिउसोतिर एउटा ठूलो जङ्गलको छेउमा पुगेर यताउता हेरे । त्यतैकतै रुखको फेदमा एउटा खाल्टो रहेछ । खाल्टो देख्नासाथ उनलाई मर्न मन लाग्यो र आँखा चिम्म गरेर सुते । संयोगवश त्यही दिन राति दुई जना चोर त्यही रुखको फेदमा आएर चोरीकै बारेमा कुरा गर्न लागे । एउटा भन्थ्यो–

‘आज कसको घरमा चोरी गर्ने केही सोचेका छौ ?’

‘अर्कोले भन्यो–

‘अमुक व्यक्तिको घरमा ।’

‘त्यो त हो तर गाह्रो छ ।’

‘किन नि ?’

‘त्यस घरमा मानिस धेरै छन् । त्यसैले एकजना साथी थप भए मात्र सकिन्छ नत्र पक्राउ पर्ने सम्भावना छ ।

शेख चिल्लीले खाल्टोमा सुतेर यी सबै कुरा सुनेका थिए । उनले सुतैकै स्थानबाट भने–

‘साथी हो ! तिमीहरूका साथमा जाने थिएँ के गर्ने मरिहालेँ ।’

उनको कुरा सुनेर चोरहरूले खाल्टोमा गएर हेरे । चिसो भूमिमा आँखा चिम्लेर सुतेको मानिसलाई देखेर आश्चर्य मान्दै सोधे–

‘मित्र ! तिमी साँच्चै मरेकै हौ ?’

‘हो तनि देख्नुभएन आँखा चिम्लेर सुतेको ?’

‘कहिले मरेका थियौ भन्न सक्छौ ?’

‘किन नसक्ने, आजै दिउसो मरेको हुँ ।’

उनको कुराबाट चोरहरू लोभिए । सोचे यस्ता मूर्खलाई साथमा लिन सकिए राम्रै फइदा लिन सकिन्छ । त्यसैले फकाउने उद्देश्यले भने–

‘हेर भाइ ! बेकारमा किन मर्छौ ? बरू हिँड  हाम्रो साथमा फाइदा हुनेछ ।’

‘त्यो त ठीकै छ तर अहिले निकै भोक लागिरहेको छ । दिउँसैदेखि खाएको छैन । केही खाने चीज दिन सक्छौ ?’

‘अहिले त छैन तर हाम्रो साथमा गयौ भने व्यवस्था गर्न सकिन्छ ।’

त्यसपछि उनी चोरहरूका साथ लागेर हिँडे । चोरहरूले पर गाउँको एउटा घरमा चोर्न पठाए र आफूहरू बाहिर पहरा दिएर बसे । शेख चिल्लीले भित्र गएर खाने चीज खोल्न लागे । खोज्दै जाँदा चुलोमा एक कराइमा दूख बसाएको देखे र खुसी हुँदै चुलो बाली खिर बनाउन लागे ।

एकजना बुढीआमा त्यहीँ सुतेकी रहिछिन् । पहिले खुम्चेर सुतेकी थिइन् । सायद चुलोको तातोले होला निद्रामै हात पसारिन् । यसबाट चिल्लीलाई आबैले पनि खान मागेजस्तो लाग्यो र हातमा एक डाडु तातो खिर राखिदिए । आफ्नो हात पोलेपछि उनी चिल्लाउँदै उठिन् । हल्लाखल्ला भयो, अरू मानिस पनि मानिस पनि आए । अपरिचित मानिसलाई भान्छामा देखेर चोरचोर भन्दै समाते । त्यसपछि उनले घरमालिकसँग भने–

‘महाशय ! म जस्तो भोको मानिसलाई समातेर के पाउनुहुन्छ । चोरै समाताउने भए बाहिर लुकेर बसेका छन् उनीहरूलाई नै समात्नुभए राम्रो होला ।’

नभन्दै बाहिर दुई जना चोर लुकेर बसेको देखेपछि घरमालिकले उनलाई छाडेर चोरहरूलाई समाते ।

यसरी शेख चिल्लीले एउटा घरलाई मात्र चोरी हुनबाट बचाएनन्, अपितु चोर नै पक्राउने काम गरे ।    

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।