बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश १ सरकारको ५ वर्ष : खानेपानी र सिंचाई क्षेत्रमा कति भयो काम ?

प्रदेश १ मा अझै पनि सुरक्षित खानेपानी उपभोग गर्ने जनसंख्या १८ प्रतिशत मात्रै
बिहीबार, १३ असोज २०७९, १४ : ५७
बिहीबार, १३ असोज २०७९

प्रदेश १ प्रदेश सरकारको पाँच वर्षे कार्यकाल सकिन लाग्दा यसको समीक्षा भइरहेको छ । हालसम्म प्रदेश सरकारको खानेपानी, सिंचाई तथा ऊर्जा मन्त्रालयबाट हालसम्म कति काम भयो भन्ने विवरण मन्त्रालयले सार्वजनिक गरेको छ । उक्त मन्त्रालयका अनुसार चालू आर्थिक वर्षभित्रमा १ हजार ५ सय ३९ वटा खानेपानी तथा सरसफाइको क्षेत्रमा संचालित आयोजना कार्यान्वयन हुनेछन् ।

त्यसमध्ये आर्थिक वर्ष ०७८/०७९ मा २०४ स्किम संख्या र ३५ वटा आयोजना सम्पन्न भएको छ । जसबाट १ लाख १ हजार ३५७ जनसंख्या लाभान्वित भएको मन्त्रालयले जनाएको छ । यस्तै हालसम्म आधारभूत खानेपानीको सेवा पुगेको जनसंख्या प्रदेश १ मा ९० प्रतिशत पुगेको छ भने १८ प्रतिशत जनसंख्यामा मात्रै सुरक्षित खानेपानी पुगेको छ ।

मन्त्रालयको तथ्यांक अनुसार सिंचाईको क्षेत्रमा विगत ५ वर्षमा सतह सिंचाईबाट नयाँ थप सिंचित क्षेत्र विस्तार गर्दा ५ हजार ७१९ हेक्टर, भूमिगत सिंचाईबाट १ हजार ३३७ हेक्टर, कृषक कुलो मर्मत सुधार तथा पुनःस्थापनाबाट ४२ हजार ७३६ हेक्टर गरेर जम्मा ४४ हजार ७३ हेक्टर जमिनमा सिंचाईको पूर्वाधार विकास भएको छ । यसबाट प्रदेशको करिब दुई लाख ५० हजार जनसंख्यालाई प्रत्यक्ष लाभ पुगेको अनुमान छ ।

जल उत्पन्न प्रकोप नियन्त्रणको क्षेत्रमा पनि उल्लेख्य प्रगति भएको मन्त्रालयले जनाएको छ । हालसम्म विभिन्न मझौला तथा साना प्रकारका नदीबाट जमिन कटान तथा पूर्वाधार संरक्षणको लागि निर्मित संरचनाबाट सुरक्षा प्रदान गरेको कूल लम्बाई ७२.५३ किलोमिटर रहेको र यसबाट अनुमानित ८० हजार ५ सय जनसंख्या लाभान्वित भएको छ । उक्त संरचनाबाट १ हजार २५० हेक्टर जमिन उकास भएको मन्त्रालयको अनुमान छ ।

यस्तै सौर्य उर्जातर्फ ६२.२ किलोवाट क्षमताको सेलार जडान गरेका प्रदेश सरकारले सोही कार्यक्रम मार्फत ४० हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा पुर्याएको र २ हजार १९४ घरधूरीमा विपन्न वर्ग सौर्य उर्जा कार्यक्रम मार्फत सौर्य उर्जा जडान गरिएको छ । यस्तै मन्त्रालयले आफ्नो ५ वर्षे कार्यकालमा विभिन्न जिल्लामा गरेर २ हजार १९२ थान चुल्हो वितरण भएको छ । बायोग्यास तर्फ पनि मन्त्रालयले ३ सय ४४ वटा बायोग्याँस जडान गरेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका मन्त्री रामकुमार राईले मन्त्रालय स्थापना भएको छोटो अवधिमा पनि राम्रो र उल्लेख्य काम गर्न सकेको बताए । मुख्यमन्त्रीमा राजेन्द्रकुमार राई नियुक्त भएपनि भौतिक विकास मन्त्रालय विभाजन गरेर खानेपानी, सिंचाई तथा उर्जा मन्त्रालय बनाइएको थियो । सो मन्त्रालयका लागि रामकुमार राईलाई २०७८ माघ २३ गते मन्त्रीमा नियुक्त गरिएको थियो । प्रदेशका १२ मन्त्रालय मध्ये सबैभन्दा बढी बजेट कार्यान्वयन गर्ने मन्त्रालय खानेपानी, सिंचाई तथा उर्जा मन्त्रालय पनि हो ।

उक्त मन्त्रालय विभाजन भएर छुट्टै मन्त्री पाएपछि काममा उत्साह थपिएको मन्त्री राईले बताए । ‘सुरुकै समयदेखि मन्त्रालय विभाजन गरेर काम अगाडि बढाएको थियो भने धेरै काम हुने रहेछ,’ उनी भन्छन्, ‘यसअघि प्रदेशको आधा बजेट लिएर बसेको भौतिक विकास मन्त्रालयले सडकमा ध्यान दिएपनि सिंचाई र खानेपानीमा ध्यान दिनै सकेको थिएन ।’

मन्त्रालयले आर्थिक वर्ष ०७८/०७९ का लागि संशोधन सहितको चालू र पूँजीगत गरेर ६ अर्ब ८ करोड ९९ लाख १ हजार रुपैयाँ बजेट पाएको छ । जसमध्ये सिंचाई तथा उर्जा क्षेत्रमा ३ अर्ब ९ करोड ४९ लाख ३५ हजार र खानेपानी तथा सरसफाई क्षेत्रमा २ अर्ब ९२ करोड ३६ लाख ९४ हजार बजेट रहेको छ । बाँकी रकम ७ करोड १२ लाख ७२ हजार रुपैयाँ मन्त्रालयको आन्तरिक खर्चमा राखेको छ । यसमध्ये हालसम्म ८७ दशमलव ०९ प्रतिशत वित्तीय प्रगति तथा ९४ दशमलव ९४ प्रतिशत भौतिक प्रगति भएको थियो ।

चालू आर्थिक वर्षका लागि भने उक्त मन्त्रालयलाई पूँजीगत ५ अर्ब ५३ करोड ५४ लाख १५ हजार तथा चालू खर्च ४२ करोड २५ लाख १ हजार गरेर जम्मा ५ अर्ब ९५ करोड ७९ लाख १६ हजार रुपैयाँ बजेट कार्यान्वयन गर्नुपर्ने चुनौति छ । जसमा प्रदेश सरकारको १ अर्ब ८८ करोड २७ लाख ७५ हजार र संघबाट अनुदान ३ अर्ब ८९ करोड ८७ लाख ४१ हजार तथा सशर्त अनुदानमा समावेश वैदेशिक अनुदान १७ करोड ६४ लाख रुपैयाँ रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप