शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

दलका घोषणापत्रमा मानव अधिकारका विषय समावेश गर्न आयोगको आग्रह

बुधबार, १२ असोज २०७९, १६ : ४७
बुधबार, १२ असोज २०७९

राष्ट्रिय मानवअधिकार आयोगले राजनीतिक दलका घोषणापत्रमा मानव अधिकारका विषय समावेश गर्न ध्यानाकर्षण गराएको छ । मानव अधिकारको संरक्षण र सम्वर्द्धनमा राजनीतिक दलको भूमिका महत्वपूर्ण हुने भन्दै आयोगले मानव अधिकारसम्बन्धी विभिन्न ४१ वटा अन्तर्राष्ट्रिय महासन्धिहरुलाई नेपालले स्वीकार गरिसकेको सन्दर्भमा मानव अधिकारप्रतिको सम्मान, संरक्षण र परिपूर्ति गर्ने दायित्व राज्यका साथै सरकार सञ्चालन गर्ने दलहरूको पनि हुने प्रस्ट पारेको छ ।

यसै सन्दर्भमा आगामी मंसिर ४ मा सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको सन्दर्भमा राजनीतिक दलहरूबाट जारी हुने निर्वाचन घोषणापत्र/प्रतिवद्धता पत्रमा मानव अधिकारका विषय समावेश गर्न आयोगले निर्वाचनमा भाग लिने सबै दलहरूलाई आग्रह गरेको छ ।

‘विगतमा राजनीतिक दलहरुले तयार गरेका घोषणापत्रहरूलाई आयोगले नजिकबाट नियालिरहेको छ,’ आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘दलहरुले विगतमा आफ्ना घोषणापत्रमा मानव अधिकारका विषयलाई समावेश गरी मानव अधिकार प्रतिको आफ्नो प्रतिबद्धताको कार्यान्वयन गरेकोमा त्यसको सराहना गर्दै दलका आगामी घोषणापत्रमा अझ स्पष्टताका साथ मानव अधिकारका विषय समावेश हुनेछन् भन्ने आयोगले विश्वास लिएको छ ।’

विज्ञप्तिमा भनिएको छ, ‘हरेक राजनीतिक दलको प्रतिज्ञा पत्रको रुपमा सम्बन्धित दलहरूबाट जारी हुने निर्वाचन घोषणापत्र/प्रतिबद्धता पत्रमा मानव अधिकारको सम्मान, संरक्षण र सम्वर्द्धनका लागि नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐन, आयोगका सिफारिस तथा नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धता अनुरुप उच्च महत्व र प्राथमिकताका साथ मानव अधिकारका विषयलाई समावेश गर्न आयोग सम्पूर्ण राजनीतिक दलहरूलाई पुनः विशेष आग्रह गर्दछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप