बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

‘स्वतन्त्रको नाममा दल खडा गरेर भ्रम सृजना गरियो’

बिहीबार, १३ असोज २०७९, १६ : ४८
बिहीबार, १३ असोज २०७९

स्वतन्त्र उम्मेदवारहरूले विभिन्न दल गठन गरेर स्वतन्त्र अभियानविरुद्ध षड्यन्त्र भइरहेको बताएका छन् । उनीहरूले वास्तविक स्वतन्त्र अभियानकर्ताहरूले देशमा असफल भइसकेका संघीयता र समानुपातिक निर्वाचन प्रणाली खारेजीको एजेन्डा बोकेपछि आत्तिएकाहरूले स्वतन्त्र नाम लिनेदेखि विगतमा स्वतन्त्रको चिन्ह योजनाबद्ध तरिकाले हडप्ने गतिविधि गरेको भन्दै आपत्ति जनाए । 

बिहीबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा स्वतन्त्र नागरिक सञ्जालका संयोजक दिनेश सुवेदीले स्वतन्त्रको नामलाई नकारात्मक असर पार्ने गरी भएका गतिविधिप्रति आपत्ति जनाए । उनले दल दर्ता गरेर उनीहरूको चुनाव चिन्ह लिनेहरू स्वतन्त्र हुन नसक्ने बताए । 

सुवेदीले अहिले भएका राजनीतिक दलहरूले सही बाटो नहिँडेको टिप्पणी गरे । समानुपातिक निर्वाचन प्रणालीबाट सबैलाई राज्यको मूलधारमा ल्याउन खोजिएको भए पनि उक्त प्रणालीले करोडौँ रुपैयाँको चलखेल सुरु गरेको उनले आरोप लगाए । उनले स्वतन्त्रहरूले समानुपातिक प्रणालीहरू सुधार गर्न चाहेको स्पष्ट पारे । प्रदेश संरचनाको कारण जनतामा व्यापक वितृष्णा भएको भन्दै उनले यसले मुलुक अधोगतितिर जाने निश्चित भएको बताए । 

ललितपुर क्षेत्र नं २ का प्रतिनिधि सभाका स्वतन्त्र उम्मेदवार घोषणा गरेका डा. दीपेश केसीले स्वतन्त्रको नाममा दल गठन गरेर स्वतन्त्रको अस्तित्व समाप्त पार्न खोजिएको बताए । स्वतन्त्र अभियान र आन्दोलनविरुद्ध सबै एकजुट हुनुपर्नेमा उनको जोड थियो । केसीले स्वतन्त्र र दलीय उम्मेदवार चिन्न र सचेत हुन सबैलाई आग्रह गरे । उनले यो षड्यन्त्रलाई चिर्दै अघि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको बताए । 

काठमाडौँ–९ बाट उम्मेदवारी दिन लागेका स्वतन्त्र उम्मेदवार डा.ज्ञान बस्नेतले प्रजातन्त्र आएको ३० वर्ष पुगे पनि उपलब्धि जिरो भएको उनले टिप्पणी गरे । 

स्वतन्त्र उम्मेदवार सिद्धान्त राईले देशमा सीमित व्यक्तिहरूले मात्र हालीमुहाली गरिरहेको बताए । सोही सीमित वर्ग र जातिका व्यक्तिबाट राष्ट्रलाई मुक्ति दिलाउने उद्देश्यले स्वतन्त्र उम्मेदवारी दिने स्पष्ट पारे ।

स्वतन्त्र उम्मेदवार इन्जिनियर आर.पी. महतोले देशको अवस्था बिग्रिएको भन्दै स्वतन्त्र नागरिकहरूले सशक्त रूपमा बढेको बताए । देशलाई बिगार्नेको विरुद्ध निस्किएको वैकल्पिक शक्ति स्वतन्त्र भएको बताए । परिवर्तन ल्याउने शक्ति नै स्वतन्त्र भएको स्पष्ट पारे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप