शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पुटिनले चार युक्रेनी क्षेत्रहरू रुसमा गाभ्ने सम्झौतामा हस्ताक्षर गर्ने

बिहीबार, १३ असोज २०७९, २० : १५
बिहीबार, १३ असोज २०७९

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार चार युक्रेनी क्षेत्रहरू रुसी महासंघमा समाहित गर्ने एक सम्झौतामा हस्ताक्षर गर्ने क्रेमलिनले बिहीबार बताएको छ । रुसी राष्ट्रपति कार्यालय क्रेमलिनका प्रवक्ता दिमित्री पेश्कोले हस्ताक्षरको समयमा पुटिनले सम्बोधन गर्ने पनि बताए । युक्रेन र उसका पश्चिमी मित्रराष्ट्रहरूले भने चार युक्रेनी क्षेत्रमा गरिएको जनमत–सङ्ग्रह र त्यसपछि रुसमा ती भूमिको विलयलाई नमान्ने बताएका छन् ।

क्रेमलिनले नियन्त्रित युक्रेनी भूमिको विलय कार्यक्रम अघि मस्कोको चर्चित रेड स्क्वायरमा ठूला बिलबोर्ड र विशाल भिडियो स्क्रिन राखिएको छ । साथै शुक्रबार त्यसअघिको सडक बन्द हुने सूचना जारी गरिएको छ । ​बिलबोर्डहरूमा लेखिएको छ –‘डोनेत्स्क, लुहान्स्क, जापोरिझिया, खेरसन – रूस !’ ती चार दक्षिणी तथा पूर्वी युक्रेनी क्षेत्रहरूमा गत साता रुसी अधिकारीहरूले जनमत–सङ्ग्रह गराएका थिए ।  

सरकारी मिडियाले यसलाई ‘जनमत सङ्ग्रहको नतिजाको समर्थन’मा निस्कन सक्ने र्‍याली र कन्सर्टको तयारीको रूपमा वर्णन गरेको छन् । रुसी अधिकारीहरूले यी कब्जामा लिइएका भूमिको सुरक्षाको लागि आणविक हतियारको प्रयोगको सम्भावनातर्फ पनि सङ्केत गरेका छन् । 

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार रुसी कदमको निन्दा गर्दै आफूहरूले बलियो अन्तर्राष्ट्रिय प्रतिक्रियाको लागि विदेशी नेताहरूसँग काम गरिरहेको बताए । सबै चार क्षेत्रहरू आंशिक रूपमा रुसी सेनाले ओगटेका छन् । र पछिल्लो समय क्रेमलिनले युक्रेनी प्रत्याक्रमणमा हार बेहोर्न थालेपछि हतारमा ती क्षेत्रमा जनमत सङ्ग्रह गराइएको पश्चिमले आरोप लगाएको छ । 

विलयको प्रक्रिया अन्तरगत ती क्षेत्रहरूमा रुसले चयन गरेका नेताहरूले शुक्रबार मस्कोमा गएर रुसी महासंघमा विलय गराउने सम्झौतामा हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ । 

त्यसपछि संवैधानिक अदालतले ती सम्झौताहरू अनुमोदन गर्नुपर्नेछ । संवैधानिक अदालतलाई क्रेमलिनको रबर स्ट्याम्प मानिने भएकाले यो सहजै पुरा हुने अपेक्षा छ । र तिनीहरूलाई रुसको संसद्को दुवै सदनले उक्त सम्झौतालाई अनुमोदन गर्नेछ । 

संसद्को दुवै सदनबाट अनुमोदन भएपछि पुन पुटिनले उक्त सम्झौतालाई कानुनको रूपमा हस्ताक्षर गर्नेछन् । रुसको तल्लो सदनका सभामुख भ्याचेस्ला भोलोदिनले गत बुधबार विलयलाई अनुमोदन गराउन संसद्को विशेष सत्र सोमबार र मंगलबार बस्ने बताएका छन् । 

द न्युयोर्क टाईम्स

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप