बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एमालेको कार्यक्रममा कमल थापाको ‘इन्ट्री’

बिहीबार, १३ असोज २०७९, १२ : ०९
बिहीबार, १३ असोज २०७९

दसैँतिहार लगायतका चाडपर्वको सन्दर्भ पारेर नेकपा एमाले मकवानपुरले आयोजना गरेको चियापान कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापाको ‘इन्ट्री’ले राजनीतिक तरङ्ग पैदा भएको छ । एमाले मकवानपुरले बिहीबार बिहान आयोजना गरेको चियापान कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष थापाको उपस्थितिले जिल्लाको राजनीति तरङ्गित बनाएको हो । अन्य दलहरुले गरेको राजनीतिक कार्यक्रममा समेत उपस्थित नहुने थापा बिहीबार एकाएक एमाले मकवानपुरको सामान्य चियापान कार्यक्रममा उपस्थित हुनुलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

पहिलो पटक हेटौंडा–५, सानोपोखरास्थित एमाले मकवानपुरको पार्टी कार्यालय पुगेका थापाले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, एमाले जिल्ला अध्यक्ष एकलाल श्रेष्ठलगायतसँग चुनाव केन्द्रित भएर छलफलसमेत गरेका थिए ।

मकवानपुर क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्ने तयारी गरिरहेका थापा कुनै पनि अवस्थामा जित्ने रणनीतिमा छन् । सोही अनुसार उनले एमालेसँगको तालमेललाई पहिलो प्राथमिकता दिएका छन् ।

अघिल्लो संघीय निर्वाचनमा नेकपा एमालेका उम्मेदवार कृष्णप्रसाद दाहालसँग मकवानपुर–१ बाटै थापा पराजित भएका थिए । आगामी मंसिर ४ मा हुने निर्वाचनमा सोही क्षेत्रबाट थापा एमालेको सहयोगमा चुनाव लड्ने तयारीमा छन् ।

मकवानपुर–१ बाट चुनाव लड्ने तयारीमा रहेका एमालेका रामेश्वर राणा, मदन कुमार दाहाल लगायतलाई रोक्नु थापाको पहिलो रणनीति रहेको छ । सोही अनुसार अध्यक्ष थापा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निकट रहेका छन् ।

त्यसो त थापालाई एमाले अध्यक्ष ओलीको ‘ग्रीन सिग्नल’ समेत प्राप्त भइसकेको जनाइएको छ । यद्यपि एमालेले राप्रपा नेपालसँगको गठबन्धनबारे आधिकारिक घोषणा भने गरिसकेको छैन । थापाले चुनावी रणनीति अनुसार एमाले मकवानपुरको पार्टी कार्यालय रहेको स्थानभन्दा करिब १५० मिटर टाढाको दुरीमा राप्रपा नेपालको पार्टी कार्यालय समेत स्थापना गरेका छन् ।

थापाको इन्ट्रीले कतै खुशी, कतै दुःखी

एकाबिहानै दसैँको शुभकामना आदानप्रदानका लागि एमाले पार्टी कार्यालय पुगेका नेताहरु अध्यक्ष थापाको इन्ट्रीसँगै तरङ्गित बने । राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौैला, भाइ गणेश थापा, राप्रपा नेपाल मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटासहित एमाले मकवानपुरको कार्यालय पुगेका थापालाई देख्नासाथ एमालेका केही नेताहरु उत्साहित भएका थिए भने केही निराश देखिएका थिए ।

अधिक मात्रामा एमालेका नेता तथा कार्यकर्ताहरु उत्साहित भइरहँदा एमाले मकवानपुरका इन्चार्ज रामेश्वर राना, सचिवालय सदस्य मदन कुमार दाहाल लगायतका निराश देखिन्थे ।

त्यसो त एमालेभित्र राप्रपा नेपालसँगको गठबन्धनको चर्चा सुरु भएदेखि नै एक प्रकारको तनावको स्थिति बनेको देखिन्छ । एमाले विभाजनदेखि जिल्ला अधिवेशनसम्मका आन्तरिक विवाद मिलाउन नसकिरहेको एमाले मकवानपुरमा राप्रपा नेपालसँगको गठबन्धनले थप समस्या उत्पन्न गरिरहेको छ ।

सत्ता गठबन्धनसँग एकल रुपमा चुनावी प्रतिस्पर्धामा जाने तयारीमा रहेको एमाले मकवानपुरमा राप्रपा नेपालको साथ लिएर केही सानत्वना प्राप्त गर्ने पक्षमा छ । तर, मकवानपुर जिल्लामा एमाले बलियो रहेको भन्दै एमालेका केही नेताहरु एकल रुपमा चुनावी प्रतिस्पर्धामा जानु पर्ने पक्षमा छन् ।

उता एमालेका केही नेताहरु कमल थापा ‘डेट एक्सपाएर’ र ‘टेस्टेड’ भइसकेको भन्दै राप्रपा नेपालसँगको गठबन्धन स्वीकार गर्न नसकिने बताउँदै आएका छन् । उनीहरु कमल थापाको विकल्प अन्य जो कसैलाई पनि स्वीकार गर्न सकिने तर्क गरिरहेका छन् ।

यता एमालेका केही नेताले भने चुनाव लक्षित घरदैलो कार्यक्रमसमेत सुरु गरिसकेका थापा नै उक्त क्षेत्रबाट एमालेको आधिकारिक उम्मेदवार हुने पक्कापक्की भइसकेको प्रतिक्रिया दिन थालिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप