मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

दुर्गाप्रसाद श्रेष्ठ : नेपाल–भारतबीच सम्बन्धसूत्र र अघोषित राजदूत

बिहीबार, १३ असोज २०७९, १० : ३८
बिहीबार, १३ असोज २०७९

मदन पुरस्कार गुठीले गएको ११ भदौमा वर्ष २०७८ को जगदम्बा–श्री सम्मान दुर्गाप्रसाद श्रेष्ठ ‘उपेन्द्र’लाई प्रदान गर्ने निर्णय गर्‍यो । १५ भदौमा दुर्गा बनारसस्थित काशी हिन्दू विश्वविद्यालय, हिन्दी विभागबाट अभिनन्दित भए । भारतीय संविधानमा नेपाली भाषा मान्यताको ३०औँ वार्षिकी समारोहका अवसरमा उनलाई अभिनन्दन गरिएको थियो ।

अभिनन्दन–पत्रमा लेखिएको छ, ‘जगदम्बाश्री पुरस्कार यहाँलाई प्रदान गरिने घोषणाले हामी हर्षविभोर बनेका छौँ । यहाँलाई चयनित गरेबाट पुरस्कारको पनि प्रतिष्ठा बढेको बोध गरेका छौँ । महोदय हाम्रा लागि अभिभावक हुनुहुनाका साथै काशीवासीका आदरणीय पात्र हुनुहुन्छ । सांंस्कृतिक, सामाजिक, शैक्षिक, साहित्यिक र कूटनीतिक क्षेत्रमा यहाँ भारत र नेपालबीच सम्बन्धसूत्र तथा अघोषित राजदूत हुनुहुन्छ ।’

दुर्गा सन् २००८ देखि २०१२ सम्म भारतको साहित्य अकादेमीमा ‘नेपाली भाषा परामर्श मण्डल’को सदस्य रहे । साहित्य अकादेमीबाट प्रकाशन हुने नेपाली भाषाको कुन कृतिलाई पुरस्कार दिने भन्ने सम्बन्धमा यस मण्डलले सल्लाह दिने गर्छ । 

८४ वर्षीय दुर्गाले आफ्नो जीवनका अधिकांश वर्ष बनारसमा बिताएका छन् । कोरोना महामारीका कारण पछिल्लो तीन वर्षदेखि काठमाडौंमा रहेका उनी यतिखेर स्कन्द पुराणअन्तर्गत अखण्ड मानिएको ‘हिमवत्खण्ड’ ग्रन्थको हिन्दी अनुवाद गर्न व्यस्त छन् । नेपालका पहाड र तीर्थहरूको महिमा रहेको यस ग्रन्थ संस्कृत र नेपाली भाषामा मात्रै थियो । ‘पशुपति अर्चना सुव्यवस्था प्रतिष्ठान’ले श्रेष्ठलाई यस ग्रन्थको हिन्दी अनुवादको जिम्मा दिएको छ । ‘१५ सय पृष्ठको यस ग्रन्थको अहिले आधा अनुवाद सकेको छु,’ हातले लेख्दै गरेको पाण्डुलिपि देखाउँदै दुर्गाले भने, ‘उनीहरूले भनेका छन्– पारिश्रमिक त तपाईंलाई दिन सक्दैनौँ, तपाईंंको नामचाहिँ छापिन्छ । दामभन्दा नाम ठूलो हो । अहिले मेरो सबैभन्दा गहकिलो काम यही भइरहेको छ ।’ 

दुर्गाप्रसादको पुर्ख्यौली थलो भक्तपुर हो । इतिहासकार बाबुराम आचार्यले उनलाई एकपटक सुनाए अनुसार, उनका पुर्खा भक्तपुरबाट व्यापारका सिलसिलामा मल्लकालमै बनारस पुगेका हुन् । दुर्गा जन्मेको बखत पनि बनारसमा नेवार व्यापारी थुप्रै थिए । 

दुर्गाका बुवा काशीबहादुरले बनारसमा बिपी कोइरालासँग एउटै कलेजमा पढेका हुन्, बिपीभन्दा काशीबहादुर एक ब्याज सिनियर थिए । बनारसबाट आइए गरेपछि काशीबहादुर आफ्ना बुवासँगै व्यापारमा लागे । उनका बुवा गणेशबहादुर नेपालीको बनारसमा केशर, कस्तुरी लगायतको व्यापार थियो, (गणेशले आफ्नो थर नेपाली लेख्थे) । व्यापारको सिलसिलामा काशीबहादुर बम्बई, कलकत्ता, दिल्ली लगायत स्थानमा गइरहनुपथ्र्यो । तत्कालीन बनारसको माहोल, भ्रमण र संगतले होला, उनको रुचि लेखनमा बढ्न थाल्यो । कृतिका रूपमा उनका दुइटा उपन्यास (उषा र वचन), एउटा कथासंग्रह ‘तोता मैनाको कथा’ प्रकाशित छ । तर, बुवाको कृति ‘तोतामैनाको कथा’ आफूले नभेटेको दुर्गा बताउँछन् । बुवाको ‘वचन’ उपन्यासलाई भने दुर्गाले हिन्दीमा अनुवाद गरेका छन् । यो पुस्तक भारतको साहित्य अकादेमीबाट सन् २०१५ मा प्रकाशित छ । 

काशीबहादुरले वि.सं. १९९३ माघदेखि बनारसबाट नेपाली भाषाको साहित्यिक मासिक पत्रिका ‘उदय’को सम्पादन तथा प्रकाशन प्रारम्भ गरेका थिए । जीवनको उत्तरार्द्धमा एक वर्ष बिरामी परेर काशीबहादुरको मृत्यु भयो, ०४६ माघमा । उनी बिरामी भएको एक वर्ष र त्यसपछिका दुई वर्ष ‘उदय’को प्रकाशन रोकियो । भारतीय धेरै नेपालीभाषी साहित्यप्रेमीले यसप्रति चिन्ता र चासो व्यक्त गरिरहेका थिए । विद्वान् महानन्द सापकोटाले उदयको प्रकाशन रोकिएको चिन्ता र सुझावसहित दुर्गालाई चिठी लेखे– ‘उदय’का लागि तपाईंका बुवाले आफ्नो जीवन खर्चनुभएको छ । भारतीय नेपालीभाषी साहित्यकार र साहित्यप्रेमीका माझमा यो पत्रिका लोकप्रिय छ । यो पत्रिकालाई तपाईंले निरन्तरता दिनुस्, हामीले सकेको मद्दत गरौँला । साहित्यमा कलम चलाउँदै आएका दुर्गाले धेरैको आग्रहमा ‘उदय’को प्रकाशन पुनः प्रारम्भ गरे । 

छोराको कृति छाप्न काशीबहादुरले राजासँग पैसा मागे 

दुर्गाले स्कुल र कलेजको अध्ययन बनारसमै गरेका हुन् । उनको जन्म भने धनुषाको सबेलाबजारमा भएको हो । बनारसमा काशीबहादुर दम्पतीबाट दुई सन्तान जन्मेर पनि हुर्केनन् । बनारसमै एकजना गुभाजु (नेवारका पुजारी)ले काशीबहादुरलाई भने, ‘अबका सन्तानलाई बनारसमा नजन्माउनू, बहिनी (काशीकी पत्नी)लाई माइतीमा पठाइदिनू ।’

काशीबहादुरका ससुरा सबेलाबजारमा मुखिया थिए । उनले पत्नीलाई त्यहीँ पठाए र दुर्गाको जन्म भयो । पाँच वर्षको उमेरमा दुर्गालाई अध्ययनका लागि बनारस ल्याइयो । दुर्गाको जन्म (वि.सं. १९९५) र हुर्काइ यस्तो बेला भएको थियो, जतिबेला बनारस बसेर पढ्ने नेपाली विद्यार्थी देशमा राणाशासन हटाएर प्रजातन्त्र ल्याउनका लागि जाग्दै थिए । 

पिता नै साहित्यिक पत्रिकाको सम्पादक तथा प्रकाशक रहेकाले दुर्गाले सानैदेखि साहित्य लेखनको वातावरण पाए । बाल्यकालमै उनले हिन्दी साहित्यका पुस्तक पढ्थे । आफूले पढ्ने स्कुल बनारसस्थित अग्रसेन महाजनी विद्यालयको पुस्तकालयबाट घरमा किताब लैजान उनलाई छुट थियो, कारण उनले च्यातिएका किताबमा गाता हालेर फिर्ता गर्थे । स्कुल पढ्दा उनले देवकीनन्दन खत्री, प्रेमचन्द्र, शिवप्रसाद मिश्र आदिका पुस्तक पढे । शिवप्रसाद मिश्रको कथासंग्रह ‘बहती गंगा’ पढेपछि आफूलाई कथा लेख्ने प्रेरणा मिलेको उनी बताउँछन् । 

उत्तर प्रदेशको त्यतिबेलाको प्रमुख पत्रिका ‘आज’बाट उनको लेखन यात्रा सुरु भयो । ‘आज’ले साप्ताहिक रूपमा ‘बाल संसद्’ विशेषांक निकाल्थ्यो । एकपटक ‘आज’ले पर्यटनको महत्त्वका विषयमाथि निबन्ध प्रतियोगिता गर्‍यो । कक्षा ९ मा पढ्दै गरेका दुर्गा प्रतियोगितामा दोस्रो भए । यसले उनीमा लेख्ने सोख र उत्प्रेरणा बढाउँदै लग्यो । ‘आज’का साहित्य सम्पादक मोहनलाल गुप्तले उनलाई लेखनमा प्रेरित गरिरहे । बुवाको पत्रिका ‘उदय’मा पनि उनका लेख–रचना छापिइरहन्थे । सन् १९५७ मा इलाहाबादबाट प्रकाशित ‘कहानी’ पत्रिकामा उनको ‘जूता’ शीर्षकको कथा छापियो, यो उनको हिन्दी भाषाको पहिलो कथा हो । 

नेपालबाट बनारसमा पढ्न जाने अधिकांंश विद्यार्थीसँग उनको परिचय थियो । यही पृष्ठभूमिलाई लिएर उनले सन् १९७५ मा नेपालीमा ‘कोसेली’ उपन्यास लेखका छन्, जसमा बनारसमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीको चित्रण छ । कलेज पढ्दाताका उनी गर्मीको छुट्टीमा साथीहरूसँग नेपालका पहाडतिर घुम्न गइरहन्थे । एकपटक उनी साथीसँग संखुवासभाको चयनपुर पुगेका थिए । बाटोमा उनले एक अछुत जातकी किशोरीलाई भेटे, जसले गाउँको पँधेरोमा पानी भर्दै थिइन् । दुर्गाले उनीसँग पानी पिउन मागे । ती किशोरीले भनिन्, ‘म त सानो जातको मान्छे । मैले छोएको खानु हुँदैन ।’

यसो भनिरहँदा ती किशोरीको भावभंगिमाले एक प्रकारको उत्पीडन र अबोधपन व्यक्त गथ्र्यो । यही भेटको आधारमा उनले बनारस फर्केपछि कथा बुने– सोनिया । त्यतिबेला संखुवासभाको मादी गाउँ (हालको मादी नगरपालिका)को एक प्राइमरी विद्यालयमा मास्टर नभएकाले उनले दुई महिनाजति पढाएका पनि थिए । सोनिया कथामा उनले एक पाहुना मास्टरले एक अछुत किशोरीलाई अक्षर चिनाएको तर ती किशोरीको दुर्घटनावश निधन हुन पुगेको प्रसंगलाई बुनेका छन् ।  

यो कथा तत्कालीन चर्चित भारतीय पत्रिका ‘धर्मयुग’मा छापियो । यसमा अरु कथा मिलाएर उनले सन् १९७५ मा कथासंग्रह ‘सोनिया’ निकाले । यस कथासंग्रहले सन् १९९६ को ‘कुसुम कुमारी अन्तर्राष्ट्रिय पुरस्कार’ पायो । दुर्गा गर्वभावका तरंग मुहारमा ल्याउँदै भन्छन्, ‘पछि भारतको तिलंगनाबाट तेलुगु भाषामा प्रकाशित हुने इनाडु पत्रिकाले मेरा थुप्रै कथालाई अनुवाद गरी छाप्यो । अहिले त्रिविले एमए हिन्दीको कोर्समा सोनिया कथालाई राखेको छ ।’ 

त्यतिबेला कलेजले दुई महिना गर्मी बिदा दिन्थ्यो । एकपटक २०१५ सालतिर उनी धनकुटाको मुगा गाउँ घुम्न पुगेका थिए । त्यहाँ निम्न वर्गका मजदुरको जीवनशैली नियाल्दा उनलाई कथा लेख्न मन भयो र १०–१२ वटा कथा लेखे । कथा त लेखे, त्यसलाई पुस्तकाकार दिन उनीसँग पैसा थिएन । 

२०१७ सालमा राजा महेन्द्रले पञ्चायती व्यवस्था लागू गरे । गोरखापत्रमा सम्पादक बनाउने उद्देश्यले महेन्द्रले दुर्गाका बुवा काशीबहादुरलाई भेटका लागि बोलाएका थिए । महेन्द्रले काशी बहादुरलाई सोधे, ‘जागिर खान्छौ ?’

काशीबहादुरले भने– जागिर त खान्नँ सरकार ! मेरो आफ्नै पत्रिका उदय निकाल्न आर्थिक सहायता पाउँछु कि भनेर आएको !

राजाले भने– ल ठीक छ, अरु केही चाहिन्छ कि ?

‘मेरो छोराले एउटा कथासंग्रह लेखेको छ, त्यसलाई छाप्न पाए हुने थियो ।’ 

महेन्द्रले सोधे– कति पैसा लाग्छ ?

एक हजार प्रति छपाउन १२ सय भारतीय रुपैयाँ लाग्थ्यो । महेन्द्रले उनलाई पैसा दिए र दुर्गाको पहिलो कथा संग्रह ‘सम्झनाको बादल’ छापियो । धनकुटामा बस्दा आफूले सम्झेका कुरा लेखेकाले संग्रहको नाम ‘सम्झनाको बादल’ राखेको उनी बताउँछन् । यो संग्रह पछि मराठी भाषामा पनि प्रकाशित भयो, जसको मराठी नाम छ, ‘आठव मेघ’ । यस संग्रहका केही कथा रुसी भाषामा पनि अनुदित छन् । 

अहिलेसम्म नेपाली र हिन्दीमा उनका १७ वटा पुस्तक प्रकाशित छन् । उनी मूलतः उपन्यासकार र कथाकार हुन् । नेपालीमा उनका पाँच उपन्यास, एउटा कथा संग्रह, एउटा कविता संग्रह, एउटा समालोचना र एउटा अनुदित कृति प्रकाशित छ । नेपाली भाषाको उनको उपन्यास ‘वागमती साक्षी छ’ (सन् १९८०) मा राणाकालीन शोषणको चित्रण पाइन्छ । त्यस्तै, हिन्दीमा दुई कथा संग्रह एक उपन्यास, एक यात्रा संस्मरण, एक जीवनी लगायत गरी आठ कृति प्रकाशित छन् । 

काठमाडौँमा जागिर 

बनारसमा एमए पढ्दापढ्दै दुर्गा काठमाडौं आए, उनले बनारसमै पढाएकी एक शिष्याको विवाह काठमाडौंमा हुँदै थियो । त्यहीबेला ‘प्रगति’ पत्रिकाका सम्पादक नारायणप्रसाद बाँस्कोटाको कृपाले उनले प्रचार विभागमा जागिर पाए । आफूले सत्ता लिएसँगै महेन्द्रले बाँस्कोटालाई प्रचार विभागमा निर्देशक बनाएका थिए । ‘प्रगति’ पत्रिका छपाउन बाँस्कोटा बनारस गइरहन्थे, त्यतिबेलै बाँस्कोटा र दुर्गाको चिनजान भएको थियो ।

प्रचार विभागले पञ्चायती व्यवस्थाको प्रचार गर्न चलचित्र ‘आमा’ बनाउने भयो । दुर्गाले यस चलचित्रमा सह–निर्देशन, पटकथा÷संवाद लेखन र अभिनय समेत गरे । प्रेससम्बन्धी ज्ञान भएकाले उनी गोरखापत्रमा पनि खटाइएका थिए । चलचित्र ‘आमा’मा योगदान पुर्‍याएबापत उनलाई पछि (सन् १९८० मा) राजा वीरेन्द्रले सम्मान समेत गरेका थिए । 

२०२८ सालमा रौतहटमा हिन्दू–मुसलमान दंगा भएको थियो । त्यसको व्यवस्थापनमा तत्कालीन अञ्चलाधीश रामनारायण श्रेष्ठको नेतृत्वमा टोली खटियो, टोलीमा समाचार संकलनका लागि दुर्गा पनि थिए । घटना साम्य भएपछि राजा महेन्द्र अवलोकनका लागि रौटहट पुगे । अञ्चलाधीशले राजासँग टोलीको परिचय गराउने क्रममा दुर्गाको नाम लिए । महेन्द्रले सोधे– ‘तिमी काशीबहादुरका छोरा होइनौँ ?’ महेन्द्रको स्मरण शक्तिको प्रशंसा गर्दै दुर्गा भन्छन्, ‘उहाँको कत्रो स्मरण शक्ति होला त ? दश वर्षअघि मेरो बुवाले उहाँलाई भेटेर मेरो कथा संग्रह निकाल्न सहयोग माग्नुभएको थियो । राजाले उति पुरानो घटना र मेरो नाम सम्झनु सामान्य कुरा होइन ।’ 

त्यतिबेला राजाले टोलीका सबैलाई रौतहटको चन्द्रनिगाहपुरमा पाँच–पाँच बिघा जमिन दिएका थिए, त्यसको लगत्तै महेन्द्रको मृत्यु भएकाले आफूहरूले जग्गा नपाएको उनी बताउँछन् । वीरेन्द्रको पालामा प्रचार विभागबाट बाँस्कोटा हटाइए र धनुषचन्द्र गौतम निर्देशक भएर आए । अरु पनि नयाँ–नयाँ मान्छे त्यहाँ जागिर खान आएका थिए । उनीहरूसँग घुलमिल हुन नसकेपछि विभागको जागिर छाडेर २०२८ सालमा उनी बनारस फर्किए । त्यतिबेला कलकत्ताबाट प्रकाशित हुने हिन्दी भाषाको ‘सन्मार्ग’ दैनिक पत्रिकाको शाखा कार्यालय बनारसमा थियो, त्यसमा दुर्गाले विज्ञापन व्यवस्थापकको काम गरे । रत्न पुस्तक भण्डारका सञ्चालक रत्नप्रसाद श्रेष्ठ पुस्तक प्रकाशनसम्बन्धी कामका लागि बनारस गइरहन्थे । रत्नप्रसादका काइँला छोरा गोविन्द श्रेष्ठका अनुसार, २०१६ सालदेखि बनारसमा रत्न पुस्तक भण्डारको कार्यालय स्थापना गरिएको थियो, (जुन कार्यालय हालसालै बन्द भयो) जसमा पहिले शुद्धाशुद्धि लगायत काममा दुर्गाका बुवा काशीबहादुरले सघाउने गर्थे । 

विभागको जागिर छाडेर फर्केपछि रत्नप्रसादले आफ्नो अफिसमा काम गर्नका लागि आफूलाई प्रस्ताव गरेको दुर्गा बताउँछन् । त्यतिबेला रत्नप्रसादलाई शुद्धाशुद्धि हेर्नेदेखि प्रकाशनका विविध कामका लागि मान्छे चाहिएको थियो । योसँगै बनारसको प्रतिष्ठित प्रकाशक ‘हिन्दी प्रचारक संस्थान’मा पनि जनसम्पर्क अधिकारीका रूपमा दुर्गाले काम गरे । 

प्रचार विभागमा जागिर गर्दा उनले थापाथलीकी कृष्णाकुमारी राजभण्डारीसँग विवाह गरेका थिए, यसरी उनको नाता काठमाडौंसँग कसिँदै थियो । तत्कालीन प्रज्ञा प्रतिष्ठानमा कुलपति लैनसिंंह बाङ्देल दुर्गाका बुवाका साथी थिए । उनको कार्यकालमा बृहत् नेपाली शब्दकोश बनारसबाट छापियो । यसको व्यवस्थापनको जिम्मा दुर्गाले पाए । यसबापत उनलाई प्रज्ञा प्रतिष्ठानबाट २० हजार रुपैयाँ दिइएको थियो । त्यो पैसाले ललितपुरको सानेपामा उनको नामको घर बन्यो । त्यसपछि उनका छोराछोरीले करिअरका लागि काठमाडौं उपत्यकालाई रोज्न थाले । दुर्गाका दुई छोरा र एक छोरीको विवाह काठमाडौंंमै भयो । 

‘मिनी मदन पुरस्कार’ 

बनारसमा जगदम्बाकुमारी राणाले ‘बालचन्द्र प्यालेस ट्रस्ट’ खोलेकी थिइन् । चन्द्रशमशेर र उनकी पत्नी बालकुमारीको नाममा यो ट्रस्ट खोलिएको थियो । जगदम्बा चन्द्रशमशेरका कान्छा छोरा मदनशमशेरकी पत्नी हुन् । जो ‘रानी जगदम्बा’का नामले चिनिन्थिन् । राणाशासकले आफू बस्नका लागि बनारसमा जग्गा किनेर दरबार बनाउनु सामान्य थियो । उतिबेला राणाशासकहरू मात्रै होइन, नेपालका हुनेखानेले बनारसमा घर किनेर जाडो छल्न उता जाने गर्थे । 

मदनशमशेरको निधनपछि दगदम्बाले यो ट्रस्ट खोलेकी थिइन् । सन् १९८३ देखि यस ट्रस्टबाट भारतका नेपालीभाषी साहित्यकारलाई पुरस्कार दिन थालियो । सन् १९९० तिर यस ट्रस्ट हेर्ने मुख्य व्यक्ति बद्रीनाथ भट्टराई दुर्घटनामा परी घाइते भए, चार वर्षसम्म पुरस्कार रोकिन पुग्यो । त्यतिबेला दुर्गा जगदम्बाले नै बनाइदिएको नेपाली धर्मशालाको कार्यकारिणी समितिमा अध्यक्ष थिए । मदन पुरस्कार गुठीका तत्कालीन अध्यक्ष कमलमणि दीक्षितले दुर्गालाई ट्रस्टको पनि जिम्मेवारी लिन आग्रह गरे । सन् १९९५ देखि दुर्गाले ट्रस्टको जिम्मेवारी सम्हालेका हुन् । पछि ‘बालचन्द्र प्यालेस ट्रस्ट’को नाम बदलेर ‘मदन स्मारक सम्मान’ राखियो । पछिल्लोपटक सन् २०२१ मा मिजोरमकी लक्ष्मी मिनु र दार्जिलिङका गुप्त प्रधान ‘मदन स्मारक सम्मान’बाट सम्मानित भएका छन् । दुर्गा भन्छन्, ‘कमलमणि दीक्षितले एकपटक भनेका थिए– भारतबाट नेपालीभाषी साहित्यकारलाई दिइने यो पुरस्कार मिनी मदन पुरस्कार हो ।’ 

‘उदय पत्रिकाको भविष्य छैन !’ 

चार वर्षयता दुर्गा ‘अर्थराइटिस’बाट पीडित छन्, घुँडाको हाड खिइएर उनलाई हिँडडुलमा समस्या छ । आफू क्रमशः कमजोर र रोगी हुँदै जाँदा कोरोना महामारीपछि बन्द रहेको पत्रिका ‘उदय’को भविष्यलाई लिएर दुर्गा दुःखी छन् । आफ्ना पिताले स्थापित गरेको र पिताको सेखपछि आफूले काँध लिएको पत्रिकाको मायाले उनलाई थप गलाउँछ । उनका छोराछोरी आ–आफ्नो जागिर–पेसामै व्यस्त रहेकाले ‘उदय’लाई अगाडि बढाउने तत्कालको उत्तराधिकारी कोही छैन । 

अर्कोतिर, कोरोनापछि सबैतिर पत्रिकाको बजार खस्कँदो छ । उनलाई सिक्किमबाट सुझाव आएको थियो, लामो इतिहास बोकेको पत्रिका उदयलाई अनलाइनबाट निकाल्न सकिन्छ कि ! ‘यसको भविष्य मैले देखेको छैन, पुँजीको पनि कुरा आउँछ,’ दुर्गा चिन्ता गर्छन्, ‘मपछि यसलाई कसले अगाडि बढाउला र ? 

कोरोनाका कारण तीन वर्षदेखि ‘उदय’ बन्द छ । यी तीन वर्षको तीनवटा विशेषांक एकैपटक निकाल्ने योजनामा उनी छन् । यो पत्रिका देहरादुन, आसाम, सिक्किम, दार्जिलिङ लगायत नेपालीभाषी रहेको स्थानमा पुग्ने गथ्र्यो । पत्रिका रोकिएकामा चिन्ता गर्ने भारतीय नेपालीभाषी साहित्यप्रेमी थुप्रै छन् । भारतका विभिन्न ठाउँमा जागिर गरेर बस्नेले पनि यो पत्रिका डाक (हुलाक) मार्फत मगाउँथे । केहीको सुझाव छ दुर्गालाई, पत्रिका नेपालबाटै निकालेर भारत पठाए पनि हुन्छ । नेपालबाट पत्रिका निकाल्दा भारतको तुलनामा खर्च दोब्बर हुन जान्छ, यहाँ मेसिन नै सानो छ । दुर्गा भन्छन्, ‘त्यसमाथि यताबाट उता पत्रिका पठाउन पनि महँगो पर्छ ।’

जीवनको अन्त्यतिर मदनमणि दीक्षित काम विशेषले बनारस गएका थिए । दुर्गाले दीक्षितलाई भने, ‘दादा ! मैले उदय निकाल्न नसक्ने भएँ ।’ त्यतिबेला दीक्षितले १० हजार भारतीय रुपैयाँ दिएको दुर्गा सुनाउँछन् । यसपालि मदन पुरस्कार गुठीले उनलाई चार लाख रुपैयाँ राशिसहितको जगदम्बाश्री सम्मान दिएको छ । दुर्गाले यो सम्मान पाउँदा उनी र उनका नालनाता मात्रै होइन, बनारस पनि खुसी छ । यस्तो लाग्छ, भारतमा नेपाली भाषा–साहित्यको उत्थानमा दुर्गाको योगदानको ‘दीप’ र ‘दुःख’ देखेर यो पुरस्कार दिइएको छ । 

घुँडाले दुःख दिए पनि उनका आँखा तीखा छन्, हातले लेख्न र पाण्डुलिपि पढ्न सक्छन् । नीलम कार्की निहारिकाको ‘चीरहरण’ उपन्यासलाई उनले भर्खरै हिन्दीमा अनुवाद गरे, यो पुस्तक सांग्रिला बुक्सबाट छिटै बजारमा आउँदै छ ।

यतिखेर दुर्गादम्पती भैंसेपाटीको विनायक कोलोनीमा रहेको कान्छा छोरा सञ्जय कुमारको घरमा बस्छन् । अचेल हरेक हप्ताको दुई दिन उनलाई रत्न पुस्तक भण्डार पुग्नैपर्छ । रत्न पुस्तकले उनलाई साहित्यिक पाण्डुलिपिको शुद्धाशुद्धि हेर्ने काम दिने गरेको छ । उनी कामबिना एक क्षण बस्न सक्दैनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुवसत्य परियार
ध्रुवसत्य परियार

परियार रातोपाटीका फिचर/ओपेड एडिटर हुन् ।

लेखकबाट थप