शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेशका मन्त्री थापाले सार्वजनिक गरे आम्दानी खर्च विवरण

बिहीबार, १३ असोज २०७९, १३ : ५०
बिहीबार, १३ असोज २०७९

गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले पाँचवर्षे कार्यकालको आम्दानी खर्च विवरण सार्वजनिक गरेका छन् । नेपाली काँग्रेसको तर्फबाट कास्की क्षेत्र नं. २ प्रदेशसभा ‘ख’ बाट प्रत्यक्षमा निर्वाचित मन्त्री थापाले बिहीबार पोखरामा पत्रकार सम्मेलन गरी आम्दानी खर्च विवरण सार्वजनिक गरेका हुन् । 

मन्त्री थापाले निर्वाचित हुनुअघि नै राज्यबाट पाउने सेवा सुविधा सामाजिक सेवामा खर्च गर्ने प्रतिवद्धता गरेका थिए । सोही बमोजिम उनले २०७४ माघ देखि हालसम्मको उक्त समयमा राज्यबाट उनको बैंक खातामा ४० लाख ७१ हजार २ सय ४९ रुपैयाँ ३९ पैसा जम्मा भएको जानकारी गराए ।  मन्त्री थापाले बैंकमा जम्मा भएको रकममा आफ्नो व्यक्तिगत रकम समेत थप गरी ५८ लाख २९ हजार ६६ रुपैयाँ ५२ बराबरको पैसा विभिन्न विकास र सामाजिक कार्यमा खर्च गरेको बताए ।
‘प्रदेश सांसद हुँदा देखि बहालवाला मन्त्रीका रुपमा मैले प्राप्त गर्ने सबै आर्थिक सुविधा विकास निर्माण र सामाजिक कार्यमा लगाएको छु’, उनले भने, ‘प्रदेश सरकारबाट प्राप्त निवासको सुविधा पनि नलिई सामाजिक कार्य अन्तर्गत क्यान्सर पीडित, दलित बस्तीमा खानेपानी लगायतमा खर्च गर्दा आत्म सन्तुष्टि मिलेको छ ।’ मन्त्री थापाले राजनीति आफ्ना लागि सेवा भएको जिकिर समेत गरे । 

मन्त्री थापाले प्रदेशको समृद्धि र विकासका लागि सरकारको एक जिम्मेबार सदस्यको रुपमा काम गर्न पाउँदा खुशी लागेको बताए । उनले आफु राजनीतिमा नितान्त सेवा गर्ने उद्देश्यअनुरुप आएको समेत उल्लेख गरे । ‘राजनीति मेरा लागि पेशा कदापि होइन । व्यापार, व्यवसाय र अन्य आर्थिक स्रोतले मेरो जीविकोपार्जनमा समस्या छैन । राजनीतिमा नितान्त सेवाका लागि आएको हुँ’, मन्त्री थापाले भने ।  

मन्त्री थापाको बैंक खातामा २०७४ सालमा निर्वाचित भएको पहिलो वर्षदेखि हालसम्म क्रमशः ७ लाख ९ हजार १ सय ३५ रुपैयाँ, ६ लाख १० हजार ६ सय ३९ रुपैयाँ १० पैसा, ८ लाख ५९ हजार ८ सय ६८ रुपैयाँ, १३ लाख ६६ हजार ३ सय ६० रुपैयाँ २९ पैसा र ५ लाख २५ हजार २ सय ४७ रुपैयाँ जम्मा भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।  

यो रकम बैठक भत्तादेखि मासिक पारिश्रमिक र अन्य सेवा सुविधा समेतको हो । निर्वाचित भएदेखि हालसम्म विकास निर्माण र सामाजिक कार्यमा पहिलो वर्षदेखि क्रमशः १० लाख ५४ हजार ६ सय ५५, ९ लाख ३ हजार ७ सय १ रुपैयाँ ५२ पैसा, १२ लाख ४७ हजार ४० रुपैयाँ, १४ लाख ८६ हजार ९ सय ७० रुपैयाँ, ११ लाख ३६ हजार ७ सय रुपैयाँ खर्च गरेको जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप