बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

कतै तपाईं ‘हार्ट अट्याक’को जोखिममा त हुनुहुन्न ?

बिहीबार, १३ असोज २०७९, १२ : ०४
बिहीबार, १३ असोज २०७९

चिकित्सकहरूका अनुसार बदलिँदो जीवनशैलीका कारण पछिल्लो समय हृदयाघात (हार्ट अट्याक) को जोखिम बढेको छ ।  मुटुसम्बन्धी समस्या भएमा हृदयाघात हुन्छ । मुटुमा रक्तप्रवाह गर्ने मुख्य तीनवटा नसामा रगतमा बोसो जमेर रक्तनली साँघुरो भएमा वा   धमनीहरु बन्द हुनुलाई हृदयाघात भनिन्छ । यो जुनसुकै उमेर समूहकालाई क्षणभरमै हुन सक्छ ।

हृदयाघातका लक्षण के के हुन् ?

हिँड्दा छाती दुख्ने, सो दुखाइ चिउँडोसम्म पुग्ने, दुखाइको समयावधि २० मिनेटभन्दा बढी हुने, पसिना आउने, एकछिन हिँड्दा बढी भारी महसुस हुने, बस्दा कम हुने गर्छ । यस्ता खालका समस्या देखिएमा मुटु रोग अर्थात् हृदयाघातको लक्षण हुन सक्छ । 

धेरैजसोलाई अन्जाइना दुखाइ पेटको रोग हो कि मुटुको भन्ने जिज्ञासा हुन्छ । पेटको रोगलाई ग्याष्टिकको रुपमा लिइन्छ । ग्याष्ट्रिक हुँदा बस्दा, उठ्दा, दौडिँदा दुखाइ जस्ताको तस्तै रहन्छ । मुटुको समस्या हुँदा अर्थात् हृदयाघातको अन्जाइना पेन भएमा हिँड्दा, कुनै काम गर्दा, दौँडिदा, भर्‍याङ् चढ्दा, दुखाइ बढेमा त्यसलाई मुटुको दुखाइ भनिन्छ । पेटको दुखाइको स्वरुप जस्ताको तस्तै हुन्छ भन्ने कुरा बुझ्नुपर्छ ।

हृदयाघात, अन्जाइना, मुटुको एक/दुई सेकेण्डको दुखाइलाई एन्जाइना भन्न मिल्दैन । एन्जाइना पेन हुँदा छातीनिर कम्तीमा २०/२५ मिनेट बढी दुख्छ । दुखाइ सर्दै चिउडोमा सर्ने, दायाँ हाततिर जाने, पसिना आउने, जिब्रो मुनि नाइट्रोविल्सिन ट्याब्लेट राख्दा मात्रै कम हुने, उकालो भर्‍याङ चढ्दा दुख्दा झन दुख्ने, बसेपछि कम भएमा यो मुटु दुखाइ हो भनेर बुझ्नुपर्छ ।

हृदयाघात हुनुका कारण के के हुन् ?

हृदयाघात हुनुको मुख्य कारण एन्जाइना पेन हो । हृदयाघात हुनेमध्ये सबैभन्दा वढी ब्लडप्रेसरका बिरामी ४० प्रतिशत छन् । नेपालको सन्दर्भमा हृदयाघात हुनेमध्ये ५० प्रतिशत ब्लडप्रेसर रोगी हुन्छन् । ब्लडप्रेसर  नियन्त्रण नहुनेहरुलाई हृदयाघात हुने सम्भावना उच्च हुन्छ ।

यस्तै, मधुमेहको रोगीलाई पनि हृदयाघात हुने सम्भावना हुन्छ । यस्तै, शरीरमा तरल पदार्थ बढी हुनुलाई कोलिस्ट्रोल भनिन्छ । कोलिस्ट्रोल भएका, वंशाणुगत अर्थात् घरमा आमा बुवालाई ५०/५५ वर्षको उमेरमा हृदयाघात भएको छ भने मुख्य जोखिम हुन्छ ।

यस्तै, तौल बढी भएका, शारीरिक अभ्यास नगर्ने, पिल्सको प्रयोग गर्दा, बढी तनाव, चिन्ता लिनेहरुलाई हृदयाघात हुन सक्छ । यस्तै, महिलालाई भन्दा पुरुषमा हृदयाघात बढी हुने गर्छ ।

कुन रोगका कारण हुन्छ हृदयाघात हुने उच्च जोखिम  ?

मुख्यत ब्लडप्रेसर, मधुमेह, धुम्रपान, कोलिस्ट्रोल, हृदयाघात वंशाणुगत हुँदै आएमा हृदयाघात हुने मुख्य जोखिम हुन्छ । ब्लडप्रेसर हुँदा धेरैले डाक्टरको सल्लाहअनुसार नियमित रुपमा यसको औषधि सेवन नगर्दा उच्च जोखिममा हुन्छन् ।

एकपटकमा ब्लडप्रेसर १४० भन्दामाथि पुग्यो, तलको प्रेसर ९० हुँदा तपाईं कस्तो मुडमा हुनुहुन्छ ? कतिको तनावमा हुनुहुन्छ ? त्यही आधारमा ब्लडप्रेसरको औषधि खानुपर्छ । एकैपटकमा ब्लडप्रेसरको औषधि खानुपर्दैन । ब्लडप्रेसरको गाइडलाइन्स अनुसार चिकित्सकको सल्लाहमा औषधि सेवन गर्नुपर्छ ।

युरोपिएन, अमेरिकन, भारतीय ब्लडप्रेसरको औषधि सेवनसम्बन्धि गाइडलाइन्स छ । अव कुन गाइडलाइन्स मान्ने भन्ने कुरामा नअल्झिएर नेपालको सन्दर्भमा १४० भन्दामाथि ब्लडप्रेसर  हुनुहुँदैन । तलको ब्लडप्रेसर ९० भन्दा माथि भएको खण्डमा सबैभन्दा पहिला मुख्य जोखिमलाई कम गर्नुपर्छ ।

ब्लडप्रेसरको जोखिम रहेमा नुन ५ ग्राम भन्दा बढी नखाने, तौल कम गर्ने, तनाव कम लिने, गर्भनिरोधक चक्की पिल्स कम सेवन गर्ने, धुम्रपान नगरेमा ब्लडप्रेसर कम हुन्छ । यस्तै दैनिक रुपमा ५ दिन शारीरिक अभ्यास गर्नुपर्छ ।

तर, कसैको प्रेसर १६० भन्दा माथि पुग्यो भने पहिला औषधि सेवन गर्ने अनि जीवनशैलीलाई पनि परिर्वतन गर्दै जानुपर्छ ।

घरमै प्राथमिक उपचार कसरी गर्ने ?

कहिलेकाहीँ चिउँडो, छाती १०/१५ सेकेण्डदेखि एक मिनेट दुखेर आत्तिदै अस्पतालमा आउने बिरामी धेरै हुन्छन् । तर दुखाइको समय कम्तिमा पनि २० मिनेट भयो भने मात्रै हृदयाघातको जोखिम हुन्छ । हृदयाघातको लक्षण देखिएमा आइस्प्रिन मुखमा राख्ने र नजिकको अस्पतालमा गएर इसीजी गरी चिकित्सकको सल्लाहअनुसार अगाडि बढ्नुपर्छ ।

हृदयाघात भएपछि घरमै राम्ररी प्राथमिक उपचार गरेमा यसबाट हुने ३७ प्रतिशत मृत्युलाई जोगाउन सकिन्छ । यद्यपि पेटको दुखाइ र हृदयाघातको लक्षण, अन्तरबारे थाहा पाउनुपर्छ ।

हृदयाघातको लक्षण देखिएमा एक्सिप्रिङ खानुपर्छ । हृदयाघात भई पल्टिएको अवस्थामा हातले सीटिआर दिने कार्य सबैलाई सिकाउनु पर्छ । हातको पल्स हेरेर, माउथ टु माउथ श्वास दिन सकिन्छ । त्यसका लागि सरकारले प्राथमिक स्वास्थ्य संस्थादेखि सर्वसाधारणहरुलाई तालिम दिन अतिआवश्क छ ।

हृदयघातबाट कसरी सजग हुने ?

नर्भिक अस्पतालका मुटु रोग विषेशज्ञ डा. जेपी जैसवालका अनुसार हृदयाघात हुनै नदिन निम्न उपाय अपनाउँदा वेश हुन्छः

दैनिक रुपमा कम्तीमा ३० मिनेट शारीरिक अभ्यास गर्ने ।

सकेसम्म शाकाहारी पोषणयुक्त खानेकुराहरु खाने ।

बनस्पति तेल, डाल्डा घिउ नखाने, तौल कम गर्ने, धुम्रपान कम गर्ने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप