शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विद्यार्थीलाई ओपीडी सेवामा ५० प्रतिशत छुट दिने सहमति

सोमबार, १० असोज २०७९, २२ : २९
सोमबार, १० असोज २०७९

नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग विद्यार्थीहरुलाई ओपीडी सेवामा ५० प्रतिशत छुट दिने सहमति भएको बताएको छ । 

सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संगठनले सरकारी अस्पतालको ओपीडी सेवामा ५० प्रतिशत छुट दिने सहमति भएको बताएको हो । मन्त्रालयले स्वास्थ्य मन्त्रालय अन्तर्गतका संघीय अस्पतालहरुमा उपचार गर्न जाने विद्यार्थीहरुलाई विद्यार्थी परिचय पत्रको आधारमा ओपिडी शुल्कमा ५० प्रतिशत सहुलियत दिने निर्णय भएको र सबै प्रदेश र स्थानीय तह अन्तर्गतका सरकारी अस्पतालहरुमा समेत यसै बमोजिम ५० प्रतिशत छुटको व्यवस्था मिलाउन अनुरोध गर्ने भनि मन्त्रीस्तरीय निर्णय भएको जानकारी गराएको छ ।

 पत्रकार सम्मेलनमा बोल्दै संगठनका अध्यक्ष सुदेश पराजुलीले सरकारी, सामुदायिक विद्यालयत तथा क्याम्पसका विद्यार्थीहरुलाई सरकारी अस्पतालहरुमा ओपीडी सेवामा ५० प्रतिशत सहुलियत सुनिश्चित गर्ने सहमति भएको बताए । उनले सरकारी अस्पतालको ओपिडी सेवामा विद्यार्थी परिचय पत्रको आधारमा ५० प्रतिशत छुटको व्यवस्था लागू हुने बताए । अनेरास्ववियूले यसलाई विद्यार्थी आन्दोलनको उपलब्धिको रुपमा लिएको उनको भनाइ छ ।

विद्यार्थीको परिचयपत्रको आधारमा सहुलियत दिने अस्पतालहरुमा कान्ति बाल अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग, परोपकार प्रसूती तथा स्त्री रोग, आयुर्वेद चिकित्सालय लगायतका देशभरका २७ वटा अस्पताल छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप