शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मनास्लु आधार शिविरमा हिमपहिरो, १२ जना घाइते

सोमबार, १० असोज २०७९, १६ : ०६
सोमबार, १० असोज २०७९

गोरखाको मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो गएको छ । पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले मनास्लु आधारशिविरमा हिमपहिरो गएको र सो घटनामा १२ जना घाइते भएको  जानकारी दिए ।

घाइतेमध्ये तीनजनाको अवस्था गम्भिर रहेको र ६ जना सामान्य घाइते भएको उनले बताए । मनास्लु हिमाल आरोहण गरेर फर्कने क्रममा एक विदेशी नागरिक सम्पर्कविहीन भएको पनि उनले जानकारी दिए ।  हिमपहिरोमा परेकाको उद्धारका लागि काठमाडौंबाट तीनवटा हेलिकोप्टर  पठाइएको छ । यद्यपि, मौसम खराबीका कारण घटनास्थलमा अवतरण हुन नसकेको र हेलिकोप्टर गोरखाको सामागाउँमा अवतरण गरेको जनाइएको छ । 

मनास्लु हिमपहिरोमा परेकाको उद्धारका लागि गएका मिङ्मा शेर्पाले मौसम खराबीका कारण उद्धारमा कठिनाइ भएको जानकारी दिए । गोरखाको सामागाउँमा तीन वटा हेलिकोप्टरसहित शेर्पा टोली तयारी अवस्थामा रहेको उनले जानकारी दिए । चुमनुब्री गाउँपालिका–१ स्थित मनास्लु हिमालको आधार शिविरमा पहिरो गएको बताइएको छ ।

मनास्लु हिमाल आरोहण गर्न गएका विदेशी र उनीहरुका सहयोगी नेपाली आधार शिविरमा छन् । सेभेन समिट ट्रेकलगायत विभिन्न कम्पनीबाट आरोही मनास्लु गएका हुन् । पर्यटन विभाग पर्वतारोहण शाखाका अनुसार शरद ऋतुको मनास्लु हिमाल आरोहणका लागि ३८ आरोही समूहका चार सय चार आरोहीले आरोहण अनुमति लिएका छन् । यो सिजनमा सगरमाथा, मनास्लुसहितका १५ हिमाल तथा चुलि आरोहणका लागि जम्मा ५८ आरोही समूहका पाँच सय ६ जनाले आरोहण अनुमति लिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप