दसैँ बजारमा उपभोक्ताको स्वास्थ्यमा ध्यान दिन आग्रह

बुटवलमा दसैँ सस्तो बजार सुरु भएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा सोमबारदेखि संघको सचिवालय परिषद वालमन्दिरमा दसैँ सस्तो बजार सञ्चालन गरिएको हो ।
पाँच दिनसम्म सञ्चालन गरिने दसैँ सस्तो बजारको बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरे । त्यस अवसरमा बोल्दै उनले दसैँ सस्तो बजारका माध्यमबाट खस्किँदै गएको बुटवलको व्यापार प्रवर्द्धन गर्नुको साथै बजारलाई गुल्जार बनाउने विश्वास व्यक्त गरे । कार्यक्रममा संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले उपभोक्ताको हितको लागि दसैँ सस्तो बजार सञ्चालन गरिएको बताउँदै बाहिर बजारमा भन्दा सुलभ मूल्यमा बस्तुको बिक्रीवितरण गरिने जानकारी गराए ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले उपभोक्ताको हित प्रशासनको प्राथमिक चासोको विषय रहेको बताउँदै उपभोक्ताको स्वास्थ्यमा ध्यान दिन आग्रह गरे । उनले विशेष गरेर चाडपर्वको समयमा मासु तथा मिठाईमा गुणस्तरको कमी भएको पाइएको भन्दै उपभोक्ता मूल्यलाई समेत ध्यान दिनुपर्ने भनाई राखे । जिल्ला सुरक्षा समितिले चाडपर्व लक्षित सुरक्षा व्यवस्था तयार गरेको बताउँदै प्रमुख जिल्ला अधिकारी पाण्डेले आपराधिक गतिविधि रोक्न भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको जानकारी गराए ।
नेपाल राष्ट्र बैंककी निर्देशक रञ्जना पौडेलले रसिया युक्रेन युद्धले नेपालमा मात्रै नभएर विश्वमै मुल्यवृद्धि भएको भनाई राखिन् । कार्यक्रममा विभिन्न संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । पञ्चमीसम्म सञ्चालन गरिने दसैँ सस्तो बजारमा नेपाल दुग्ध विकास संस्थान (डिडिसी), साल्ट ट्रेडिङ, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसहित विभिन्न कम्पनीका घ्यू, पनिर, रसबरीलगायतका दुग्धजन्य उत्पादन, नुन, चामल, तेल, चामलको तेल, चिया, कफी, अचार, साबुन, कपडा, जुत्ता चप्पल लगायतका दैनिक उपभोग्य सामानसहित अण्डा, कुखुरा, जिरा मसला, ताजा फलफूलहरूको विक्री वितरण गरिएको छ । दसैँ बजारमा नेपाल राष्ट्र बैंकको सहयोगमा नयाँ नोट सटहीको व्यवस्था मिलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेशबाटै लाइसेन्स र ब्लु बुक छाप्दै बागमती सरकार
-
दैनिक उपभोग्य सामाग्रीको भन्सार महसुल घटाउन माग
-
प्रहरीको विधि विज्ञानतर्फ योग बहादुर पाल एसएसपी बढुवा सिफारिस
-
पोखरा विमानस्थलमा भ्रष्टाचार : २ अर्ब २२ करोड तत्काल असुलउपर गर्न सिफारिस
-
शिक्षक आन्दोलन : सर्वोच्चको आदेश कार्यान्वयन गरी समस्या समाधानका लागि पहल गर्न बारको अपिल
-
काठमाडौँक बढ्दो शहरीकरण कसरी व्यवस्थापन गर्ने ? - राज महर्जन, शहरी योजनाकार