मधेश प्रदेश

आसन्न निर्वाचन, काँग्रेसको कार्यभार र चुनौती

person explore access_timeअसोज १३, २०७९ chat_bubble_outline0

प्रतिनिधि तथा प्रदेश सभा सदस्यका लागि निर्वाचन तय गरिएको मंसिर ४ गतेको मिति नजिकिदै छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन र बहुदलीय व्यवस्था भएको हाम्रो मुलुकमा आफूले रोजेको, खोजेको दल र जनप्रतिनिधि चुन्नका लागि मताधिकार प्रयोग गर्न पाउनु हरेक बालिक नागरिकको नैसर्गिक अधिकार हो ।


नेपालीहरुको महान चाड दसैं, तिहार, छठको आगमनसँगै मुलुकमा निर्वाचनले सरगर्मी निकै बढिरहेको छ । सत्तारुढ पाँच दलीय गठबन्धन कार्यदलले करिब दुई महिना बित्नै लाग्दा पनि सिट बाँडफाँटको अझै टुंगो लगाउन सकेको छैन । काँग्रेसले सयको हाराहारीमा सिट लिनुपर्ने नेता कार्यकर्ताहरुको व्यापक जनदबाब रहेको छ ।



उता गठबन्धनमा रहेका दलहरुले आ–आफ्नै अडानमा रहँदै खोजेअनुसार सम्मानजनक सिट नपाए गठबन्धनबाट अलग हुने घुर्कीले गर्दा सिट बाँडफाँट कार्य निकै पेचिलो र चुनौतीपूर्ण रहेको देखिन्छ । त्यसैले शीर्ष नेतृत्वपंक्ति बडो सुझबुझ बुद्धिमतापूर्ण आफ्ना नेता कार्यकर्ताहरूको भविष्यलाई केन्द्रबिन्दु बनाई निर्णय लिन आवश्यक देखिन्छ ।



सत्ता गठबन्धनको नेतृत्व गरेको र प्रमुख राजनीतिक दल नेपाली काँग्रेसले समानुपातिक निर्वाचनका लागि निर्वाचन आयोगमा बन्दसूची पेश गरेपछि नेतृत्वपंक्ति र नेता कार्यकर्तामाझ व्यापक असन्तुष्टि, असहमति एवं अन्तरविरोधहरु सतहमा छताछुल्ल भएका छन् ।

यस सम्बन्धमा इतर पक्षले सम्मानजनक एवं न्यायोचित बन्दसूची भएन भनेर शीर्ष नेतृत्वलाई सच्याउनको लागि जनदबाद, खबरदारी, धर्ना कार्यक्रमसमेत गर्दै आएको छ । पार्टीको शीर्ष नेतृत्वले उत्पन्न भएको समस्या एवं अन्तर बिरोधलाई समयमा समाधान गर्न जरुरी छ ।

समानुपातिकको बन्दसूचीमै यति धेरै असन्तुष्टी र असहमति छ भने अझै प्रत्यक्ष तर्फको सिट बाँडफाँट गर्दा के अवस्था आउला सजिलै अनुमान गर्न सकिन्छ । यसर्थ पार्टी भित्रको आन्तरिक मामिलाप्रति नेतृत्वपंक्ति संवेदनशील बन्दै पार्टीको विधिविधान, समय, परिस्थिति, अवस्थाको विश्लेषण गर्दै जनचाहना अनुसार प्रत्यक्ष र समानुपातिक तर्फको उम्मेदवारको टिकट वितरण न्यायोचित एवं सम्मानजनक तवरबाट गर्न आवश्यक छ । यदि काँग्रेस आन्तरिक समस्यालाई नजरअन्दाज नगरी निर्वाचनमा होमिए ठूलै क्षति बेहोर्नु पर्ने अवस्था सिर्जना हुँदैछ ।

नेपालको हरेक राजनीतिक परिवर्तन एवं अधिकारका लागि भएको जनआन्दोलन संघर्षको नेतृत्वदायी भूमिका खेल्दै लामो राजनीतिक विरासत बोकेको काँग्रेस गठबन्धनको लेप लगाई निर्वाचनमा होमिनै लागेको अवस्थामा गठबन्धन र पार्टीको नेता कार्यकर्ताहरुको भविष्यप्रति चिन्ता चासो राख्दै नेता कार्यकर्ताहरुबाट चौतर्फी सवालहरु उठिरहेका छन् । यसर्थ आसन्न निर्वाचनमा गठबन्धनमार्फत् निर्वाचनमा जानुको कारण, औचित्य, बाध्यता, उद्देश्य र यसबाट उत्पन्न हुने सक्ने परिस्थिति, अवस्था एवं चुनौतीको बारेमा काँग्रेसजनलाई स्पष्ट पार्न आवश्यक देखिन्छ ।

२०७४ को संसदीय निर्वाचनमा बाम गठबन्धनका कारण ६३ सिटमा खुम्चिएको नेपाली काँग्रेस २०७९ को स्थानीय निर्वाचनमा ३३१ स्थानमा पहिलो स्थान हासिल गरी सांगठनिक बढोत्तरी गर्दा सबै नेता कार्यकर्ता शुभचिन्तक हरुमा निकै उर्जा, उत्साह उमंग बढेको छ ।

स्थानीय निर्वाचनको मत परिणामले काँग्रेसको सांगठनिक एवं राजनीतिक जीवनमा निकै सुधार भएकोले हौसिँदै काँग्रेस गठबन्धन नगरी एक्लै निर्वाचनमा होमिनुपर्छ भन्ने अधिकांश नेता कार्यकर्ताहरुको चाहना र माग थियो । तर, शीर्ष नेताहरुले ती चाहना र मागलाई वेवास्ता गर्दै गठबन्धन गरी निर्वाचनमा जाने निर्णय बाध्यात्मक बनाइएको अवस्था छ ।

पाँच दलीय सत्ता गठबन्धनमा रहेका नेपाली काँग्रेस, नेकपा माओवादी (केन्द्र), नेकपा (एकीकृत समाजवादी) जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको राजनीतिक, सैद्धान्तिक एवं वैचारिक रुपमा विश्लेषण गर्दा न ‘केमेस्ट्री’ मिल्छ, न ‘कम्पोजिशन’, न त राजनीति गन्तव्य नै मिल्छ ।

लोकतान्त्रिक संघीय समाजवाद अंगिकार गर्ने काँग्रेस र उपेन्द्र यादवको जसपासहित चित्र बहादुर केसीको संघीयता विरोधीदेखि, साम्यवादी व्यवस्था स्थापनाका लागि उद्दत् प्रचण्ड र माधवको नेतृत्वमा रहेको कम्युनिष्ट पार्टीहरु सम्मिलित रहेको गठबन्धनको यात्रा कति लामो हुने हो त्यो हेर्नै बाँकी छ ।

राजनीतिक सिद्धान्त, विचार, आस्थाका आधारमा पानी र तेलजस्तै फरक रहेको पाँच दलीय गठबन्धनमा रहेका राजनीतिक दलहरु संयुक्त निर्वाचनमा जाँदा गठबन्धन गर्नुपर्ने कारण, अवस्था, औचित्य एवं उद्देश्यबारे जनतासमक्ष स्पष्ट पार्दै मतका लागि सामूहिक अपील गर्न जरुरी देखिन्छ ।

लाखौं लाख नेता कार्यकर्ता रहेको नेपाली काँग्रेस एक्लै निर्वाचनमा भाग लिँदा नेता कार्यकर्ताहरूलाई समुचित टिकट बाँडफाँटसहित व्यवस्थापन गर्न सहज हुन्छ । अहिले गठबन्धनमा छुट्याइएको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन क्षेत्रको सीमित सिटमा आफ्ना पार्टीका आकांक्षी उम्मेदवारहरूलाई कसरी व्यवस्थापन गर्ने काँग्रेसको लागि निकै जटिल एवं चुनौतीपूर्ण कार्य रहेको छ । अझै पार्टीभित्र संस्थापन र इतर पक्ष बीचको अन्तरद्वन्द्व र टिकट वितरणमा उत्पन्न भएको असन्तुष्टि एवं असहमति समाधान नगरी निर्वाचनमा होमिए काँग्रेसको भविष्य कहाँ पुग्ने हो नेता कार्यकर्ताहरूमा सर्वत्र चिन्ता, चासो भइरहेको छ ।

गठबन्धन गरी निर्वाचनमा जाँदा काँग्रेसका धेरै नेता कार्यकर्ताहरु उम्मेदवार हुन र सुनौलो राजनीतिक अवसर गुमाउनु पर्ने अवस्था सिर्जना हुँदैछ । यसका लागि काँग्रेसले आफ्ना नेता कार्यकर्ताहरुको राजनीतिक भविष्य सुनिश्चित गर्न उनीहरुको विश्वासको आधार स्तम्भ बनी व्यवस्थापन गर्नका लागि दीर्घकालीन सोच, योजना, रणनीति बनाउन जरुरी देखिन्छ । यदि काँग्रेसले यसको सुनिश्चितता नगरी गठबन्धनको निर्णय जबरजस्ती लड्ने हो भने पार्टीका नेता कार्यकर्ता शुभचिन्तक, मतदाताहरुले आफ्नो दलबाहेक अन्य दलका उम्मेदवारहरुलाई भोट दिएर विजयी गराउन बाध्य नहुने खतरनाक परिस्थिति सिर्जना हुने पनि देखिन्छ ।

हालैको स्थानीय निर्वाचनमा पनि गठबन्धन बीच नै कही आंशिक तालमेल गरी, कही मित्रवत स्वच्छ प्रतिस्पर्धा गरी निर्वाचनमा भाग लिएको नजिर हामी संगै छ । अहिले पनि गठबन्धनबीच सतप्रतिशत सिट बाँडफाँट सहमति हुन नसके स्थानीय निर्वाचनजस्तै नहोला भन्न सकिन्न ।

गठबन्धनमा आवद्ध दलबीच सिट बाँडफाँट गर्दा २०७४ को निर्वाचनमा जुन दल जहाँ विजयी भएको छ, त्यही स्थानलाई सोही दलले लिने दावीको प्रमुख आधार गठबन्धन कार्यदलले बनाएको छ । यसैलाई आधार मानी मानौं बर्दिया जिल्लाको क्षेत्र न. २ प्रतिनिधि तथा प्रदेश सभा दुबैमा नेकपा माओवादी (केन्द्र) जितेको अवस्था छ । यही अनुरुप विजेता दललाई नै अहिलेको निर्वाचनमा दुबै सदनमा उम्मेदवारीको टिकट भाग पाउने हो भने काँग्रेस समर्थक आस्थावान मतदाताहरू कसरी बाध्यात्मक रुपमा भोट हाल्छन् ? यो गम्भीर सोचनीय सवाल हो ।

यसर्थ प्रतिनिधि सभाको १६५ निर्वाचन क्षेत्र तथा प्रदेश सभाको ३३० क्षेत्रमा एक अर्को दललाई क्रस हुने गरी पार्टी संगठन, स्थानीय निर्वाचन मत परिणाम, वस्तुगत अवस्था दृष्टिगत गरी समुचित सिट बाँडफाँट गरिनुपर्छ । यसप्रति गठबन्धनका शीर्ष नेताहरुले ध्यान केन्द्रीत गर्न जरुरी छ ।

सत्तारुद्ध गठबन्धनले सिट बाँडफाँटको आधारमा तालमेल गर्दै आसन्न निर्वाचनमा जाने भएकोले गठबन्धन दलमा आवद्ध रहेका दलहरुबीच भएका सहमति विपरीत वा प्रतिकूल हुने गरी कुनै पनि कार्य नगर्न नगराउन सबै दलको तहगत संगठनमा परिपत्र सर्कुलर गरी आन्तरिक प्रयोजनका लागि आचारसंहितासमेत बनाई कार्यान्वयन गर्न जरुरी छ ।

गठबन्धनमा रहेका दलहरुले एक अर्कालाई सहयोग गर्ने र मत दिने वातावरण कसरी बनाउन सकिन्छ ? यसबारे निर्वाचन प्रचार प्रसार संयुक्त रुपमा गर्नका लागि तयारी बैठक, विभिन्न चुनावी साझा अभियान, कार्यक्रमसहित कार्यविधिहरु बनाउन आवश्यक कार्यभार देखिन्छ ।

त्यसै गरी गठबन्धनको सिट बाँडफाँटको गणितीय आधार हेर्दा निर्वाचन परिणाम पश्चात कुनै पनि दलले सरकार बनाउन संविधानमा भएको व्यवस्था अनुसार स्पष्ट बहुमत ल्याउन सक्ने अवस्था देखिदैन । यसर्थ निर्वाचनपश्चात संयुक्त गठबन्धनीय सरकार के कसरी बनाउने ? के कसरी सञ्चालन गर्ने ? सरकारको नीति तथा कार्यक्रम एवं विकासका योजना के कस्तो रहने ? आदि विषय समेटेर साझा प्रतिवद्धता एवं निर्वाचन घोषणापत्र निर्माण गर्न जरुरी देखिन्छ । तर गठबन्धनमा रहेका दलहरु आ–आफ्नै छुट्टा छुट्टै निर्वाचन घोषणा पत्र बनाई रहेका छन् । यसर्थ अलग अलग घोषणापत्र भन्दा पनि गठबन्धनको साझा प्रतिवद्धता पत्र बनाउँदा चुनावी प्रचार प्रसारमा जनताका बीचमा गठबन्धनप्रति विश्वसनीयता बढ्ने थियो ।

गठबन्धनको सिट बाँडफाँटमा ढिलासुस्ती हुँदै गएकोले कहाँ, कुन दल, कुन नेताले पाउने हो ? टुंगो लागि नसक्दा अहिले काँग्रेसको सांगठनिक जीवनमा नेता कार्यकर्ताहरुबीच सक्रियतामा ह्रास ल्याएको छ । स्थानीय निर्वाचनपश्चात पलाएको जोश जाँगर उत्साह, उमंग सेलाउदै गएको छ ।

काँग्रेसको केन्द्र, प्रदेश, जिल्ला, क्षेत्र, नगर, गाउँ टोलसम्म बिस्तार भएको संगठनका नेता, कार्यकर्ताहरुलाई चलायमान बनाउँदै जनताका बीच जान अल्छी बनाएको छ । उत्पन्न भएका यी सबै समस्यालाई काँग्रेसले सही ढंगले सही समयमा समाधान गर्न आवश्यक योजना रणनीति सहितको चुनावी कार्यक्रम बनाउन आवश्यक छ ।

समानुपातिकको बन्दसूची निर्वाचन आयोगमा बुझाई सकेपछि ह्वात्तै बढेर गएको असन्तुष्टिलाई समयमा सम्बोधन गरिनुपर्छ । पार्टीभित्र मौलाउँदै गएको चाकरी, चाप्लुसी, खुरापाती, चम्चेहरुको गणेश परिक्रमा गर्ने गलत प्रवृत्ति, संस्कार र कार्य गतिविधिले पार्टीको आन्तरिक मामिलामा दखल पु-याउँदैछ । कतिपय नेतृत्व पंक्तिबाटै पक्षपातपूर्ण एवं निषेधको राजनीति हावी हुँदै गइरहेको छ । एकापसमा आरोप प्रत्यारोप गर्दै सभा सम्मेलन र मञ्‍चबाटै धारे हात लगाउदै जाँदा कदापी हितकर हुन सक्दैन । एक अर्काको अस्तित्वलाई स्वीकार्न नसक्ने राजनीतिक संस्कार र कार्यशैलीले अन्तत्वगत्वा काँग्रेसलाई कहाँ पु¥याउँछ सबैले सोच्नुपर्ने विषय हो ।

आसन्न निर्वाचनमा काँग्रेसले टिकट वितरण गर्दा आग्रह पूर्वाग्रह गर्दै तेरो र मेरो होइन, संस्थापन र इतर पक्ष भनेर होइन । नातावाद, कृपावाद, फरियावाद, धनवाद, दनवाद, भन्दा माथि उठी निष्ठा, त्याग, असल, इमानदारिताको राजनीति गर्ने, सक्रिय, जुझारु, जनप्रेमी नेताहरुलाई उम्मेदवार बनाउनु पर्छ । टिकट वितरण गर्दा नेताको निगाह, खल्ती र तोकतन्त्रबाट होइन, संविधान र लोकतन्त्र एवं समावेशिताको मूल मर्म, भावना एवं पार्टीको विधान अनुरुप समावेशी सिद्धान्तका आधारमा न्यायोचित एवं सम्मानजनक टिकट दिनुपर्छ । विडम्बना टिकट वितरणमा पार्टीको नेतृत्वपंक्ति चुकिरहेको भान हुन्छ ।

काँग्रेसले प्रतिनिधि तथा प्रदेश सभाको (प्रत्यक्ष र समानुपातिक तर्फ) न्यायोचित टिकट वितरण तथा आंकाक्षी उम्मेदवार नेता कार्यकर्ताहरुको समुचित व्यवस्थापन गर्न नसक्ने हो भने थुप्रै चुनौती सामना गर्नुपर्ने अवस्था सिर्जना हुँदैछ ।

दुबै सभाका लागि देशैभरीबाट काँग्रेसको करिब साढे सात हजार आकांक्षी उम्मेदवारहरुको नामावली सिफारिस भई आएको छ । आकांक्षी उम्मेदवारहरुलाई न्यायोचित एवं सम्मानजनक तवरबाट व्यवस्थापन गर्न सक्ने हो भने काँग्रेसका लागि सुन्दर राजनीतिक अवसर रहेको छ । तर गठबन्धनको निर्णयअनुसार प्राप्त सिटमा काँग्रेसको आकांक्षी उम्मेदवारहरूलाई व्यवस्थापन गर्न फलामको चिउरा चपाउनु जस्तै रहेको छ ।

टिकट नपाएका धेरै उम्मेदवारसहित नेता कार्यकर्ताहरुको चित्त बुझाई थामथुम गर्न पनि उत्तिकै गाह्रो हुने परिस्थिति सिर्जना हुने देखिन्छ । स्थानीय निर्वाचनमा झैं स्वतन्त्र उम्मेदवारको असर र प्रभाव यस निर्वाचनमा पनि प्रवल रुपले पर्ने निश्चित छ ।

अर्कोतर्फ गठबन्धन बाहिर रहेका नेकपा एमाले, राप्रपा लगायत क्षेत्रिय भेगीय रुपमा जन्मेका राजनीतिक दलहरूको सामना पनि निकै जोडतोडले गर्नुपर्ने अवस्था छ । काँग्रेसका नेता कार्यकर्ताहरूले चाहे, खोजेजस्तो उम्मेदवार र गठबन्धनले समुचित सिट बाँडफाँट गर्न नसके काँग्रेस समर्थक आममतदाताहरु असन्तुष्ट भई मत ‘डाइभर्ट’ गर्न सक्ने खतरा पनि उत्तिकै छ ।

यसर्थ नेपाली काँग्रेसले आसन्न निर्वाचनमा होमिँदै गर्दा राजनीतिक एवं वस्तुगत परिस्थिति अवस्थाको सही ढंगले विश्लेषण गरी आवश्यक निर्णय लिदै कार्यदिशा तय गर्न जरुरी छ । पार्टीको बृहत्तर हितलाई केन्द्रबिन्दु बनाई उम्मेदवारको विषयमा सतहमा छताछुल्ल भएको असहमति असन्तुष्टी समाधान गरी निर्वाचनको कार्यभार एवं जिम्मेवारीलाई शिरोधार्य गर्दै बहन गर्न आवश्यक छ ।

त्यसै गरी निर्वाचनमा आउन सक्ने खतरा एवं चुनौतीको सामना गर्दै अवसरलाई ‘क्यास’ गर्न उचित योजना, रणनीति बनाई संगठनका हरेक तहगत नेता कार्यकर्ताहरुलाई सक्रिय रुपमा परिचालन गर्न सके मात्र काँग्रेसको साख बढ्नेछ ।

लेखक नेपाली काँग्रेस जिल्ला कार्यसमिति बर्दियाका सचिव हुन् ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।