शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

हेलम्बुमा स्याउसँगै चिया खेती

मङ्गलबार, ११ असोज २०७९, १६ : ३५
मङ्गलबार, ११ असोज २०७९

स्याउ उत्पादनमा पहिचान बोकेको हेलम्बुले अब चियामा समेत पहिचान बोक्ने भएको छ । हेलम्बुका स्थानीयले बाँझो जग्गामा चिया खेती गर्न थालेपछि गाउँपालिकाले किसानहरूलाई निःशुल्क बिरुवा वितरण गर्न थालेपछि हेलम्बुमा चिया खेतीसमेत विस्तार हुन थालेको छ । दुई वर्षअघिबाट किसानलाई निःशुल्क बिरुवा वितरण गरेर सुरु गरिएको खेती गाउँगाउँमा फैलिएको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए । 

गाउँपालिका अध्यक्ष शेर्पाका अनुसार तीन वर्षअघि हेलम्बुको तिम्बुमा चियाको नर्सरी स्थापना गरी ३३ हजार बिरुवा उत्पादन गरिएको थियो । सुरुमा उत्पादित बिरुवा गाउँपालिकाका सबैजसो वडाका किसानले करिब दुई हेक्टर जमिनमा चिया खेती गरेका थिए । खेर गएको बाँझो जमिनमा चिया खेती सुरु गरेका स्थानीयले थप तीन सय रोपनी जग्गामा खेती विस्तार गर्दै गाउँलाई चियाको पकेट क्षेत्र बनाउने लक्ष्यअनुसार खेती गरिरहेका छन् ।

गाउँका किसानले चिया खेती गर्ने योजना बनाएपछि गाउँपालिकाले कीर्तिपुरस्थित चिया तथा कफी विकास शाखासँग समन्वय गरी स्थलगत सम्भाव्यता अध्ययन गरेको थियो । सातासम्म गरेको अध्ययनबाट समुद्री सतहबाट एक हजार दुईसय मिटरदेखि दुई हजार तीनसय मिटर उचाइसम्म चिया खेती सम्भव हुने पाइएपछि चियाको नर्सरी तयार गरी बिरुवा उत्पादन गरिएको अध्यक्ष शेर्पाले जानकारी दिए ।

“गाउँमै रोजगारी हुने मात्रै नभई पालिकालाई अर्थतन्त्रमा बलियो बनाउन यसले सहयोग पु¥याउने अपेक्षा छ”, अध्यक्ष शेर्पाले भने, “चिया खेती थप गर्ने क्रममा रहेकाले गाउँमै प्रशोधन केन्द्र स्थापना गर्ने योजना रहेको छ ।” गाउँपालिकाको अन्नबालीको उत्पादन कम हुने क्षेत्रमा नगदेबालीको रुपमा फलफूल तथा अन्य खेतीलाई प्राथमिकता दिने योजनाअनुसार गाउँपालिकामा स्याउ तथा चिया खेती गर्न थालिएको हो । 

यस्तो खेतीबाट गाउँमै रोजगारीको वातावरण सिर्जना गर्दै थप पर्यटन प्रवद्र्धनका लागि गाउँवासीकै सक्रियतामा चिया खेती लगाएको गाउँपालिका कृषि शाखा प्रमुख टोपबहादुर बरुवालले बताए । हेलम्बु गाउँपालिकाको सहयोगमा अर्थोडक्स चिया लगाइएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप