शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दुर्घटना कम गर्न न्यूनतम समय निर्धारण

बिहीबार, १३ असोज २०७९, २० : ४४
बिहीबार, १३ असोज २०७९

गुल्मीमा सवारी दुर्घटना कम गर्न न्यूनतम समय निर्धारण गरिएको छ । सवारी व्यवस्थापन जिल्ला समिति गुल्मीको आज बसेको बैठकबाट न्यूनतम समय निर्धारण गरिएको हो । चाडपर्वको समयमा सवारी दुर्घटना बढ्न सक्ने भएकाले मदन भण्डारी राजमार्गअन्तर्गत तम्घास–रिडी सडकमा न्यूनतम समय निर्धारण गरिएको समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए ।

सुरक्षा निकायका प्रमुख, यातायात व्यवसायी र पत्रकारको सहभागितामा भएको बैठकले साना र ठूला सवारीसाधनलाई छुट्टाछुट्टै समय निर्धारण गरेको छ । तम्घास–रिडीको लागि साना सवारीको न्यूनतम समय १ घण्टा ३० मिनेट र ठूला सवारीको २ घण्टा समय तोकिएको छ । 

रिडी–तम्घासको लागि साना सवारीको १ घण्टा ४५ मिनेट र ठूला सवारीको २ घण्टा १५ मिनेट समय तोकिएको छ । यो सडकखण्ड ४५ किलोमिटर दुरीको छ । तोकिएको समय सवारी आवतजावतको लागि न्यूनतम हो । उकालो र ओरालोको आधारमा समय छुट्टाछुट्टै निर्धारण भएको हो ।

तोकिएको न्यूनतम समय अगावै सवारी आवतजावत गरेमा कानुनी कारबाही हुने प्रहरी उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिनुभयो । तीव्र गतिका कारणले हुनसक्ने दुर्घटनाप्रति लक्षित गर्दै न्यूनतम समय निर्धारण भएकोले नियम अक्षरशः पालना गर्न रानाभाटले सम्बन्धित पक्षलाई आग्रह गरे । चाडपर्वको क्रममा हुने सवारी दुर्घटना शून्य पार्न सबैले ट्राफिक नियम पालना गर्नुपर्ने जिल्ला ट्राफिक कार्यालयका प्रमुख कृष्णप्रसाद आचार्यले बताए ।  तम्घास–रिडी सडकखण्ड साँघुरो र निकै व्यस्त रहेकाले न्यूनतम समय निर्धारण गरिएको हो । त्योबाहेक गुल्मी अन्तर्गत अन्य सडकखण्डमा समय निर्धारण भएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप