यसपाला चैं दशैं आयो

person explore access_timeअसोज ११, २०७९ chat_bubble_outline0

मनमा कोही पर्खिएर बसेको हुन्छ भनेर
देश फर्किन्छन् प्रत्येक दशैं सम्झेर
घर छोडेर लाहुर हिँडेकाहरु ।


उसको पनि अधुरो घर छ
उसकी जहान छोरी छिन् घरमा
न उसलाई दशैं लाग्छ
न महामारी ।



एकै रात घर छोडेर सदरमुकाम जाँदा
‘घर एक्लो हुन्छ,
बेसहरा भयो
अब घरलाई कसले ढाडस दिन्छ ?’ 
भनेको सम्झिन्थ्यो
धेरै गुमाएर केही कमाउन गएको लाहुरे ।



जवानीमै बूढो भएको
बेल्का पाकेको आकाशको बादल देखेर
एक बिहान तन्नेरी बन्न खोज्दैछ
खोइ किन हो 
कसको आगमनलाई कुरेर बसेको हुन्छ घाम ।
अब त जिन्दगीका पाँच बर्ष घामले पोले पनि 
अघाएन पैसाको मन लाहुरेको ।

अनुहारमा खुलेका स्पष्ट चाउरीलाई छामेर
मुलुक फर्किन मन त लाग्दो हो,
परानमै बसेका प्याराहरुलाई सम्झेर
गाउँ पस्न रहर लाग्दो हो,
फेरि बेला बेला याद पनि आउँदो हो
एक धुरीको छानो फेर्न
चार बर्ष कुरेको
थप एक बर्षदेखि
हावा पानीलाई छेक्न 
झ्यालढोका राख्न नसकेको अस्थिपन्जर घर ।

कसैले नाङ्गो खुट्टामा एक जोर चप्पल राख्देर
आचाक्ली खुसी भएका खुट्टाहरु,
जिउ भरी लुगा लगाएर
हुरुक्कै हुन सकेको छैन
धेरै समयदेखि ।

बर्षका बर्ष दिन थपिदै गए
दिनको दिन रिन थपिदै गए
रिनले ‘भयो एकछिन’ भनेर सुत्न दिएको छैन
अब उ निदलाई दराजको सानो खोपामा राखेर 
चाबी लुकाएको छ तमसुक सङ्गै ।

उसलाई अब लाग्न थालेको छ
ट्रक पछाडि लेखिएको अक्षरहरु जस्तो 
हुँदैन रहेछ जिन्दगी
कमाउने त देशमा हो, 
बरु घुम्न पो विदेश जाने हो भनेर ।

घरबाट जहानको फोन आएको छ
मथिङ्गल हल्लिएको छ बेस्सरी
लर्बराएको छ जिब्रो
आवाज मधुरो छ
छ बर्षकी छोरीले घरमा उत्तर मागेकी छे
आमा नयाँ पुराना मान्छेहरु गाउँ आएका छन्
 फेरि रोग फैलियो र ?
छोरीको उत्तर थुक निल्दै फर्काएकी छे,
होइन लाटी, यस्पाला चैं दशैं आयो ।
             हेल्थ असिस्टेन्ट, कैलाली

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।