बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

गज्रयाङ–नयाँ खिम्ती प्रसारण लाइन निर्माण सम्पन्न

बिहीबार, १३ असोज २०७९, १३ : ५२
बिहीबार, १३ असोज २०७९

खिम्ती र लिखू नदी जलाधार क्षेत्रका जलविद्युत आयोजनाबाट उत्पादित विद्युत् प्रवाहका लागि रामेछाप (गज्रयाङ)–नयाँ खिम्ती १३२ किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन आयोजनाको निर्माण सम्पन्न भएको छ ।

रामेछापको गोकुलगंगा गाउँपालिकाको गज्रयाङबाट सुरु भई दोलखाको तामाकोसी गाउँपालिका हुँदै रामेछापकै मन्थली नगरपालिका–१३ स्थित साँखे (फुलासी)स्थित नयाँ खिम्ती सबस्टेसनमा  टुंगिने प्रसारण लाइनको लम्बाइ ३१ किलोमिटर छ । प्रसारण लाइनका लागि १०५ वटा टावर निर्माण गरिएको छ ।

आयोजना अन्तर्गत गज्रयाङमा १३२ केभीको नयाँ सबस्टेसन र नयाँ खिम्ती सबस्टेसनमा १३२ केभीको बे निर्माण गरिएको छ । गज्रयाङ सबस्टेसनमा १३२÷३३ केभी, ३० एमभिए र ३३÷११ केभी ६÷८ एमभिए क्षमताका थ्री फेज पावर ट्रान्सफर्मरहरु जडान गरिएको छ । गज्रयाङ सबस्टेसनबाटै स्थानीय रुपमा विद्युत् दिइने भएकोले त्यस क्षेत्रको विद्युत् आपूर्ति पनि भरपर्दो र गुणस्तरीय हुने छ ।

प्रसारण लाइन र सबस्टेसन निर्माण सम्पन्न भएपछि करिब २ सय मेगावाट विद्युत् प्रवाहका लागि पूर्वाधार तयार बनेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘स्थानीयको अवरोध लगायतका कारणले समस्यामा परेको प्रसारण लाइनको निर्माण सम्पन्न गरी परीक्षण भइरहेको छ, अब केही दिनमै सञ्चालन (चार्ज)मा ल्याउन परीक्षणका कामहरू भइरहेका छन्’, कार्यकारी निर्देशक घिसिङले भने, ‘अहिले १२ मेगावाटको उपल्लो खिम्ती र ७ मेगावाटको उपल्लो खिम्ती दोस्रो जलविद्युत आयोजनाबाट उत्पादित विद्युत् वैकल्पिक व्यवस्था गरी जोडिएको छ, अब ती आयोजनाहरूको विद्युत् गज्रयाङ– खिम्ती प्रसारण लाइनमा जोडिन्छ, अब प्रसारण पूर्वाधार अभावमा विद्युत् खेर जाने अवस्थाको अन्त्य भएको छ ।’

स्थानीयको अवरोधका कारण गज्रयाङ– खिम्ती निर्माणमा केही ढिला हुने देखिएपछि  १५ वैशाख २०७९ बाट वैकल्पिक व्यवस्थामार्फत उपल्लो खिम्ती र उपल्लो खिम्ती दोस्रो जलविद्युत आयोजनाबाट उत्पादित विद्युत् गज्रयाङ सबस्टेसनबाट ३३ केभी प्रसारण लाइनमार्फत जिरी सबस्टेसनमा जोडिएको छ । जिरी सबस्टेसनबाट चरिकोटस्थित मकैबारी सबस्टेसन हुँदै सिंगटी सबस्टेसनमार्फत विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह गरिएको छ ।

गज्रयाङ– खिम्ती प्रसारण लाइनको मार्गधिकारमा पर्ने जग्गाधनीले शतप्रतिशत मुआब्जाको माग गर्दै निर्माणमा रामेछापको गोकुलगंगा गाउँपालिकास्थित ठोसे, धारापानी, बेताली, नाममाडी र दोलखाको तामाकोसी गाउँपालिकाको सहरे क्षेत्रमा निर्माणमा अवरोध गरेका थिए । केही स्थानमा मार्गधिकारमै नपर्ने जग्गा तथा घरधनीले मुआब्जा तथा क्षतिपूर्तिको माग गर्दे प्रसारण लाइनको तार तान्न दिएका थिएनन् ।

स्थानीयसँगको छलफल, स्थानीय तह तथा प्रशासन, प्राधिकरणको उच्च व्यवस्थापन लगायतको निरन्तर पहल, प्रयास र सहयोगमा प्रसारण लाइन निर्माणमा रहेको अवरोध हटाइएको आयोजना प्रमुख अनुप गौतमले बताए ।

अनुमानित लागत २ करोड अमेरिकी डलर रहेको आयोजना नेपाल सरकारको लगानीमा निर्माण भएको हो । आयोजना अन्तर्गत नयाँ खिम्ती सबस्टेसनमा २२०÷१३२÷३३, २०० एमभिए क्षमताको पावर ट्रान्सफर्मर जडान गरिने छ । नयाँ खिम्ती सबस्टेसनको क्षमता अपुग हुने भएकोले क्षमता विस्तार गर्न लागिएको हो । माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले निर्माण गरेको २२० केभी सबस्टेसनमा अहिले १०० एमभिएको पावर ट्रान्सफर्मर रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप