बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपा प्रवेशसँगै रवीन्द्र मिश्र बने वरिष्ठ उपाध्यक्ष (तस्बिरहरु)

बुधबार, १२ असोज २०७९, १४ : ३३
बुधबार, १२ असोज २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी र रवीन्द्र मिश्र समूहको विवेकशील साझाबीच पार्टी एकता भएको छ । एकतासँगै मिश्र राप्रपाको वरिष्ठ उपाध्यक्ष भएका छन् । त्यस्तै १० दिनभित्र पार्टीमा अन्य तहगत एकता गरिने भएको छ । बुधबार काठमाडौमा आयोजित एकता घोषणा सभामा शंखघण्ट बजाउनुका साथै बटुकहरुबाट स्वस्ति बाचन गरेर एकता घोषणा गरिएको थियो ।

त्यस्तै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र मिश्रले घोषणापत्रमा हस्ताक्षर गरेर एकअर्कालाई प्रदान गरेका थिए । कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङले  रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा समूहसँगको एकता प्रक्रियाका क्रममा आफूमाथि कतिपयले एकता विरोधी भनेर प्रचार गरेपनि आफु पार्टी एकताकै पक्षमा रहेको प्रस्टिकरण दिएका छन् । 

बुधबार काठमाडौमा आयोजित एकता सभामा शुभकामना मन्तव्य राख्दै नेता तामाङले राप्रपाका कयौं विभाजनमा पनि आफु एकताको पक्षमा रहेको र अहिले पनि एकताका लागि लागि परेको बताए ।  ‘म पार्टी एकता विरोधी होइन, भन्न त कतिपयले एकताका क्रममा  एकताविरोधी भनेर समेत प्रचार गरे । तर म सधै एकताको पक्षमा रहँदै आएको छु’, तामाङको भनाइ छ । उपाध्यक्ष तामाङले मिश्रसहितका नेताहरु राप्रपामा आएकाले पार्टी समर्थक र शुभचिन्तकहरुमा ठुलो आशा र भरोसा पलाएको बताए । 

‘रवीन्द्र मिश्र यो पार्टीमा आउने भएपछि ठुलो आशा र भरोसा पलाएको छ । त्यो आशालाई परिपूर्ति गर्न उहाँ सक्षम हुनुहुनेछ’, तामाङको भनाइ छ ।    उनले आगामी दिनमा पार्टी संगठन र विचार अझ मजबुत भएर जाने विश्वास व्यक्त गर्दै आगामी निर्वाचनमा राप्रपाले इज्जतदार स्थान प्राप्त गर्ने बताए । कार्यक्रममा पृथ्वीनारायण शाहको फोटोमा माल्यार्पण गरेर एकताको घोषणा गरिएको थियो । तस्बिर: सुवास श्रेष्ठ/रातोपाटी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप