बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अशोक गहलोतले गरे भारतीय कांग्रेसको अध्यक्ष पद नलड्ने घोषणा

बिहीबार, १३ असोज २०७९, १९ : ३५
बिहीबार, १३ असोज २०७९

भारतीय राष्ट्रिय कंग्रेसभित्रको विवादले सो पार्टीको राष्ट्रिय नेतृत्व चयनमा पनि असर गरेको छ । राजस्थान कांग्रेसभित्र राजनीतिक संघर्षका कारण राज्यका मुख्यमन्त्री शोक गहलोत कंग्रेस अध्यक्ष पदमा नलड्ने घोषणा गरेका छन् ।

यही विवाद मिलाउन राज्यका मुख्यमन्त्री अशोक गहलोत बुधबार साँझ दिल्ली पुगेका छन् । बिहीबार उनले पार्टी प्रमुख सोनिया गान्धीसँग भेट गरे । राजस्थान कंग्रेसभित्र गहलोतका प्रतिद्वन्द्वी मानिने सचिन पायलट पनि दिल्लीमै छन् ।

कांग्रेस पार्टीको आगामी अध्यक्ष बन्ने दौडमा अग्रस्थानमा रहेका गहलोतले सोनिया गान्धीसँग भेटपछि कांग्रेस अध्यक्षको निर्वाचनमा आफू नउड्ने घोषणा गरे । उनी कंग्रेसभित्रको शक्तिशाली गान्धी परिवार नजिक मानिने भएकाले बलियो प्रतिस्पर्धीका रुपमा हेरिएका थिए ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अशोक गहलोतले भने ,‘ पछिल्ला दिनका घटनाले हामी सबैलाई हल्लाएको छ । म मुख्यमन्त्री पदमा टासिरहन चाहन्छु भन्ने सन्देश देशभर गएको छ । यसबाट म कति दुःखी छु त्यो मलाई मात्रै थाहा छ । मैले सोनिया जीसँग माफी पनि मागेको छु, किनभने मैले एक लाइनको प्रस्ताव पारित गराउन सकिन । म जीवनभर यसबाट दुखी रहनेछु ।

अध्यक्ष पदको उम्मेदवारीबारे पत्रकारको प्रश्नमा बोल्दै उनले भने ,‘अहिलेको परिवेशमा उम्मेदवारी नदिने निर्णय गरेको छु । यही मेरो निर्णय हो ।’ पत्रकारहरूले राजस्थानको मुख्यमन्त्री बनिरहने की छाड्ने भन्ने प्रश्नमा गहलोतले आफू मुख्यमन्त्री बनिरहने वा नरहने निर्णय कंग्रेसकी वर्तमान अध्यक्ष सोनिया गान्धीले गर्ने बताए ।

कांग्रेसले उदयपुर चिन्तन शिविरमा एक व्यक्ति, एक पद सम्बन्धि संकल्प पत्र पारित गरेको थियो । तर पार्टी अध्यक्ष पदमा उठ्नको लागि अशोक गहलोतले मुख्यमन्त्रीको कुर्सी छोड्न चाहेनन् वा प्रतिद्वन्दी सचिन पायलटलाई दिन चाहेनन् ।

गहलोतले यो निर्णय लिनुपर्ने अवस्था कसरी आयो ?

गत हप्ता आइतबार अशोक गहलोतको निवासमा कंग्रेसको विधायक दलको बैठक बोलाइएको थियो । राज्यसभाका कांग्रेस नेता मल्लिकार्जुन खर्गे र कांग्रेस महासचिव अजय माकन यस बैठकमा भाग लिन दिल्लीबाट पर्यवेक्षकको रूपमा जयपुर पुगेका थिए । यही बैठकमा राजस्थानको नयाँ नेतृत्वबारे छलफल हुने कुरा थियो ।

तर त्यसअघि विधायकहरू गहलोतका विश्वासपात्र मन्त्री शान्ति धारिवालको निवासमा जान थाले । गहलोतको सहरमा संसदीय मामिला मन्त्री रहेका शान्ति धारिवाल गहलोतले आफूहरुको पक्षका ९० भन्दा बढी विधायक उनको घर पुगेको दावी गरेका छन् ।

शान्ति धारिवालको घरमा भेला भएपछि यी विधायकहरूले राजस्थान विधानसभाका अध्यक्ष सीपी जोशीको निवासमा पुगेर राजीनामा बुझाएका थिए । शान्ति धारिवालले कंग्रेस महासचिव अजय माकनले सचिन पायलटलाई राज्यको नेतृत्व दिने पक्षमा रहेको र विधायकहरु त्यसमा सहमत नरहेको बताए ।

यसपछि दिल्ली फर्किएका अज माकन र मल्लिकार्जुन खर्गेले सोनिया गान्धीलाई यस विषयको प्रतिवेदन बुझाए । सो प्रतिवेदनको आधारमा पार्टीले राजस्थान विधान सभाका कांग्रेसका प्रमुख सचेतक शान्ति धारिवाल, राजस्थान पर्यटन विकास निगमका अध्यक्ष धर्मेन्द्र राठौरविरुद्ध कारण देखाउ नोटिस जारी गरेको छ । उनीहरुलाई १० दिनभित्र जवाफ दिन भनिएको छ ।

रिपोर्टमा अशोक गहलोतबारे केही भनिएको छैन । तर अशोक गहलोत यी घटनाक्रमबाट कसरी बेखबर रहन सक्थे भन्ने प्रश्न धेरैले गरिरहेका छन् ।  किनकि कारण देखाउ नोटिस दिइएका तीनै नेता गहलोतप्रति वफादार छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप