शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विराटनगर महानगरले केबल र नेटका तार व्यवस्थित बनाउने

बिहीबार, १३ असोज २०७९, २० : १६
बिहीबार, १३ असोज २०७९

विराटनगरको सुन्दरताका लागि महानगरपालिकाले केबल र नेटका तार व्यवस्थित बनाउने भएको छ । महानगरले आज केबल र नेट व्यवसायी र प्रतिनिधिलाई बोलाएर पोलमा लत्रिएका तार तत्कालै व्यवस्थित बनाउन निर्देशन दिएको हो । 

महानगर प्रमुख नागेश कोइरालाले विराटनगर सुन्दर, सफा र हराभरा बनाउने दायित्व सबैको भएकाले तार व्यवस्थित बनाउन आग्रह गरे । “हामीले लत्रिएका तार काट्न पनि सक्थ्यौँ, तर एकपटक तपाईहरुलाई आग्रह गरौँ भनेर हामीले बोलाएका हौँ”,  प्रमुख कोइरालाले भने, “तपाईहरुले जतिसक्दो तारको व्यवस्थापन गर्नुस् नभए हामीले तार काट्छौँ ।” 

जताततै बिजुलीको खम्बामा तार झुण्डिएको र यसले सहरको सुन्दरता मात्र होइन कहिलेकाहिँ आगलागीको समस्या देखिने गरेकाले यसलाई व्यवस्थित गर्न प्रमुख कोइरालाले आग्रह गरे । जथाभावी लत्रिएका तार सहजीकरण गर्न तथा सहयोग गर्न महानगरले सक्दो सहयोग गर्ने र यसका लागि इञ्जिनीयर अनिल सिंहलाई महानगरको तर्फबाट जिम्मेवारी तोकिएको हो ।

 पहिलो चरणमा सहरका मुख्य क्षेत्रका तार व्यवस्थित गर्ने गरी काम गर्न प्रमुख कोइरालाले निर्देशन दिँदै भने, “विराटनगरलाई सुन्दर, सफा र व्यवस्थित गर्ने विषयमा कसैसित पनि सम्झौता हुँदैन, कम्तीमा कात्तिक मसान्तभित्र बजार क्षेत्रका तार व्यवस्थित गरिसक्नुहोस् ।”
 
महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले कर सङ्कलनका लागि महानगर निर्मम तरिकाले लाग्ने बताए । महानगरको आन्तरिक आम्दानी नबढाएसम्म विकासले गति लिन नसक्ने उनको भनाइ थियो ।

वर्डलिङ्क, म्याक्स, क्लासिटेक, सुविसु, भायानेट, कनेक्टलगायतका प्रतिनिधिलाई बोलाएर महानगरले छलफल गरेको हो । महानगरभित्र पोलमा रहेका ६० प्रतिशत तार काम नलाग्ने रहेको बताइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप