राष्ट्रिय खेलकुद : ९ हजार जनाको १० लाख रुपैयाँ बराबरको बीमा
मङ्गलबार, ११ असोज २०७९, २० : ५७
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडीलगायत गरी ९ हजार जनाको बीमा गरिदिने भएको छ । त्यसका लागि राखेप र राष्ट्रिय बीमा कम्पनीबीच मंगलबार सम्झौता भएको छ ।
राखेपका सदस्य–सचिव टंकलाल घिसिङ र कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकर अर्यालले सम्झौता पत्रमा हस्ताक्षर गरे । बिमित खेलाडीको संख्या ६ हजार रहेको छ भने बाँकी ३ हजारमा निर्णायक, प्रशिक्षक, व्यवस्थापक, कर्मचारी, अफिसियलगायत रहेको नवौं राष्ट्रिय खेलकुद कार्यकारी समितिको सचिवालय प्रमुख फणिन्द्र पौडेलले जनाएका छन् ।
बीमाको अवधि १ महिना रहेको छ । प्रत्येकको १० लाख रुपैयाँ बराबरको बीमा गरिएको हो । नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म हुनेछ ।