मानव र गैँडाबीच द्वन्द्व बढ्दै

person explore access_timeअसोज १२, २०७९ chat_bubble_outline0
file photo

चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिङ्गे गैँडा संरक्षण निकै चुनौतीपूर्ण बन्दै गएको छ । चोरी सिकारी र बासस्थान अभाव हुँदा नेपालकै पहिलो राष्ट्रिय निकुञ्जमा सो समस्या बढ्दै गएको हो ।  विसं २०२९ मा स्थापना भएका यस निकुञ्जमा २०५५ सालदेखि हालसम्म एक सय ७९ वटा गैँडा चोरी सिकारीका कारण मरेका छन् ।  


निकुञ्जको स्थापनापछि झन्डै डेढ दशक रोकिएको गैँडाको चोरी सिकार विसं २०४० को दशकपछि पुनः सुरु भई द्वन्द्वकालमा ह्वात्तै बढेको निकुञ्जको तथ्याङ्कले देखाएको छ । चितवनमा विसं २०५६ देखि २०६६ को बीचमा एक सय ५८ वटा गैँडा चोरी सिकारीका कारण मरेका थिए भने आर्थिक वर्ष ०५८/५९ मा एक वर्षकै अवधिमा ३८ वटा गैँडा चोरी सिकारीका कारण मारिए । यो तथ्याङ्क नै चोरी सिकारीका कारण सबैभन्दा बढी गैँडा मरेको वर्षका रुपमा रहेको छ । 



दुई आव ०६९/७१ र ०७३/७४ मा एक/एकवटा गैँडा चोरी सिकारीका कारण मरेका थिए । यसपछि केही वर्ष रोकिएको गैँडाको चोरी सिकारी आव २०७७//७८ मा तस्करले एक्कासि चारवटा गैँडा मारेको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ । गत आव २०७८/७९ मा चोरी सिकारीका कारण दुईवटा गैँडा मारिएका छन् । आव २०७१/७३ (दुई आर्थिक वर्ष) सम्म लगातार तथा २०७४/७७ (तीन आर्थिक वर्ष) सम्म चितवनमा गैँडाको चोरी सिकार भएन । सो समय निकुञ्जले ‘शून्य चोरी सिकारी वर्ष’समेत मनाएको थियो । 



त्यसैगरी, आव २०७४/७५ देखि एक हजार दिनसम्म चोरी सिकारीका कारण निकुञ्जमा कुनै पनि गैँडा नमरेका भन्दै निकुञ्जले उत्सवसमेत मनाएको थियो । यद्यपि अहिले पछिल्ला दुई वर्षदेखि निकुञ्जमा चोरी सिकारी र कालगतिका कारण गैँडाहरू भकाभक मर्ने क्रम बढेपछि संरक्षणमा चुनौती थपिएको छ ।

प्राकृतिक कारणले पनि गैँडा मर्ने क्रम बढ्दो अवस्था रहेको छ । गैँडा बुढो भएर, एकआपसमा जुधेर, दलदलमा फसेर, बच्चा जन्माउन नसकेर, बाढीले बगाएर र साना केटोलाई बाघले खाइदिएर मर्ने गरेका छन् । गत आव २०७८/७९ मा निकुञ्जमा ३७ गैँडा प्राकृतिक कारणले मरेको देखिन्छ । 

त्यस्तै अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा ३३ र आव २०७६/७७ मा ४३ गैँडा प्राकृतिक कारणले मरेका छन् । निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत रामप्रित यादवले पछिल्ला वर्षहरुमा गैँडा संरक्षणमा चुनौती थपिँदै गएको बताए । गैँडा संरक्षणको सबैभन्दा ठूलो समस्या भनेको चोरी सिकारी भएको यादवको भनाइ छ । गैँडाको उचित प्राकृतिक बासस्थान नहुँदा मानव बस्तीमा आउने कारण मानव र गैँडा बीचको द्वन्द्व पनि बढिरहेको उनको भनाइ थियो ।

त्यसैगरी, गैँडा संरक्षणको अर्को चुनौतीका रुपमा गैँडाहरू दलदलमा फस्ने र बाढीले बगाएर लैजाने समस्या रहेको उनले जानकारी दिए । निकुञ्जभित्र पर्याप्त मात्रामा घाँसे मैदान निर्माण तथा व्यवस्थापन र चोरी सिकारी नियन्त्रणमा ध्यान दिने हो भने गैँडा मर्ने क्रम घट्ने पूर्व संरक्षण अधिकृत यादवको भनाइ छ । 

यस्तो अवस्थामा निकुञ्जले गैँडा संरक्षणका लागि चरीचरनको व्यवस्थापन र चोरी सिकारी नियन्त्रणका लागि जनशक्ति परिचालन गर्नुपर्ने चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले बताए । घाँसे मैदान व्यवस्थापन तथा गैँडा आहाल बस्ने पोखरी निर्माण गरी उचित बासस्थानसहित गैँडा मर्ने क्रम रोक्नका लागि निकुञ्ज लाग्नुपर्ने उनको भनाइ छ । गैँडा राति सक्रिय हुने र दिउँसो झाडीमा लुकेर बस्ने तथा एकान्त ठाउँमा आहाल बस्ने वन्यजन्तु हो  । 

निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी गणेशप्रसाद तिवारीले गैँडाको चोरी सिकारलाई शून्यमा राख्ने आफूहरुको उद्देश्य भएको जानकारी दिए । निकुञ्जले नेपाली सेना, नेपाल प्रहरी तथा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको सहयोगमा तस्करीलाई पक्राउ गर्ने क्रम अघि बढाएको उनको भनाइ छ । समुदायको सहभागिता बिना गैँडाको संरक्षण गर्न चुनौती देखिएको उनको भनाइ छ  । गैँडा चोरी सिकारी विरुद्ध समुदायको जागरुकता र संरक्षणका लागि चौतर्फी सक्रियता बढ्दै गएको उनको भनाइ छ । 

निकुञ्जमा गैँडा मर्ने क्रम मात्रै बढेको छैन । यहाँ गैँडाको सङ्ख्यामा समेत वृद्धि भइरहेको छ । २०७८ को गणनामा देशभर सात सय ५२ गैँडा पाइएकामा  निकुञ्जमा मात्रै ६ सय ९४  गैँडा भेटिएका थिए । बर्दियामा ३८, शुक्लाफाँटामा १७ र पर्सामा तीन गैँडा छन्  । अघिल्लो २०१५ को गणनामा चितवनमा ६ सय पाँच गैँडा थिए । यसरी गैँडाको सङ्ख्या बढ्दा मानव बस्तीमा समेत आउने गरेका छन् । यसले मानव र गैँडाबीच द्वन्द्व बढ्दै गएको छ । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।