शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

काभ्रेमा सिट बाँडफाँट : कांग्रेस असन्तुष्ट, समाजवादीलाई प्रदेशमा आश

बिहीबार, १३ असोज २०७९, १८ : ३०
बिहीबार, १३ असोज २०७९

सत्तारुढ गठबन्धनबीच प्रतिनिधिसभातर्फ काभ्रेका दुई निर्वाचन क्षेत्रमा एउटा निर्वाचन क्षेत्र कांग्रेसले र एउटा निर्वाचन क्षेत्र नेकपा माओवादी केन्द्रले पाउने भएको छ । गठबन्धनमा भागबण्डा गर्दा विगतको निर्वाचनको आधारमा मात्र हेरेको र वर्तमान अवस्थाको प्रभावलाई बेवास्ता गरेको प्रतिक्रिया नेपाली कांग्रेसले दिएको छ । उता नेकपा एकीकृत समाजवादीले पनि प्रदेशमा २ सिट नपाए अन्याय हुने बताएको छ ।

नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामाले सत्ता गठबन्धनमा भागबण्डा हुँदा विगतको निर्वाचनको नतिजा कै आधारमा जितेको क्षेत्रमा चुनाव लड्न अवसर पाएको र कांग्रेसले एउटा क्षेत्र गुमाउनु परेको बताए । उनले केन्द्रले गरेको निर्णय सबैले स्वीकार गर्नुको विकल्प नरहेको तर केन्द्रले पनि एक पटक तल्लो तहको प्रभावलाई पुनर्विचार गर्नुपर्ने बताए ।

‘२०७४ को निर्वाचनमा जसले जितेको हो, उसैलाई सो क्षेत्र दिने भागबण्डाको सैद्धान्तिक खाकाका आधारमा नै गठबन्धनको बैठकमा सहमति भएको हो,’ उनले भने, ‘अझै पनि केही समय बाँकी नै रहेको छ । यो अन्तिम निर्णय होइन । काभ्रेमा कांग्रेस बलियो शक्ति हो । त्यसैले काभ्रे–१ मा पनि भाग पाउनुपर्छ भन्ने हाम्रो माग हो ।’ उनका अनुसार काभ्रेमा माओवादी केन्द्र तेस्रो शक्ति भएकाले प्रतिनिधिसभामा कांग्रेसलाई सघाउँदा नै उत्तम हुने थियो ।

यता नेकपा माओवादी केन्द्र काभ्रेका जिल्ला समन्वय समितिका संयोजक भोला अर्याल केन्द्रीय नेतृत्वले गठबन्धनको आधिकारिक निर्णय सर्कुलर नगरेको अवस्थामा आगामी विषयहरूमा चर्चा गर्नु उचित नहुने बताए । उनले केन्द्रीय गठबन्धनले मिडियामा आए जस्तै काभ्रेको २ क्षेत्र मध्ये एउटामा माओवादी केन्द्र र एउटामा कांग्रेसले भाग पाउने निर्णय गरेको खण्डमा आफूहरू सकारात्मक रहेको बताए । तर, दुवै दलले एउटै क्षेत्रमा दाबी गरिरहेको अवस्थामा भने समस्या हुने देखिने उनको भनाई छ ।

‘हामीले गठबन्धन गर्ने भनेर नै सबै प्रक्रिया टुङ्ग्याएका छौँ । अब कसैको पक्षमा भाग आयो आएन भन्दा पनि आगामी निर्वाचनमा सफल हुने बाटो पहिल्याउनु मुख्य विषय हो,’ उनले भने, ‘केन्द्रीय निर्णय मिडियामा आए जस्तै हो भने त्यसलाई सबैले स्वीकार गरेर अघि बढ्नुपर्छ । यसमा कसैले पायो, पाएन भन्दा पनि गठबन्धनको मर्मको विषय नै मुख्य हो ।’

एकीकृत समाजवादी बागमती प्रदेशका सचिव लक्ष्मण लम्सालले संघमा अवसर नपाए पनि प्रदेशमा २ सिट प्राप्त गरे मात्र आफूहरूलाई अन्याय नहुने बताए । उनले संघमा भागबण्डा टुङ्गिए पनि प्रदेशसभा बारेमा छलफल जारी रहेकाले आगामी विषय बारे थप छलफल हुन बाँकी नै रहेको बताए ।

गठबन्धनमा आबद्ध भएपछि केन्द्रको निर्णय मान्दिनँ भन्न नहुने उनको भनाई छ । उनले केन्द्रले गरेको भागबण्डालाई आफूहरूले सकारात्मक रूपमा लिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप