मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जीतपुर सिमरा उपमहानगरका प्रशासकीय प्रमुख निजी भ्रमण सकेर डेढ महिनापछि फर्किए

सोमबार, १० असोज २०७९, २० : ०५
सोमबार, १० असोज २०७९

जीतपुर सिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतकुमार पोखरेल कार्यालयको कामकाज ठप्प हुनेगरी करिव डेढ महिना निजी भ्रमणमा गएर आइतबार फर्किएका छन् । प्रमुख प्रशासकीय अधिकृत पोखरेल सामाजिक शाखाका कर्मचारीसहित जम्बो टोली लिएर भारतको गोवा, बाबाधाम, वैष्णोदेवी, ओमशान्ति लगायत तीर्थाटन गएका हुन् ।

उपमहानगरका उपप्रमुख भोला अधिकारीले कार्यालयको कामकाज ठप्प हुनेगरी कार्यालयका अधिकृत बोकेर प्रशासकीय प्रमुख निजी भ्रमणमा गएको भन्दै आपत्ति जनाएका छन् । ‘डेढ महिना भइसक्यो कार्यपालिका बैठक बस्न सकेको छैन, उपमहानगर जस्तो यति ठुलो जनसंख्या भएको कार्यालयको प्रशासकीय प्रमुख अन्य कर्मचारीसमेत लिएर निजी भ्रमणमा जानु आपत्तिजनक र खेदजनक छ,’ उपप्रमुख अधिकारीले भने । प्रशासकीय प्रमुख नहुँदा यतिन्जेल कार्यालयको काम ठप्प भएको उनले बताए ।

नगर प्रमुख राजन पौडेलले प्रमुख प्रशासकीय अधिकृत पोखरेलले २२ दिनको मात्रै बिदा स्वीकृत गराएको जनाए । ‘उहाँले केही दिन बिदा स्वीकृत नै नगराइ हिँड्नु भएको छ, यो विषयमा सोधपुछ गर्छु’ उनले भने । नगरसभाबाट पारित भएका योजना कार्यान्वयन गर्ने, कर्मचारी प्रशासनलाई चुस्त दुरुस्त कामका खटाउने प्रमुख जिम्मेवार व्यक्ति नै गैर जिम्मेवार ढङ्गले अधिकृत बोकेर आफूखुसी हिँडेको उपप्रमुख अधिकारीको आरोप छ ।

पोखरेलले सामाजिक शाखाका प्रमुख हरिकिशोर साह कानुसहित अन्य कर्मचारीलाई लिएर पहिलो चरणमा २२ दिनका लागि भारतको गोवा र वैष्णोदेवी गएका थिए भने दोस्रो चरणमा बाबाधाम पुगेको उपमहानगर स्रोतले जनाएको छ । भ्रमण टोलीमा सहभागी सामाजिक शाखाकी कर्मचारी दुर्गा न्यौपानेले पहिलो चरणको भ्रमणमा प्रमुख प्रशासकीय प्रमुखसँग गएको तर दोस्रो चरणमा को–को गएको भन्ने विषयमा आफूलाई जानकारी नभएको बताइन् ।

उपमहानगरले हरिकिशोर साह कानुलाई डेढ महिना अघि नै सामाजिक शाखाबाट वडा नं २३ को वडा कार्यालयमा सरुवा गरेको थियो तर उपमहानगरको निर्णय अटेर गरेर साह सामाजिक शाखामै बसेका छन् । उपमहानगरको निर्णय अटेर गर्ने कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतले नै संरक्षण गर्दै तीर्थाटनमा लगेको भन्दै अन्य कर्मचारी चकित भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप