कहिले बन्छ दुई लेनको कर्णाली राजमार्ग ?

person explore access_timeअसोज १३, २०७९ chat_bubble_outline0

सुर्खेत–जुम्ला जोड्ने कर्णाली राजमार्ग निर्माण भएको डेढ दशक नाघेको छ । सुर्खेत बाङ्गेसिमलबाट जुम्ला जुगाड खोलासम्म जोड्ने यो राजमार्गको लम्बाइ दुई सय ३२ किलोमिटर रहेको छ । यो राजमार्गलाई कर्णाली लोकमार्गका नामले पनि चिन्ने गरिन्छ ।


विसं २०६३ चैत ३१ गते पहिलोपटक जुम्लामा गाडी पुगेको थियो । राजमार्ग जोडिए पश्चात् कर्णालीका नागरिकको जीवनस्तरमा धेरै फेरबदल ल्याएको छ । यहाँका नागरिकलाई स्थानीय बजारमा मात्र सीमित नराखी सुर्खेत, नेपालगञ्ज बुटवल, चितवनलगायतका शहरसहित राजधानी काठमाडौंसँग जोडिन र पहुँच राख्न सहज बनाएको छ ।
 
यातायातको सहज पहुँचसँगै बढेको नागरिक आवतजावतले नयाँ ठाउँहरू बजार बनेका छन् । खुद्रे पसल थोक बिक्रेतामा रुपान्तरण भएका छन् । पैदल यात्रा गरिँदाका सङ्गमस्थल अपरिचित ठाउँमा परिणत भएका छन् । हिजो हिँडेका बाटो बिरानो मात्र भएका छैनन्, सडक यातायातले कसरी मानिसको जीवनशैलीमा परिवर्तन ल्याउँछ भन्ने अनुभव गर्न सकिन्छ । 



आधुनिकताले सडक छेउमात्र होइन, गाउँ बस्तीलाई समेत छोइसकेको छ । हरेक नागरिकलाई सहरिया बन्ने इच्छा र महत्वाकाङ्क्षा जगाएको छ । आज कर्णाली राजमार्ग छेउका डरलाग्दा भिरहरूमा घर तथा टहरा निर्माण भएर व्यापार व्यवसाय सञ्चालन भएका छन् । 



सडकले जन्माएका सपनाबाट सिर्जित कार्यले सडक छेउका केही नागरिकलाई सफलता मिले पनि धेरैले सास्ती भोग्नुपरेको छ । कर्णाली राजमार्गअन्तर्गत विशेषगरी कालीकोट र दैलेख सडक खण्डमा निर्माण गरिएका कतिपय घरहरु बाढी र पहिरोको उच्च जोखिममा छन् । कमाउने रहरले यस्ता जोखिम ठाउँमा घर बनाएर बसेका नागरिकलाई बाढी र विशेषगरी पहिरोको कहरले सताउने गरेको छ । साँघुरो सडक छेउमा बस्दै आएका यहाँका नागरिकलाई आफ्ना घरहरुमा कहिले यातायातका साधन ठोकिने समस्या त कहिले भिर भत्केर घरहरु कर्णाली नदीमा जालान् भन्ने डर र चिन्ता छ ।

सडकले जन्माएका ती बस्तीहरुको व्यवस्थापनमा कसैले ध्यान पुर्याएको देखिदैन । कहालीलाग्दो भिरमा बनेको सडक त्यसमा पनि गाडी आवातजावत गर्नसमेत नसक्ने साँघुरो अवस्थाले गाडी अगाडि बढ्न फराकिलो ठाउँ खोज्नुपर्दछ । विपरीत दिशाबाट आएका गाडी पार गर्न समय त लाग्छ नै, चालकले थोरै पनि संवेदनशीलता अपनाउन नसके दुर्घटनाको खतरा पनि त्यत्तिकै छ ।

नेपाली सेनाले खोलेको साँघुरो ट्रयाक फराकिलो नगर्दै गाडी सञ्चालन गरियो । ट्रयाक खोलेको सात वर्षपछि २०७० सालमा ओटासिल प्रविधिबाट त्यही साँघुरो सडक कालोपत्र पनि गरियो । अहिले राजमार्गका विभिन्न ठाउँमा कालोपत्र उप्किँदा कर्णाली भित्रिने जो कोहीको यात्रालाई जोखिमयुक्त बनाएको छ ।

भिर र साँघुरो सडककै कारण ट्रयाक खोलिए पश्चात् कर्णाली राजमार्गमा दर्जनौं गाडी दुर्घटना भएका छन् भने सयौं नागरिकले ज्यान गुमाइसकेका छन् । धनको क्षति पनि त्यसरी नै भएको छ । बढ्दो दुर्घटनाका कारण हुने धनजनको क्षति रोक्न राजमार्गको तत्काल स्तरवृद्धि गरिने भनिए पनि त्यसको कार्यान्वयन नहुँदा जोखिम कायमै छ ।

सडकको अवरोध र जोखिम कम गर्न जुम्लादेखि कालीकोटको दही खोलासम्म डिभिजन सडक कार्यालय जुम्ला र सुर्खेतदेखि दही खोलासम्म डिभिजन कार्यालय सडक सुर्खेतको क्षेत्राधिकार पर्दछ । दुवै सङ्घअन्तरगतकै कार्यालय हुन् । सडक बिग्रेका ठाउँमा मर्मत गर्ने, पहिरो हटाउने र सानातिना काम गर्नेबाहेक ठोस काम ती कार्यालयबाट भएको देखिंदैन । सामान्यतयाः राजमार्गको अवरोध हटाउने प्रयास भएपनि राजमार्गको स्तरवृद्धि हुन सकेको छैन ।

राजमार्गको स्तरवृद्धि नभएकै कारण कर्णालीको पर्यटन विकास हुन नसकेको युवा पर्यटन व्यवसायी हुम्ला निवासी नुर्वु लामा बताउछन् । यहाँको नेतृत्वको पहलमा सङ्घीय सरकारले सडकको स्तरोन्नति गर्नुपर्दछ,” लामाले भने, “अन्यथा प्राकृतिक, धार्मिक सांस्कृतिक तथा पुरातात्विक रुपले सम्पन्न कर्णाली आर्थिक, सामाजिक र राजनीतिक विकासमा अझै पछि पर्छ ।”

कर्णाली राजमार्गको यात्रालाई सहज बनाउन पुल निर्माण कार्यलाई तीव्रता दिइएको सडक डिभिजन कार्यालय सुर्खेतका इञ्जीनियर तुलाराम शर्माले जानकारी दिए । उनले भने, “सुर्खेत बाङ्गसिमलदेखि कालीकोट र जुम्लाको सीमामा पर्ने दही खोलासम्म १३२ किलोमिटर सडक खण्डमा निर्माण कार्य सुरु गरिएको २० मध्य १५ वटा पुलको निर्माण कार्य सम्पन्न गरिसकेका छौँ ।”

उनका अनुसार साईखोला, सिस्ने, बाङ्गेतडा, खिड्कीज्यूलामा पनि पुल निर्माण गर्नका लागि प्रक्रिया अगाडि बढेको छ । आर्थिक वर्ष २०६८÷६९ देखि निर्माण कार्य सुरु भएको दैलेख आठबीस नगरपालिकाको ज्याक्सी खोलामाथिको पुल भने १२ वर्षसम्म पनि बन्न सकेको छैन । रु दुई करोडमा निर्माण सुरु गरिएको सुर्खेतदेखि ११३ किलोमिटर चेनिजमा पर्ने सो पुल निर्माण कम्पनीको लापरवाहीको कारण ढिला भएको इञ्जिनीयर शर्माले बताए ।

पविर–सुनकोशी–सिरुवा जेभीले निर्माणकार्यको जिम्मा लिएको बताउँदै उनले उक्त पुल सम्पन्नताका लागि २० दिन काम गरे पुग्ने बताए । उनका अनुसार ठेकेदार कम्पनीलाई दुई दिनभित्र काममा लाग्न ताकेता लगाइएको छ तर सो जेभीले एक हप्ताको समय मागेकाले कारबाहीको अन्तिम अवस्था छौँ । तोकिएको समयमा काम सम्पन्न नगरे कालोसूचीमा राख्ने तयारी भइरहेको उनले बताए ।

नेपाल सरकार ग्रामीण क्षेत्र विकास कार्यक्रमअन्तर्गत जुम्ला र कालीकोटको सिमानामा विसं २०७४ देखि निर्माणाधीन अवस्थामा रहेको नाग्म पुल निर्माणकै क्रममा चर्किएको छ । त्यसको अनुगमन निरीक्षणको प्रतिवेदन तयारका लागि प्राविधिक टोली त्यहाँ पुगेर फर्किएको इञ्जीनियर शर्माले बताए । 

विभागको प्राविधिक टोलीले स्थलगत निरीक्षण गरी तयार गरिएको प्रतिवेदन विकास समितिमा पठाएको छ,” उनले भने, “त्यहाँबाट के भनेर आउँछ, त्यहीअनुसार पुलको काम अगाडि बढ्छ ।” नाग्म पुल र त्यससँगै तिलागुफा नगरपालिकाको छिडाना पुल गरेर रु नौ करोड लगानीमा उक्त पुल बन्न लागेको उनले बताए ।

कर्णालीमा सिङ्गल लेनको पुल भएका कारण धेरैले ज्यान गुमाउनु परेको उनको भनाइ थियो । दुई लेनको कर्णाली राजमार्ग जतिसक्दो छिटो बनाउनुपर्ने आवश्यक रहेको भन्दै उनले यो कर्मचारीको तहबाट नभई कर्णालीको नेतृत्वको आवश्यक पहल र सङ्घीय सरकारको योजनामा परे मात्र निर्माण कार्य सुरु हुने जनाए ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।