शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभा छाडेर खगराज किन बसे प्रदेशसभामा ?

बुधबार, १२ असोज २०७९, १५ : ४१
बुधबार, १२ असोज २०७९

नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज एवम् स्थायी समिति सदस्य खगराज भट्ट यसपटक प्रतिनिधिसभा छाडेर प्रदेशसभामा उम्मेदवार बन्ने तरखरमा छन् । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग बारम्बार पराजित हुँदै आएका उनी यस पटक पराजयको शृङ्खला अन्त्य गर्न प्रतिनिधिसभा छाडेर प्रदेशसभामा उम्मेदवार बन्न लागेका हुन् ।

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री हुनेगरी उनी प्रदेशसभा निर्वाचनमा उम्मेदवार बन्न लागेको बताइएको छ । डडेलधुराबाट प्रतिनिधिसभातर्फ यसपटक पनि प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवा नै उम्मेदवार बन्ने छन् । त्यसो त, प्रधानमन्त्री देउवाले खगराजलाई कैलाली वा कञ्चनपुरमध्ये एक जिल्लाबाट प्रतिनिधिसभामा चुनाव लड्न सुझाएका थिए । तर खगराजले आफ्नो गृह जिल्ला नछोड्ने भन्दै प्रदेशसभामा उम्मेदवार बन्दै मुख्यमन्त्रीको दाबेदारका रुपमा आफूलाई अघि बढाउने तयारी थालेका हुन् ।

डडेलधुराको प्रतिनिधिसभामा गठबन्धनका तर्फबाट देउवाले प्रतिस्पर्धा गर्दा माओवादी केन्द्रका खगराजले प्रदेशसभामा उम्मेदवारी दिने योजना बनाएका छन् । मतदाता नामावलीमा खगराजको नाम प्रदेशसभा ‘ख’ मा भए पनि माओवादीको जनमत ‘क’मा बढी छ । त्यसैले उनी सम्भवतः ‘क’ बाटै उम्मेदवार बन्न सक्ने जनाइएको छ । यद्यपि खगराज भने आफू डडेलधुराबाटै चुनाव लड्ने सोचमा भए पनि भागबण्डा टुङ्गो लाग्न बाँकी रहेकाले अहिले नै यसै हुन्छ भनेर भन्न नसकिने बताए ।

‘सत्ता गठबन्धनमा भागबण्डा टुङ्गिसकेको छैन । मैले व्यक्तिगत रुपमा आफ्नै गृहजिल्ला नछोडौं भन्ने छ । त्यहाँका आमजनता र कार्यकर्ताको भावना गृहजिल्लाबाटै चुनाव लड्दिओस् भन्ने छ,’ उनले रातोपाटीसँग भने, ‘गठबन्धनको भावनासमेत त्यही भएको पाएको छु ।’ तर पार्टी र गठबन्धनको निर्णय विपरीत भने आफू नजाने खगराजले बताए । ‘मैले पार्टीले जहाँ मैदानमा पठायो, त्यहाँ लडेँ, मलाई हिजो प्रतिनिधिसभा चुनाव लड्नेगरी सिपाही बनायो, त्यहाँ लडेँ,’ उनले भने, ‘मैले जनताबाट प्रत्यक्ष अनुमोदनको राजनीतिमा विश्वास गर्ने भएकाले जहाँ भए पनि अनुमोदनकै अवस्थामा जानुपर्छ भन्ने छ ।’

प्रदेशसभामा चुनाव लडेपछि स्वाभाविक रुपमा आफू मुख्यमन्त्रीको दाबेदार हुने खगराजले बताए । ‘स्वाभाविक रुपमा प्रदेशमा निर्वाचित भएपछि मुख्यमन्त्रीको दाबी हुने भयो । मेरो त्यो हैसियत नहुने कुरा भएन,’ उनले भने, ‘तर भोलि गठबन्धनमा भागबण्डा कसरी हुन्छ ? सातै वटा प्रदेशको मुख्यमन्त्री कहाँ भागवण्डा पर्छ ? निर्वाचन परिणाम कस्तो आउँछ ? ती सबै विषयले निर्धारण गर्ने छ ।’ अहिलेको प्राथमिकता मुख्यमन्त्रीको दाबी भन्दा पनि जनताबाट निर्वाचित हुने विषय प्रमुख भएको खगराजले बताए ।

पार्टीमा अध्ययनशील, राम्रो वाककला भएको र जनतामा भिजेका खगराज तत्कालीन माओवादी नेता लेखराज भट्ट र प्रधानमन्त्री देउवाको प्रभावबाट पिल्सिँदै आएका थिए । ०५० सालदेखि पूर्णकालीन राजनीतिमा सक्रिय भएका खगराज तत्कालीन माओवादीले जनयुद्धमा जाने घोषणा गरेपछि भूमिगत भएका थिए । माओवादीले जनयुद्ध घोषणा गरे लगत्तै ०५२ फागुन २४ गते पक्राउ परेका उनी ९ महिना १४ दिन जेल बसे । जेलबाट छुटे लगत्तै पार्टी राजनीतिमा सक्रिय खगराज २०५८ सालमा डडेलधुरा जिल्ला सचिव, ०५९ सालमा जिल्ला इन्चार्ज र ०६० सालमा केन्द्रीय सदस्य भएका थिए ।

पहिलो संविधानसभा निर्वाचनमा देउवासँग १ हजार ३६८ मतले पराजित भएका उनी दोस्रो संविधानसभा चुनावमा देउवा भारी मतान्तरले पराजित भए । त्यतिबेला देउवाले २३ हजार ९२० मत ल्याउँदा खगराजले १२ हजार ४९३ मतमात्रै ल्याएका थिए । २०७४ सालको चुनावमा एमाले र माओवादीबीच वाम गठबन्धन बनेकाले खगराजले शेरबहादुरमाथि प्रेसर बढाएका थिए । तर चुनावमा सोचेजस्तो परिणाम आएन । देउवाले ६ हजार ९२९ मत अन्तरले खगराजलाई फेरि पराजित गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप