बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय काँग्रेसको अध्यक्षमा शशी थारुरले उम्मेदवारी दर्ता गर्ने

सोमबार, १० असोज २०७९, १६ : २१
सोमबार, १० असोज २०७९

भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसको अध्यक्ष पदका लागि वरिष्ठ नेता शशी थारुरले उम्मेदवारी दर्ता गर्ने भएका छन् । सङ्घीय संसदको सांसद समेत रहेका थारुरले यही सेप्टेम्बर ३० मा उम्मेदवारी दर्ता गर्ने भएका हुन् । उनले भने, “काँग्रेसका देशभरीका प्रतिनिधिहरुले मलाई उम्मेदवारी दर्ताका लागि उत्प्रेरित गरेका छन्, त्यसैले उनीहरुको भावना र आग्रह अनुसार मैले उम्मेदवारी दर्ता गर्न लागेको हुँ ।”

उम्मेदवारी दर्ताका लागि ५० जना प्रस्तावक चाहिनेमा सबै प्रस्तावकको तयारी भइसकेको पनि उनले जानकारी दिए । उनी अध्यक्षमा निर्वाचित भए भने भारतीय राष्ट्रिय काँग्रेसमा २५ वर्षपछि मात्रै गान्धी परिवारभन्दा बाहिरको व्यक्ति अध्यक्ष हुनेछ । यसअघि सन् १९९६ मा सीताराम केसरी गान्धी परिवारभन्दा बाहिरको नेता काँग्रेसको अध्यक्ष भएका थिए । उनले शरद पवार र राजेश पिलोटलाई पराजित गरेका थिए । त्यसपछिको निर्वाचनमा भने सन् १९९८ मा जितेन्द्र प्रसादलाई सोनिया गान्धीले अध्यक्षमा पराजित गरेका थिए ।  

केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष मधुसुदन मिस्त्रीले पार्टी केन्द्रीय कार्यालयमै उम्मेदवारी दर्ता फाराम उपलब्ध हुने जानकारी दिए ।  भारतीय राष्ट्रिय काँग्रेसलाई लामो समयदेखि अन्तरिम अध्यक्षले सञ्चालन गर्दै आएका छन् । गत आम निर्वाचनमा पार्टीले नराम्रोसँग पराजय भोगेपछि तत्कालीन अध्यक्ष राहुल गान्धीले हारको जिम्मेवारी लिँदै नैतिकताका आधारमा पदबाट राजीनामा दिएका थिए ।

उनको राजीनामा लामो समयसम्म अस्वीकृत गर्दै उनलाई नै अध्यक्षको जिम्मेवारी सम्हाल्न आग्रह गरिएको थियो । तर जति आग्रह गर्दा पनि उनले नमानेपछि उनकै आम तथा पूर्व अध्यक्ष सोनिया गान्धीलाई नै अन्तरिम अध्यक्षको जिम्मेवारी दिएको छ । 

अब हुने महाधिवेशनबाट पनि राहुल गान्धीलाई नै अध्यक्ष बनाउनु पर्ने पक्षमा उभिँदै आएका नेताहरुको सङ्ख्या धेरै छ । तर उनको बारेमा स्पष्ट निर्णय भइनसकेको बेला थारुरले उम्मेदवारी दिने तयारी गरेका हुन् । पार्टीभित्रको आन्तरिक विवाद र अन्योलताका बीच लामो समयपछि भारतीय काँग्रेसले नयाँ नेतृत्व पाउने भएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप