शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीले परामर्श नगरी समानुपातिक लिष्ट तयार पारेको भन्दै पूर्व माओवादी समूह असन्तुष्ट

बुधबार, १२ असोज २०७९, २३ : ०१
बुधबार, १२ असोज २०७९

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा परामर्श नै नगरी समानुपातिक लिष्ट तयार पारेर निर्वाचन आयोगलाई बुझाएको भन्दै पार्टीमा असन्तुष्टी बढेको छ । प्रतिनिधि सभा र प्रदेश सभा तर्फ समानुपातिक लिष्ट बनाउँदा ओलीले पूर्व माओवादी समूहसँग छलफल नै नगरेर लिष्ट तयारी गरेपछि उनीहरु रुष्ट भएका छन् । 

पार्टीमा केपी ओलीले पार्टीसँग कुनै परामर्श नगरी खल्तीका मान्छेलाई मात्र समानुपातिकमा समेटेकाले असन्तुष्टि बढेको एक पूर्व माओवादी पदाधिकारीले बताए । ‘माओवादी हुँदा प्रचण्ड कमरेड थोरै भएपनि छलफल र परामर्श गर्नुहुन्थ्यो । यहाँ केपी कमरेडले कसैलाई सोधपुछ गर्नु भएन । पार्टीका को-को नेतालाई समानुपातिकमा राख्नुभयो थाहा छैन’ ती नेताले भने, ‘निर्वाचन आयोगले नाम सार्वजनिक नगर्दा सम्म थाहा नहुने भयो । अहिलेसम्म केही थाहा छैन ।’ 

समानुपातिक लिष्ट सार्वजनिक भएपछि पूर्व माओवादी नेताहरुलाई नसमेटेमा विद्रोह हुन सक्ने ती नेताले बताए । ‘हामीले माओवादीमा हुँदा खादाको सांसद पद गुमाएर केपी कमरेडलाई समर्थन गर्यौ । प्रत्यक्षमा नसमेटेका नेतालाई समानुपातिकमा समेट्नु पर्यो । यदी नसमेटेमा पार्टीमा विद्रोह हुनसक्छ’ ति नेताले भने । ओलीले आफ्नो गुटका नेताहरुसँग मात्रै छलफल गरेर पठाएपछि माओवादी समूहका नेताहरुले बाहिरै असन्तुष्टि पोख्न थालेका हुन् ।

राष्ट्रियसभा सदस्य रामबहादुर थापासहित प्रतिनिधि सभामा चार जनाले एमालेलाई समर्थन गरेका थिए । यस्तै सातै प्रदेशबाट १४ जना प्रदेशसभा सदस्य एमाले प्रवेश गरेका थिए । ती प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई प्रत्यक्ष वा समानुपातिक जसरी भएपनि सांसद बनाउने ओलीले बचन दिएका छन् । ती सबैले आयोगको फाइनल लिष्ट पर्खेर बसेका छन् । एमाले महाधिवेशनमा माओवादीबाट एमाले प्रवेश गरेका ३२ जनालाई केन्द्रीय समितिमा समेटिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप