बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

संविधान र शान्ति प्रक्रियाविरुद्ध षड्यन्त्र भइरहेको छ : प्रचण्ड

मङ्गलबार, ११ असोज २०७९, ११ : ००
मङ्गलबार, ११ असोज २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले संविधान र शान्ति प्रक्रियालाई पूर्णता नदिन षड्यन्त्र भइरहेको बताएका छन् । पार्टीको प्रवास समन्वय समितिको बृहत् राजनीतिक प्रशिक्षण कार्यक्रमलाई जुममार्फत सम्बोधन गर्दै प्रचण्डले संविधान र शान्ति प्रक्रियासँग सम्बन्धित विधेयक पारित गर्न नदिएर षड्यन्त्र गरेको बताएका हुन् ।

‘यो परिवर्तनको प्रक्रियालाई सुदृढ हुन नदिने यसलाई संस्थागत हुन नदिने प्रवृत्ति छ । यसलाई कहीँ न कहीँ डिरेल गर्ने अभ्यास भई नै राखेको छ’ प्रचण्डले भने, ‘नागरिकता विधेयकका सन्दर्भमा राष्ट्रपतिले संविधानको दायरा खुलेयाम मिचेर, संविधानको प्रावधान मिचेर विधेयक प्रमाणीकरण गर्ने अड्डी लिनुले त्यहीँ प्रतिगमनको प्रक्रिया जारी छ भन्ने देखाउँछ ।’ संविधान मिच्ने, संविधानको भावना र मर्मलाई लत्याउने प्रवृत्ति राष्ट्रपतिमा भएको भन्दै प्रचण्डले आपत्ति जनाए ।

शान्ति प्रक्रियालाई टुंगाउनेसँग सम्बन्धित विधेयक समेत रोकेको विषयमा समेत प्रचण्डले आक्रोश व्यक्त गरे । ‘शान्ति प्रक्रियासँग सम्बन्धित कामहरू टुंग्याउनेका निम्ति हामीले धेरै मेहनत गरेर तयार पारेको विधेयकलाई अगाडि बढाउन नदिने प्रवृत्तिलाई पनि त्यहीँ प्रवृत्तिले  अन्तिम समयमा सक्यो । शान्ति प्रक्रियालाई पूर्णता हुन नदिने भनेर लागि राखेका छन्’ प्रचण्डले आक्रोश व्यक्त गर्दै भने, ‘अहिले शान्तिका विरुद्ध र संविधानका विरुद्ध विभिन्न कोणबाट षड्यन्त्र भई राखेको छ । हामीले त्यसको आलोचना, खण्डन र जनतालाई प्रशिक्षित पनि गरेका छौ ।’ संविधान मिच्ने प्रवृत्तिहरू जनतामा राम्रैसँग बिस्तारै एक्सपोज हुँदै गएकोमा प्रचण्डले खुसी व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप