शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दसैँलाई सहकारी र कृषक समूहका खसीबोका

शुक्रबार, १४ असोज २०७९, १० : ४४
शुक्रबार, १४ असोज २०७९

बागलुङका सडकमा हिमालपारिका खसी भरिभराउ छन् । मुस्ताङबाट आएका च्याङ्ग्राको सामान्य मूल्य रु ४५ हजारभन्दा माथि नै छ । मध्यम परिवारले समेत प्रयोग गर्न नसक्ने गरी महँगिएको च्याङ्ग्राको मूल्यले यहाँका कतिपय गाउँसँग भने साइनो राख्दैनन् ।

बागलुङका ग्रामीण क्षेत्रका किसानको सक्रियतामा गठन भएका सहकारी र कृषक समूह आफैँले खसीबोका उत्पादन गर्छन् । समूह र सहकारीका सदस्यलाई चाहिने खसीबोका राखेर बाँकी बिक्री गर्छन् र दसैँ खर्च चलाउँछन् । दसैँलाई लक्षित गरेर समूह तथा सहकारीहरूले स्थानीय जातको बसीबोका खरिद–बिक्री सुरु गरेका छन् ।

चाडपर्वमा हुने मासुको खपतलाई पूर्ति गर्न सहकारीले संस्थामा आवद्ध सेयर सदस्यले उत्पादन गरेका खसीबोका एकीकृत गरी बजारीकरण थालेका हुन् । पशु वस्तुको मूल्य शृङ्खलामा आधारित साना किसानहरूको संस्था सवलीकरण परियोजनाअन्तर्गत गठन भएका सहकारीहरूले हरेक वर्ष दसैँ र तिहारलाई लक्षित गरी स्थानीय जातका खसीबोका खरिद बिक्री गर्दै आएको परियोजनाको बजार सहजकर्ता रीतादेवी शर्माले जानकारी दिइन् ।

यो वर्ष बागलुङको काठेखोला गाउँपालिका–४ तंग्रामको वसन्त सामाजिक उद्यमी महिला सहकारीले छ सय पाँच, वसन्त सामाजिक महिला उद्यमी सहकारीले छ सय, जैमिनी नगरपालिका–३ को रुद्रताल सहकारीले सात सय २५, भाग्यदय सहकारीले चार सय ७५, पर्वतको फलेवास नगरपालिका–१० को हराभरा सामाजिक महिला उद्यमी सहकारीले सात सय ५०, महाशिला गाउँपालिका–६ को सक्रिय सामाजिक महिला उद्यमी सहकारीले सात सय १० खसीबोका बिक्री गर्ने लक्ष्य छ ।

पर्वतको महाशिला गाउँपालिका–८ को पैयुकोट सामाजिक उद्यमी महिला सहकारीले आठ सय ८०, फलेवास नगरपालिका–८ को ठानामौला सामाजिक महिला उद्यमी सहकारीले तीन सय ९०, बरपाण्डेथुम सहकारी संस्था कास्कीले तीन सय ५५, मिजुरे सहकारी संस्था कास्कीले आठ सय ४५ वटा खसीबोका बिक्री गर्ने योजना छ । “सेयर सदस्यसँग खसीबोका सङ्कलन गरेर बजार पठाउन थालेका छौँ” वसन्त सामाजिक महिला उद्यमी सहकारी संस्थाका प्रबन्धक हेमा विकले भनिन्, “दसैँको दुई दिनमा ३३५ वटा विक्री गरेका छौँ ।” सहकारीले नै बजारको खोजी गर्ने हुँदा कृषकलाई बजारीकरणको चिन्ता छैन ।

कृषकले पालेका खसीबोका सहकारीको माध्यस्तमार्फत बिक्री हुन थालेपछि बाख्रापालक कृषक उत्साहित छन् । “हामीलाई बजारको चिन्ता छैन”, कृषक तंग्रामकी मनकुमारी पुनले भनिन्, “जति भए पनि सहकारीले खरिद गरेर बिक्री गरिदिन्छ ।”

चाडपर्वमा मात्रै होइन अन्य समयमा समेत यहाँका किसानले राम्रो खसीबोका उत्पादन गर्ने गरेका छन् । हिमाली च्याङ्ग्राको मूल्यवृद्धिका कारण स्थानीय जातका खसीबोकाको माग अत्यधिक बढेको किसानहरू बताउँछन् ।

सहकारीले आफ्ना सदस्यसँग २५ किलोसम्मको खसी रु पाँच सय १० मा खरिद गरी पाँच सय २० मा र २५ किलोमाथिका खसीकोका प्रतिकेजी रु पाँच सय ५० मा खरिद गरी रु पाँच सय ६० मा बिक्री गर्दै आएका छन् । गैरसरकारी संस्था विवाइसी बागलुङले स्थानीय व्यवस्थापनमा सञ्चालित हेफर इन्टरनेशनलको साना किसान सवलीकरण परियोजनाअन्तर्गत गठित तीन जिल्लाका सहकारीमा छ हजार दुई सय ७८ जना सेयर सदस्य आबद्ध छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप