शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विश्व तेक्वान्दोका अध्यक्ष जो जङवोन भन्छन्, ‘नेपाली तेक्वान्दोको भविष्य उज्ज्वल छ’

शुक्रबार, १४ असोज २०७९, ०७ : १५
शुक्रबार, १४ असोज २०७९

दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपालका लागि सर्वाधिक स्वर्ण दिलाउने खेलकुद प्रतियोगितामा पर्छ तेक्वान्दो । तेक्वान्दोले नेपाली खेलकुदलाई विश्वस्तरमा पुर्याउन सहयोग गरेको छ । दीपक विष्ट र संगीना वैद्य पनि नेपालका लागि ओलम्पिकमा तेक्वान्दोबाट नै पाइला टेकेका हुन् । 

ती दुईले छोडेको सकारात्मक छापले नेपाललाई तेक्वान्दोमार्फत् विश्वमा चिनाउन धेरै सहयोग पुगेको छ । यसै क्रममा विश्व तेक्वान्दोका अध्यक्ष जो जङवोन तेस्रो पटक नेपाल आए । उनी यो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता पनि सकाए । जो जङवोनको नेपाली तेक्वान्दोसँग नजिकको सम्बन्ध छ । उनलाई यहाँको हावापानी, हिमालहरु धेरै मनपर्छ । त्यसैले पनि उनी नेपाल आउन रुचाउँछन् । 

७४ वर्षीय जो लामो समयदेखि तेक्वान्दोको अध्यक्षमा विराजमान छन् । उनी विश्व खेलकुद जगतमा फिफा र क्यान पछिका बलियो अध्यक्ष पनि हुन् ।  सन् २००४ बाट उनी  लगातार विश्व तेक्वान्दा संघका अध्यक्ष छन् । धार्मिक रुपमा पनि जो को नेपालसँगको सम्बन्ध अझ नजिक छ । नेपालमा उनकै सहयोगमा काठमाडौंको बौद्धमा शान्ति बाटिकाको स्थापना गरिएको थियो । 

जोले नेपालमा तेक्वान्दोको राम्रो सम्भावना भएको बताउँछन् । नेपालमा स्तरीय खेलाडीसँगै नयाँ प्रशिक्षक राखेर राम्रो तयारी गर्न सके अझै राम्रो हुने उनको जिकिर छ । नेपालमा तेक्वान्दोको राम्रो सम्भावना छ । अझै स्तरीय प्रशिक्षक ल्याएर तयारी गर्दा त्यसले धरै असर पार्छ । वैज्ञानिक तरिकाले अभ्यास गर्नु उपयुक्त रहन्छ । खेल र खेलाडीको विषयमा सानो–ठूलो कमजोरी पहिल्याउँदै प्रशिक्षण गर्न सकियो भने अवश्य पनि सफलता मिल्नेछ,’ जोले भने । 

उनले नेपालको तेक्वान्दोमा पुम्सेको राम्रो सम्भावना भएको बताए । सागमा पनि नेपालले पुम्सेमा राम्रो आधार देखाएको थियो । नेपाललाई ओलम्पिकमा स्वर्ण जित्नसम्म पुगाउने आधार तेक्वान्दो पनि हो । 
तेक्वान्दोमा राम्रो लगानी गर्न सके प्रतिफल पनि छिटै दिने उनको भनाइ छ । उनले सन् २००६ देखि सुरु गरेको पुम्सेले पहिले राम्रो चार्म छोडेको छ । 

‘हामीले पुम्से सुरु गर्दा त्यसलाई प्रतिस्पर्धा नै होइन भन्ने मानसिकता देखेका थियौं । तर, अहिले त्यो परिवर्तन भइसकेको छ । सन् २००६ मा हामीले पुम्से च्याम्पियनसिप भनेर सुरु गरेका थियौँ । अहिले पुम्सेको चर्चा एकदमै राम्रो छ । भलै पुम्से अहिले मल्टि प्रपोज खेलका रुपमा स्थापित भएको छैन,’ जोले भने । 

अफ्रिकन देश नाइजेरिया र कोट डिभोरले ओलम्पिकमा गोल्ड मेडल जितेको उदाहरण दिँदै उनले तेक्वान्दो खेलले ओलम्पिकमा पदक जितेपछि त्यस्तो देशमा तेक्वान्दो निकै फस्टाइरहेको बताए । उनले थपे,‘सिंक्रोनाइज स्विमिङ र बाँकी खेलका ट्यालेन्टहरु छानेर तेक्वान्दो सिकाइरहेका छन् । तेक्वान्दोका खेलाडी तेक्वान्दोमा मात्र हुन्छ भन्ने छैन, अन्य खेलमा पनि भेटिन सक्छन् ।’ 

जोले पछिल्लो समय विश्व तेक्वान्दो लयमा आइरहेको बताए ।  कोरोना महामारीका कारण लामो समय हुन नसकेका प्रतियोगिताहरु पनि हुन थालेकाले टोकियो ओलम्पिक पछि तेक्वान्दोले राम्रो गति लिएको उनको भनाइ छ । कोरोनाबाट कमजोर बनेका खेलाडीहरुलाई पनि आफूहरुले सहयोग गरिरहेका जोले बताए । 

अहिले २१२ सदस्य भएको देशले आधिकरिक रुपमा सदस्यता लिएका छन् । तेक्वान्दो एक उत्कृष्ट ओलम्पिक खेल भएकाले टोकियो ओलम्पिकबाटै तेक्वान्दोले नयाँ आयाम लिएको उनी बताउँछन् । 
पछिल्लो समय तेक्वान्दो पनि विश्व खेलकुदमा चर्चामा आउन सफल खेल भएको बताउँदै दर्शकहरुको रुचिको विषय पनि तेक्वान्दो बन्न सफल भएको जोको दावी छ ।

उनले अहिले पारा तेक्वान्दो ओलम्पिकको तेक्वान्दो भन्दा पनि ठूलो इभेन्ट भएको बताए । सन् २००९ मा समावेस भएको पारा तेक्वान्दोले राम्रो रुप लिएको छ । पारा ओलम्पिकमा पुरुषमा तीन र महिलामा तीन विधा मात्र समावेश भएको र त्यसपछि अहिले आईओसीले यो खेललाई अर्को ओलम्पिकमा पाँच विधामा राख्ने भनेको जोले जनाए । 

नेपाल तेक्वान्दो एसोसियसनमा भइरहेको विवादको विषयमा पनि जोको चासो छ । अहिले नेपालमा तेक्वान्दोका दुई संघ छ । यसरी एकापसमा विवाद गरेर जाँदा तेक्वान्दो विकासको पाटोमा नकारात्मक असर पर्ने भएकाले मिलेर जान सुझाए । 

‘दुई संघ एउटै भएर जाँदा राम्रो हुन्छ । लक्ष्य सबैको तेक्वान्दो विकासको नै हो । मिलेर जाँदा त्यसको प्रभाव नतिजामा पनि पर्छ,’ जोले भने । नेपालले गरेको अन्तर्राष्ट्रिय प्रतियोगिता जो जङवोनलाई स्तरीय लाग्यो । तर तेस्रो सस्ंकरणमा पुगेको प्रतियोगिताले अझै अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता पस्कन बाँकी रहेको सन्देश दिएको उनको भनाइ छ । 

करिव १४ सय जना खेलाडीको सहभागिता रहेको उक्त प्रतियोगितामा खेलाडीहरुको प्रदर्शन जोलाई निकै राम्रो लाग्यो । त्यसमा पनि नेपाली खेलाडीहरुको प्रदर्शनलाई उनले नजिकबाट नियाले ।

‘स्थानीय र घरेलु च्याम्पियनसिपभन्दा अन्तर्राष्ट्रिय प्रतियोगिता धेरै हिसाबले फरक र टफ हुन्छ । मलाई लाग्छ माउन्ट एभरेस्टको स्थानीय आयोजक, स्वयंसेवकले आफ्नो स्तर बढाउन धेरै सिक्न र पढ्न आवश्यक देखिन्छ । यदि तपाईं धेरै खेलाडी र विश्व तेक्वान्दोलाई बोलाउनु हुन्छ भने झनै संवेदनशील हुनुपर्छ,’ जोले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुपेश उपाध्याय
भुपेश उपाध्याय

भुपेश उपाध्याय खेलकुद क्षेत्रमा आफ्नो कलम चलाउँछन् ।

लेखकबाट थप