शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

हुलाकी सडकले पुराना बजार गुल्जार हुँदै

सोमबार, १० असोज २०७९, १५ : ४७
सोमबार, १० असोज २०७९

सिरहा—धनुषा—सप्तरी खण्डमा करिब ९० प्रतिशत हुलाकी सडक कालोपत्र भएको छ । यसको अन्तिम चरणको काम भने बाँकी छ । सडक बनेसँगै सडक क्षेत्रको जग्गाको मूल्य बढेको छ । 

घनाबस्ती हुँदै गएको यस क्षेत्रमा हुलाकी सडकलाई मधेसको लाइफलाईन मानिन्छ । कमला नदी र सिरहामा पर्ने गागनलगायत केही खोलामा पुल निर्माणको काम पूरा नहुँदा तीनटै जिल्लाका ग्रामीण क्षेत्र विकासमा पछि परेको छ । पुल बन्यो भने राजविराजबाट —सिरहा हुँदै सीधा धार्मिक महत्व बोकेको सहर जनकपुरधामसम्म सवारी सञ्चालन हुनेछ ।

 हुलाकी सडक सुख्खा मौसमा धुलाम्मे र वर्षामा हिल्लाम्मे देखिने गरेकोमा कालोपत्र भएपछि प्रत्येक किलोमिटरमा नयाँ चोक निर्माण निर्माण भएको छ भने पुरानो बजार गुल्जार भएको छ । सप्तरीमा बोदे बर्साइन् बजार, डिमन, पथरगडा, अर्नाहा, चन्ही चोक, सिरहामा भगवानपुर, सोनवर्षा, बरयारपट्टी, औरही, सनहैठा, धनुषमा कमला, तीन कोरिया, लगमा, सघरा, औरही, भेल लागायतका बजार  तीव्र गतिमा विकास भइरहेको छ ।

 यो राष्ट्रिय गौरवको आयोजना अन्र्तगतको  हुलाकी सडकमा पर्ने पुराना बजारले काँचुली फेरेको छ । हुलाकी सडकमा पर्ने बजारको विकास भएसँगै  ग्रामीण जनताको जीवनस्तर उकासिएको छ । ठूला लगानीका पसल थपिएको छ ।  किनमेल गर्न लहान जानुपर्ने अवस्थाको अन्त्य भएको भगवानपुर गाउँपालिकाका जयनारायण यादवले बताए । सिरहाको बरियारपट्टी बजारको स्वरुप यति बेला फेरिएको छ । बजारको स्वरुप फेरिएसँगै त्यहाँका स्थानीयवासीमा पहिलाको भन्दा अचेल बेग्लै खालको उत्साह देखिन थालेको छ । “पहिला पहिला बजार क्षेत्रमा साघुँरो सडक र फुसको छाप्रो, त्यहीँभित्र साना–साना व्यवसायी मात्र थिए”, बरियारपट्टीका शङ्कर साहले भने, “तर अहिले सडक फराकिलोसँगै ठूलठूला पक्की भवन र ठूलो लगानीका पसल खुलेका छन् ।”

सप्तरीका बलान बिहुँल गाउँपालिका–२ चन्ही चोकमा १२ वर्ष अगाडि निकै सस्तोमा पाइने जग्गाको भाउ अहिले आकासिएको स्थानीयवासी रामशङ्कर भण्डारीले बताए । “सडक पूर्णरुपमा तयार भयो भने जग्गाको भाउ अझै बढ्ला”, स्थानीयवासी प्रमेश्वर दासले बताए । यस क्षेत्रमा पुल निर्माण सम्पन्न हुने वित्तिकै सडकमा गाडी चल्न सुरु हुने तथा धनुषा, सिरहा र सप्तरीका ग्रामीण बस्तीमा आर्थिक गतिविधि बढ्ने नेरुडे लघुवित्त सनैहठा शाखामा कार्यरत हेमन्थ यादवले बताए । सिरहा र धनुषा जोड्ने कमला नदीमा निर्माणाधीन पुल भत्किएको एक वर्ष भन्दा बढी भइसक्दा पनि पुनःनिर्माण भएको छैन । जसका कारण अस्थायी पुलमा जोखिमपूर्ण यात्रा गर्न स्थानीय बाध्य छन् । सिरहा सदरमुकामबाट हुलाकी सडक भएर जनकपुरधाम पुग्न करिब ४५ मिनेट लाग्छ । तर, राजमार्ग भएर जनकपुरधाम पुग्न झण्डै तीन घण्टा लाग्छ । राजमार्गको दूरी लामो तथा गाडीको चाप भएकाले धेरै मानिस जोखिम मोलेरै जनकपुरधाम पुग्न हुलाकी सडक रोज्छन् ।

 पुलको पूर्व सिरहा नगरपालिका र पश्चिम धनुषाको कमला नगरपालिका पर्छ । कमला नदीमा चार सय ७० मिटर लम्बाइ र ११ मिटर चौडाइ पुल निर्माणका लागि २०६८ मै पप्पु लुम्बिनी विल्डर्सले रु २४ करोड ९१ लाखमा ठेक्का लिएको थियो । केही काम गरी पप्पुले काम नगरेपछि सम्झौता रद्द गरी २०७६ असोज १ मा लुम्बिनी विल्डर्स कन्स्ट्रक्सनलाई जिम्मा दिइयो । एक वर्ष अगाडि असारमा पहिलो पुल हस्तान्तरण गर्ने भनी निर्माण कम्पनीले तयारी गरिरहँदा २०७८ असार १७ को सामान्य बाढीले पिलर भासियो, ढलानसमेत खस्यो । सरकारले पुल पुनःनिर्माण गर्न निर्देशन दिए पनि निर्माण व्यवसायी कम्पनीले वास्ता गरेको छैन ।

हुलाकी सडक आयोजना जनकपुरधामका प्रमुख इञ्जिनीयर कृष्णा महतोले भने, “ठेक्का लिएकै कम्पनीले पुनः पुलःनिर्माण गर्छ । वर्षायाममा अर्को डिजाइन तयार पार्ने र हिउँदबाट काम सुरु गर्ने भनिएको थियो । अब काम सुरू हुन्छ ।” यस्तै सिरहाको औरही गाउँपालिका वडा— ५ गागन नदीमा हीराचन रोशन कन्ट्रक्सन प्रालि मार्फत रोशन कन्ट्रक्सनले पुल निर्माणको काम गर्दै आएको छ । तीन वर्षभित्र सकिने गरी २०७६ सालमा सम्झौता भएको सो पुल निर्माणको काम  ढिलो हुँदा स्थानीयवासी निराश बनेका छन्  ।
 
सिरहा सिमनामा बलान पुल देखि कमला पुल २९। ८८ किलोमिटर, सप्तरी जिल्लामा कञ्चनरुपदेखि बलान पुल ३२ किलोमिटर, धनुषा जिल्लामा कमला पुल देखि जनकपुरधाम २७ किलोमिटर हुलाकी सडक खण्ड पर्दछ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप