शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बिग मर्जर नीतिको प्रभाव : बैंकको संख्या घट्दो, पुँजीकोष बढ्दो

मङ्गलबार, ११ असोज २०७९, १५ : ३८
मङ्गलबार, ११ असोज २०७९

नेपाल राष्ट्र बैंकले लिएको बिग मर्जर नीतिले बैंकहरुको संख्या कम र पुँजीकोष वृद्धि हुन थालेको छ । पछिल्लो समय बढ्दो बैंक मर्जरको लहरले अबको केही महिनाभित्रै वाणिज्य बैंकहरुको संख्या घटेर २१ मा झर्नेछ । कुनै समय ३२ वटासम्म वाणिज्य बैंक रहेकोमा सो संख्या घटेर अहिले २६ वटामा झरिसकेको छ । थप १० वटा बैंकहरु मर्जरको लाइनमा छन् । 

ग्लोबल आईएमई बैंक, बैंक अफ काठमाडौं, नेपाल इन्भेष्टमेन्ट बैंक, मेगा बैंक, नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक, कुमारी बैंक, प्रभु बैंक, सेन्चुरी बैंक र हिमालयन बैंक  सिभिल बैंक निकट भविष्यमा नै मर्जरमा जाँदैछन् । यी १० वटा बैंकहरु एक आपसमा मर्जर तथा एक्वीजीसन हुने तयारी छ । यसपछि वाणिज्य बैंकको संख्या २१ वटामा झर्नेछ । 

मर्जर र एक्वीजीसन प्रक्रियामा रहेकामध्ये नेपाल इन्भेष्टमेन्ट बैंकसँग मेगा बैंक, ग्लोबल आईएमई बैंकसँग बैंक अफ काठमाडू र कुमारी बैंक र एनसीसी बैंक मर्जरमा जाँदैछन् । यस्तै, हिमालयन बैंकले सिभिल बैंकलाई अक्वायर गर्न लागेको छ भने प्रभु बैंकले सेन्चुरी बैंकलाई अक्वायर गर्ने सम्झौतापत्रमा हस्ताक्षर भइसकेको छ ।

यसअघि नै नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई अक्वायर गरेको थियो । बैंकहरू एकपछि अर्काे गरी मर्जर तथा एक्वीजीसनमा जान थालेपछि अन्य बैंकहरुलाई समेत दबाब पर्न थालेको छ । 

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको संख्या कम गर्नको लागि मर्जर तथा एक्वीजीसनलाई दबाब दिँदा बैंकहरुले चाहेर वा नचाहेर पार्टनर खोज्न बाध्य छन् । वाणिज्य बैंकहरुको संख्या १५ वटाको हाराहारीमा राख्ने केन्द्रिय बैंकको अघोषित नीति छ । 
केही महिनाअघि मात्र राष्ट्र बैंकले सार्वजनिक गरेको बजार सर्वेक्षणमा नेपालमा १२ देखि १५ वटा मात्र वाणिज्य बैंक भए पुग्ने अभिमत प्राप्त गरेको थियो । सोही रिपोर्ट पश्चात बैंकहरुमाथि मर्जरको थप दबाब परेको हो । 

२१ वटा बैंक, ६ खर्ब ९२ अर्बको पुँजीकोष 

वाणिज्य बैंकहरुको संख्या कम हुँदै गएपछि बैंकहरुको पुँजीकोष भने बढ्दै गएको छ । अहिले मर्जरमा गएका र मर्जरमा जाने सम्झौता भएका समेत गरी वाणिज्य बैंकहरुको संख्या २१ मा झर्ने देखिएको छ । वाणिज्य बैंकको कुल पुँजीकोष भने गत असार मसान्तमा नै ६ खर्ब ९२ अर्बमाथि पुगिसकेको छ ।

केन्द्रीय राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्ममा कायम २७ वटा वाणिज्य बैंकको कुल पुँजी कोष ६ खर्ब ९२ अर्ब ८९ करोड ७ लाख रुपैयाँ रहेको छ । 

मर्जर/एक्वीजीसनमा रहेका बैंकको हुने पुँजीकोष (रकम रु.१० लाखमा) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप