शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एमाले बनेका पूर्वमाओवादीलाई ओलीको आश्वासन : जसरी भएपनि सांसद बनाउँछु

भट्टभन्दा रायमाझी र साह ढुक्क
सोमबार, १० असोज २०७९, १५ : ३५
सोमबार, १० असोज २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका नेताहरुलाई पुनः सांसद बनाउने आश्वासन दिएका छन् । अध्यक्ष ओलीले पूर्वमाओवादी खेमाका नेताहरुलाई सकेसम्म प्रदेश वा प्रतिनिधि सभातर्फ प्रत्यक्षको उम्मेदवार बनाउने र त्यहाँबाट पुरा हुने स्थिति नदेखिएमा समानुपातिक वा  राष्ट्रिय सभाबाट भएपनि दोहो¥याएर सांसद बनाउने बचन दिएका हुन् ।

तत्कालीन नेकपा विभाजन हुँदा माओवादीबाट सांसद बनेका प्रतिनिधि सभातर्फबाट चार जनासहित सात प्रदेशबाट १४ जना प्रदेश सभा सदस्य एमालेतर्फ लागेका थिए । ती प्रतिनिधि सभा र प्रदेश सभा सदस्यलाई प्रत्यक्ष वा समानुपातिक जसरी भएपनि सांसद बनाउने ओलीले बचन दिएका हुन् ।  हाल माओवादीबाट एमाले प्रवेश गरेका ३२ जनालाई केन्द्रीय समितिमा समेटिएको छ ।

चुनाव नजिकिएसँगै पूर्वमाओवादीतर्फका एमाले नेताहरुले टिकट पाउन लविङ गर्न थालेपछि ओलीले यस्तो आश्वासन दिएका हुन् । ती सबै नेताहरुलाई कुनै न कुनै विधिबाट दोहो¥याएर भएपनि सांसद बनाउने ओलीले आश्वासन दिएको एक पूर्वमाओवादी नेताले बताए । ‘हामी माओवादीबाट एमालेतिर लागेको भर्खरै हो । एकाध नेता बाहेक अधिकाश नेताको जनमत छैन । एमालेकै जनमतमा भर पर्नुपर्ने छ । त्यस्तो हुँदा हामीले प्रत्यक्ष टिकट पाउने सम्भावना कम भयो’, ती नेताले भने, ‘माओवादी हुँदा सांसद भएकालाई पुनःसांसद हुन कठिन भएको अवस्थामा केपी कमरेडले अन्य कुनै विधि खोजेर भएपनि दोहो¥याएर सांसद बनाउँछु भन्नु भयो ।’ ओलीले माओवादीमा हुँदा सांसद भएकालाई पुनःसांसद बनाउने आवश्वासन दिएपछि असन्तुष्ट नेताहरु समेत खुसी भएका छन् ।

बादल चुनाव नलड्ने, मणि समानुपातिकमा

एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ आगामी चुनावमा उम्मेदवार नबन्ने उनी निकट एक नेताले बताए । थापाको चुनावी क्षेत्र चितवन २ हो भने त्यहाँबाट उनले चुनाव नलड्ने देखिएको छ । बरु एमालेकै पुराना नेताहरु कृष्णभक्त पोखरेल, विजय सुवेदी, घनश्याम दाहाल लगायत नेताहरु टिकटको दौडमा छन् । उसो त बादललाई चितवन–२ मा स्थानीय नेताहरुले नै उम्मेदवारको रुपमा हेर्न नचाहेको एक नेताको भनाइ छ । ‘बादल दाइ चुनाव लड्न खोज्नु भएको थियो । अरु नेताहरुले मान्नु भएन । उहाँ चुनाव लड्ने इच्छा हुँदाहुँदै पाउनु भएन’, ती नेताले भने । थापा पहिलो संविधान सभा चुनावमा चितवनबाट प्रत्यक्ष निर्वाचित भएका थिए । २०७० सालको चुनावमा वैद्य माओवादीतिर रहेका थापा वहिस्कारमा सहभागी भएका थिए । ०७४ सालको चुनावमा थापा माओवादीबाट चुनाव उठ्न खोजेपनि एमालेकै नेताहरुले छोड्न नमानेपछि रोकिएका थिए । जतिबेला एमाले र माओवादी केन्द्रबीच वाम गठबन्धन थियो ।  

यस्तै स्थायी समिति सदस्य मणि थापा भने समानुपातिक सूचीमा समेटिएका छन् । आगामी मंसिरमा प्युठानबाट चुनाव लड्न खोजेपनि अर्का नेता सूर्य थापाले सो क्षेत्रबाट प्रतिस्पर्धा गर्ने भएपछि उनी समानुपातिकमा समेटिएका हुन् ।

भट्टभन्दा रायमाझी र साह ढुक्क

एमाले सचिव लेखराज भट्टले कैलाली क्षेत्र नम्बर ४ बाट चुनाव लड्ने तयारी गरेका छन् । २०६४ सालदेखि माओवादीबाट लगातार चुनाव जित्दै आएका भट्ट यो चुनावमा एमालेबाट लड्ने भएका हुन् । भट्टको क्षेत्रमा अरु नेताले दाबी नगर्ने भएकाले उनी टिकट पाउनेमा ढुक्क देखिन्छन् । तर, एमालेबाट पहिलो पटक लड्न लागेका भट्टलाई चुनाव जित्न कठिन हुने बताइएको छ ।

स्थानीय चुनावमा समेत उनको क्षेत्रमा खासै प्रभाव नदेखिएकाले उनलाई चुनाव जित्न सकस पर्ने उनी निकट नेताहरुकै आँकलन छ । यस्तै अर्का सचिव टोपबहादुर रायमाझी अर्घाखाँचीबाट प्रतिनिधि सभा चुनाव लड्ने तयारीमा छन् । २०६४ सालदेखि माओवादीबाट लगातार चुनाव जित्दै आएका रायमाझी यो पटक पाँचदलीय गठबन्धनविरुद्ध मैदानमा उत्रिँदैछन् । रायमाझी अर्घाखाँचीमा गठबन्धन भएपनि चुनाव जित्ने दाबी गर्छन् ।

यस्तै स्थायी समिति सदस्य प्रभु साह रौतहट क्षेत्र नम्बर तीनबाट चुनाव लड्ने तयारीमा छन् । साहले २०६४ सालदेखि माओवादीबाटै लगातार चुनाव जित्दै आएका थिए ।  एमालेबाट साहको क्षेत्रमा दाबी गर्ने अरु नेता नभएकाले उनले नै टिकट पाउने देखिन्छ । आगामी चुनावमा गठबन्धन भएपनि नतिजा आफ्नो पक्षमा आउनेमा साह आशावादी छन् । उनी राम्रो जनमत राम्रो भएको दाबी गर्छन् ।

पूर्वमाओवादी छाडेर एमाले बनेकामध्ये भट्टभन्दा रायमाझी र साह चुनाव जित्नेमा ढुक्क देखिन्छ । यस्तै केन्द्रीय सदस्य गौरीशंकर थारु कैलाली क्षेत्र नम्बर तीनबाट चुनाव लड्ने तयारी गरेका छन् । सो क्षेत्र थारु समुदायको बाहुल्यता भएकाले उनले नै टिकट पाउने सम्भावना छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

वीरेन्द्र ओली
वीरेन्द्र ओली
लेखकबाट थप