येँयाः पर्व अर्थात् इन्द्रजात्रा अझै बनाउन सकिन्छ भव्य

person explore access_timeअसोज १२, २०७९ chat_bubble_outline0

काठमाडौं उपत्यकाको ठूलो जात्रामध्ये एक इन्द्रजात्रा भर्खरै सकिएको छ । यस वर्ष यो जात्रासँग सम्बन्धित धेरै गुठी, समूह र निकायबिचको सहभागिता, समन्वय र व्यवस्थापनले जात्रा आकर्षक बन्यो ।  साथै, जात्रा अवधिभरको निकै पेचिलो ट्राफिक व्यवस्थापन पनि धेरै हदसम्म सफल रहेको मान्नुपर्छ । यो पर्व विश्वलाई देखाउन लायक छ भनिरहँदा यसमा भएका केही त्रुटीको पुनरावलोकन गर्नु पनि उत्तिकै आवश्यक छ । समग्रमा पर्व भव्यताका साथ सम्पन्न भएको छ । यसमा दुइ मत छैन । तैपनि केही विकृतितर्फ ध्यान जानु जरुरी छ । साथै केही ससाना तर महत्त्वपूर्ण सुधार गर्न सकिने पक्ष छन् ।


बुँदागत रुपमा टिप्पणी गर्दा जात्राको वास्तविक नाम स्थापित गर्नुपर्ने, यःसिंमाथि कुकृत्य रोक्नु, जात्रालाई पर्यटकमैत्री कसरी बनाउने, कुमारीलाई सिक्का प्रहार, परम्परागत पोशाकको प्रयोग, हाथु हायेकेगुलाई व्यवस्थित गर्ने, सांस्कृतिक पर्वलाई राजनीतिक क्रीडास्थल बन्न नदिने लगायत सुधार गर्नुपर्ने पक्ष छन् । यसको सामान्य विश्लेषण गरिन्छ ।



जात्राको वास्तविक नाम स्थापित गर्नुपर्ने



नेवार जातिले ‘येँयाः’ भन्दै आएको र अन्यले ईन्द्रजात्रा भनेर बुझ्दै आएको यो पर्व यसपालि येँयाःले शव्दको पुनः चर्चा पाएको छ । कतिपय यसलाई येँयाः नै भन्नुपर्ने अडान राख्छन् । उनीहरुको भनाइमा यो काठमाडौंको जात्रा हो । येँ भनेको काठमाडौं र याः भनेको जात्रा । तर भाषा र संस्कृतिका जानकार नेवार विद्वानहरु भने यहाँ येँ भनेर इन्द्रलाई नै जनाउन खोजेका बताउँछन् । नेपालभाषामा ईन्द्रलाई ‘यमाःद्यः’ भनिन्छ ।

नेपाल भाषाका लेखक रमेशकाजी स्थापितको भनाइमा यो काठमाडौंमा मात्र नभएर पाटन (यल), भक्तपुर (ख्वप) लगायत नेवार बस्ती भएका अन्य ठाउँमा पनि मनाउने गरिएको छ (येँयाः लाकि ईन्द्रजात्रा, नेपालभाषा टाइम्स, ११४३ यँलागा २) ।

अझ नेवारको बसाइँमा फैलावटसँगै सिक्किमदेखि अमेरिकासम्म पनि मनाउन थालिएको छ । काठमाडौंमा तीन दिनसम्म कुमारीको रथयात्रा पनि मनाउने हुनाले काठमाडौंमा यो जात्रा अन्य स्थानमा भन्दा भव्य देखिन्छ । तर कुमारी रथयात्रा त अन्तिम मल्ल राजा जयप्रकाश मल्लको पालामा मात्रै सुरु गरिएको हो ।

जबकि संस्कृतिविद्हरुको भनाइ अनुसार येँयाः वा इन्द्रजात्रा किरात कालदेखि चलिआएको पर्व हो । यस जात्रामा देखिने आजुद्यःहरु (भैरव) पनि किरात कालकै हुन् । किरातीहरु अनार्य भएका र आर्यका देवता इन्द्रलाई बेइज्जत गरिने अथवा जात्रा गरिने पर्व उपत्यकामा आर्यहरुको प्रवेशभन्दा अघिको हुनुपर्ने भनाइ प्राज्ञ डा. जगमान गुरुङको अभिमत छ ।

येँयाःको अर्थ इन्द्रजात्रा नै भए पनि परम्परादेखि चलिआएको मौलिक नाम येँयाःलाई विस्थापन गर्नु उचित होइन । नामहरु वा भनौं संज्ञावाचक नामको अनुवाद गरिँदैन । नेवार सभ्यताका ठाउँका नाम, पर्वका नाम, परिकारका नाम अनुवाद गरेर वा बिगारेर (अप्रभंश गरेर) चलनचल्तीमा ल्याउने कार्य धेरै समयदेखि भइरहेको छ । जुन जातिको प्रचलन हो, त्यही जातिले प्रयोग गर्ने नाम कायम गर्नुमा मौलिकता रहन्छ ।

तर हामीकहाँ थँबहीलाई ठमेल, थिमिलाई ठिमी, हुँदै हुँदै झम्सिख्यः (झम्सिखेल) लाई झमेल समेत भन्न थालिएको छ । अझ स्वयम्भूलाई ‘मंकी टेम्पल’ भनेर विश्वमै प्रचार गर्नु महान् धार्मिक स्थलको अपमान गर्नु होइन र ? यस्तै हुँदै जाने हो भने भोलि पशुपतिलाई ‘बुल टेम्पल’ वा ‘बुल गड’ नभन्लान् भन्न सकिँदैन ।

आज संसारभरि मौलिक नाम फर्काउने अभियान नै चलेको छ । पेकिङ बेइजिङमा फर्किएको छ, मद्रास चेन्नइमा र बर्मा म्यान्मामा । स्थाननामलाई मौलिक उच्चारणमा फर्काउने विश्यव्यापी अभियान नै छ । उल्लिखित तीन त सैयौं प्रयासमध्ये थोरै उदाहरण मात्र हुन् । तब, येँयाःलाई अनुवाद नगरी मौलिक नामबाटै किन सम्बोधन नगर्ने त ? अनुवादित नामले मौलिक नाममा भएको सुगन्ध बोक्दैन । यस वर्ष यसमा थोरै भए पनि सचेतना आएको छ, जुन राम्रो पक्ष हो ।

यःसिंमाथि कुकृत्य रोक्नु

येँयाः (ईन्द्रजात्रा) यःसिं ल्याउने कार्यबाट सुरु हुन्छ । भक्तपुरदेखि मान्छेले तानेर ल्याउने यःसिं अचेल डोजरले तानेर रत्नपार्क पु¥याउने गरिएको छ । यो हेर्दा ठूलो कुरा त नहोला, तर भोलि रथ पनि मान्छेले तान्ने ठाउँमा ट्याक्टरले ताने के होला त ? के त्यसले जात्राको अर्थ प्रदान गर्ला ? यसले जनसहभागिता र जनउत्साह रहला ?

कलाकार एकाराम सिंले आफ्नो चित्रकलामा मच्छिन्द्रनाथको रथ ट्याक्टरले तान्दै गरेको देखाएका थिए । उनले भोलि यस्ता विकृति हुन गई जात्राको सार नरहनेतर्फ इंगित गर्न खोजेका थिए ।

त्यसबाहेक पनि रत्नपार्कमा राखिएको यःसिंमाथि केही युवाले नाघ्ने, त्यसमाथि चढ्ने, उफ्रने गरेका भिडियो सामाजिक सञ्जालमा देखिएका छन् । अझ कसैले त राति पिसाब पनि फेरिदियो भन्ने सुनिन्छ । यःसिं देउतासित सम्बन्धित पवित्र वस्तु हो । हिजो काठमाडौंमा नेवार बाहुल्यता थियो । तिनले यस्ता धार्मिक सामग्रीका महत्त्व बुझ्दथे । तर अहिले काठमाडौंमा सबैतिरबाट मानिस आएकोले तिनले काठमाडौंका मूल्यमान्यता नबुझ्न सक्छन् । बरु पर्यटकहरु नेपाल आउनअघि नेपालबारे गाइडबुक पढेर धेरै कुरा बुझेर आउँछन् ।

तर, हामी जुन ठाउँमा बस्छौं, तिनै ठाउँको चालचलन र मूल्यमान्यता बुझ्नुपर्ने आवश्यकता ठान्दैनौं । अझ बाहिरबाट आएकाले स्थानीय रितिरिवाजलाई सकेसम्म होच्याउने प्रवृत्ति पनि छ । विदेशी वा विधर्मीबाट होइन, हाम्रै मान्छेबाट सांस्कृतिक अवमूल्यन भइरहेको छ । यस कुरामा सुधार गर्न जिम्मेवार सरकारी निकायहरु नै अग्रसर भई सर्वसाधारणलाई चेतना जगाउनतिर लाग्नुपर्छ । नभए कसैको पवित्र कुरालाई कसैले जथाभावी गरिरहने काम अझ बढ्दै जान्छ ।

काठमाडौं सहर पहिले जस्तो शान्त र शालीन रहेन । अहिले दुव्र्यसनीदेखि आपराधिक समूहको चलखेलको ठाउँ बनेको छ । यस्तोमा सांस्कृतिक, पुरातात्विक सम्पदाको संरक्षण जटिल बनेको छ । मौसम आएपछि जात्रा मात्र मनाइ रहनुभन्दा जात्रासित सम्बन्धित सबै विषयलाई कसरी सुरक्षित र मर्यादित राख्ने भन्ने कुरा जिम्मेवार सबै निकायले गम्भीरतापूर्वक सोच्नु जरुरी भइसकेको छ । नभए, सचेत जनताले ती निकायलाई घच्घच्याउनु पर्छ ।

जात्रालाई पर्यटक मैत्री कसरी बनाउने ?

अहिले सरकारी स्तरबाटै येँयाःको अन्तर्राष्ट्रियकरण गर्ने भनिएको छ । हिजो स्थानीयको उत्साह र उमंगको लागि चलाइएका जात्रा पर्व आजको विश्वव्यापीकरणको युगमा तिनलाई पनि विश्वव्यापी गराउने सोच सराहनीय छ । तर, बिना कुनै तयारी र पूर्वयोजना सोच आफैंले मूर्त रुप लिँदैन । यसैको उदाहरण भएको छ यस पालिको कुमारी जात्रा ।

विदेशी पाहुना बोलाउँदैमा अन्तर्राष्ट्रियकरण हुन्छ भन्नु अध्ययनको कमी ठहरिन जान्छ । महानगरपालिकाले विदेशी नगर प्रमुखहरु बोलाउने कार्य धेरै समय अघिदेखि गरिआएको हो । कोभिडको प्रकोप अघिको वर्ष सन् २०१९ को कुमारी जात्रा हेर्न विभिन्न देशका चौध नगर प्रमुखहरु आएका थिए । त्यसपछि प्रकोपको कारण रोकिएको मात्र थियो । यस पालि पच्चीस नगरका प्रमुख बोलाउँदा दुइजना मात्र आइ पुगे ।

विदेशका नगरप्रमुख बोलाउनु राम्रै हो, तर यतिले मात्रै अन्तर्राष्ट्रियकरण हुने होइन । हुने भएको भए अहिलेसम्म भइसक्थ्यो । अन्तर्राष्ट्रिय मिडिया र जनस्तरका पर्यटकबाट मात्र यो कार्य प्रभावकारी हुन सक्छ । तर, नेपालमै बसिरहेका पर्यटकलाई पनि कुमारी जात्रा हेर्न आए भने ती कहाँ बसेर हेर्छन्, त्यसको कुनै व्यवस्था छैन ।

निश्चय पनि पर्यटकहरु नेपालीको भीडमा मिसिएर घण्टौं बस्न सक्दैनन् । विदेशी मिडिया र पर्यटकको लागि उपयुक्त ठाउँ छुट्याइ दिने हो कि ? अहिले मोबाइलबाटै भिडियो लाइभ गर्न मिल्छ । ती पर्यटकले आआफ्ना माध्यमबाट आआफ्ना ठाउँमा गर्ने प्रचारबाट स्वस्फूर्त प्रचार हुन जान्छ । यसबाट विदेशीलाई नेपाल घुम्न आउन स्वाभाविक आकर्षण सिर्जना हुन्छ ।

जतिसुकै ठूलो कुरा गरे पनि हाललाई त यो पर्व राष्ट्रियकरण समेत हुन सकेको छैन । सुदूरका स्थानीय पर्वमा राष्ट्रभर विदा हुँदा इन्द्रजात्रामा उपत्यका विदा मात्र दिइन्छ । राज्यले यसलाई देशको पर्व नभएर उपत्यकाका नेवारको पर्व भनेर बुझेको छ । यदि यो दिन देशभर विदा दिइएमा काठमाडौं बाहिर बसेका नेवारहरुले आआफ्ना जिल्ला जिल्लामा पनि यो जात्रा निकाल्न सक्छन् । नेवारहरु पुगेका जिल्लामा स्थानअनुसार फरक फरक लाखेका नृत्य पनि छन्, जुन यो दिन निकाल्न सक्छन् ।

कुमारीलाई सिक्का प्रहार

अन्यबाट आउने विकृति छाडेर नेवारहरुकै पनि खराब बानी छ । यसपालि साह्रै नरमाइलो हुने गरी देखिएको एउटा दृश्य हो, कुमारीलाई चढाएको सिक्का कुमारीको आँखैमा लाग्नु । देउतालाई पैसा चढाउने नाममा देउताको जिउमै पैसा फाल्ने चलन पुरानै हो । यसले कतिपय ढुङ्गाका मूर्तिलाई चोट पु¥याएको छ भने कुमारी त जीवित देवी हुन् । पैसा चढाउने नाममा ताकेरै फाल्ने चलन अब हटाउनु पर्छ ।

कुमारीको शरीरमा चोट लाग्नुलाई देशकै लागि अपशकुन मानिन्छ । अलिकति नै होस्, रगत निस्किनु अझै अपशकुन मानिन्छ । त्यसपछि कुमारी नै फेर्नुपर्ने हुन्छ । मानौं कुमारी जात्रा मनाउँदै गर्दा सिक्काको चोटले कुमारीलाई घाउ हुन गएमा के हुन्छ ? स्थानीयले पनि आफ्नो व्यवहारमा सुद्धिबुद्धि ल्याउनु आवश्यक छ ।

परम्परागत पोशाकको प्रयोग

जात्रा पर्वमा परम्परागत बाजा र नृत्य त हुन्छ नै । यस पालिको कुमारी जात्रामा बाजा समूहमा युवाको सहभागिता बढेको छ । कतिपय युवायुवती परम्परागत नेवार पोशाकमा सजिएका देखिए भने कति क्लब, समूहको टिशर्टमा । कोही सामान्य पोशाकमा थिए । बाजा र नृत्य हेर्दा मनै प्रसन्न हुने खालको त थियो नै, परम्परागत पोशाकले आँखालाई पनि अझ मोहकता प्रदान गरेको थियो । तर अन्य पोशाकले त्यो शोभा दिन सकेको थिएन ।

अन्य देशमा पनि समारोहको लागि छुट्टै ‘ड्रेस कोड’को व्यवस्था हुन्छ । अहिले दृश्यको जमाना हो । हरेक क्षण क्यामेरामा कैद हुने जमाना हो । जात्रासित सम्बन्धितहरु परम्परागत पोशाकमा देखिँदा जात्राको दृश्य नै अलौकिक हुन पुग्छ ।

हाथु हायेकेगुलाई व्यवस्थित गर्ने

येँयाःको एउटा प्रमुख आकर्षण ‘हाथु हायेकेगु’ पनि हो । भैरवको मुखबाट निस्किने जाँडमा मुख थाप्न ठूलो भीड लाग्छ । जाँड प्रसाद लिनकै लागि तँछाड मछाड हुन्छ । जात्रा भएपछि थोरै उमंग र उन्माद हुनु स्वाभाविकै हो । नभए के को जात्रा ? तर उन्माद धेरै हुँदा दादागिरी हुने, उच्छृंखल कार्य हुनेतर्फ पनि ध्यान दिइनुपर्छ ।

हुन त अहिले महिलाको लागि एक दिन छुट्याइएको छ । तर पुरुषमै पनि कमजोर वा भलाद्मीहरु यस कार्यबाट टाढै रहन जाने हुन्छन् । यद्यपि प्रसाद ग्रहण गर्ने चाहना उनीहरुमा पनि हुन्छ । सबैले मौका पाउने र जात्राको जोश पनि नमर्ने गरी कसरी यसलाई व्यवस्थित बनाउन सकिन्छ, सोचनीय छ ।

राजनीतिक क्रीडा स्थल बन्न नदिने

अहिले सम्मको इतिहासमै नदेखिएको एउटा कुरा यस पालिको कुमारी जात्रामा देखियो । त्यो हो काठमाडौं महानगर पालिकाको प्रमुखको पक्षमा नाराको गुञ्जन । यसलाई उनको व्यक्तिगत लोकप्रियताको दृष्टिले हेर्न सकिन्छ । तर धार्मिक र साँस्कृतिक जात्रामा यस्तो राजनीतिक कार्य कतिको उपयुक्त हो ? कुरा कसको पक्षमा के नारा लाग्यो भन्ने होइन । प्रश्न सांस्कृतिक जात्रालाई राजनीतिकरण गरिनुहुन्छ कि हुँदैन भन्ने हो ।

अहिलेसम्म कुनै पनि जात्रामा कुनै पनि व्यक्ति वा पार्टीको पक्ष–विपक्षमा नारा लागेको थाहा छैन । यस्ता कुराहरु बढ्दै गएमा पर्वको अवमल्यून हुन जान्छ । भोलि यसैको देखासिकी गर्दै कसैले आफ्नो पक्षमा प्रायोजन गर्ला वा विपक्षलाई गिराउन पनि प्रायोजन हुन सक्ला । अनि जात्राको मूल्य नै के रहन्छ ?

जात्रा पर्व कसैको समर्थन वा विरोधको लागि होइन । कुमारी जात्राको जिम्मेवार एउटा निकायको प्रमुख आफैं यसमा सचेत हुनुपर्ने हो । नभए भोलि कुनै पनि जात्रा, पर्व, संस्कृतिको प्रतिष्ठा बाँकी रहने छैन ।

(येँयाःको लगत्तै कुमार श्रेष्ठले आयोजना गरेको क्लब हाउसमा अभियन्ता शैलेश शाक्य लगंगुरुजु, दिनेश मानन्धर, आर. मानन्धर आदिसित भएको सम्वाद र पर्वलगत्तै नेपालभाषाका पत्रिकामा प्रकाशित लेखहरुको आधारमा तयार गरिएको)

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।