दसैं, पुर्खाको धरोहर र सामाजिक सदभाव

person explore access_timeअसोज १०, २०७९ chat_bubble_outline0

 हिन्दूहरूको महान चाडपर्वमध्ये विजया दशमी महान एवम् महत्वपूर्ण पर्व हो । दसैंका विभिन्न नाम छन् । कसैले दशहरा, कसैले बिजया दशमी र कसैले बडा दसैं भनेर नामकरण गरेको पाइन्छ । असोज महिनाको शुक्ल पक्षको दशमी तिथिको दिन यस पर्वको प्रमुख दिन मानिन्छ । नेपाल पञ्चाङ्ग निर्णय समितिका अनुसार यसपाली दसैं टीका असोज १९ गते बुधबारका दिन विहान ११ः ५१ बजेको साइत उत्तम रहेको जनाएको छ ।


 हिन्दू धर्मशास्त्रअनुसार त्रेता युगमा श्रीरामले सीताको हरण गर्ने रावणको बध गरेको सम्झनामा यस चाडलाई विशेष गरी मनाइन्छ । भगवान श्री रामले दसैंमा रावणमाथि विजयी हासिल गरेको भएर दसैंलाई वडादसैंं एवम् विजया दशमीको नामले पनि चिनिन्छ । विशेषत दसैंलाई असत्य माथि सत्यको जित भएको दिनको रुपमा पनि सम्झना गरिन्छ ।



विजया दशमी भगवान श्रीरामको विजयको रुपमा मनाइयोस् वा दुर्गा पूजाको रुपमा, यो खास शक्ति–पूजाको पर्व हो । हर्ष, खुशी र उमङ्ग  तथा विजयको पर्व हो । त्यसैले दसैंले आफ्नो छुट्टै गरिमा र पहिचान बनाएको छ ।प्राचिनकालमा राजाहरूले यो दिन विजयको प्रार्थना गरेर रण–यात्राको लागि प्रार्थना गर्दथे । उक्त दिनमा ठाउँ–ठाउँमा मेलाहरु लाग्थ्यो । अहिले पनि भारतमा रामलीलाको आयोजना हुन्छ र रावणको विशाल पुतला बनाएर जलाइन्छ ।



हिन्दू नेपालीहरुको सबैभन्दा ठुलो चाड भनेको नै दसैं हो । दसैं आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु हुन्छ र यसको पहिलो दिनलाई घटस्थापना भनिन्छ । दसैं प्रतिपदा घटस्थापनादेखि पूर्णिमा (कोजाग्रत) सम्म १५ दिनको हुन्छ । प्रतिपदा (घटस्थापना), सप्तमी (फूलपाती), महाअष्टमी (कालरात्री), महानवमी, विजयादशमी र पूर्णिमा (कोजाग्रत) दसैंका प्रमुख तिथि हुन् ।

बडादसैंको  पर्वमा शहर वजारमा मालश्री धुन बजाएर र गीत गाएर पनि रमाईलो गरिन्छ । देश विदेश तथा टाढा–टाढा भएका आफन्त र साथीभाईसँग घेटभाट हुने वातावरण यसै समयमा सुरु हुन्छ । दशैंमा दक्षिणा, टीका, जमरा,नयाँ कपडा, पिङ्ग, मीठा–मीठा खानाका परिकार र मान्यजनको आर्शिवादले भरिपूर्ण हुन्छ । त्यसैले अरु चाडभन्दा दसैंलाई विशेष महत्वका साथ हेर्ने र मनाउने गरिन्छ ।

वास्तवमा, दसैंं दश दिन मनाउने भएकोले पनि यो हिन्दूहरूको महान पर्वलाई दसैं भनेको हुनुपर्छ । दसैंमा नवदुर्गाको नौ वटा रुप शैलीपुत्री, व्रह्माचारणी, चन्द्रघण्टा, कुशमन्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिधात्रीको विशेष पूजा तथा आराधना गरिन्छ । 

नवदुर्गा भवानीका यी नव रुपको आश्विन शुक्लपक्ष प्रतिपदाका दिनदेखि महानवमीका दिनसम्म क्रमशः एक–एक दिन गरी नौ दिनसम्म पूजा गरिन्छ । दसैंका दिन विजयादशमीमा भगवतीले दानवी शक्तिमाथि र श्रीरामले रावणमाथि विजय हासिल गरेको खुसीयालीमा नवदुर्गा भवानीको प्रसाद स्वरुप मान्यजनवाट रातो टीका र पहेलो जमरा लगाइन्छ । 

सदाको बर्षझै यस बर्ष पनि वडादसैंं हामी सबैको घर–आँगनमा आइसकेको छ  । तर, विगतको दुई वर्ष कोरोना कालको दसैं बडो नमिठो भएर गयो । यसपाली आम नेपालीहरुको महान चाड विजया दशमी उल्लासमय तरिकाले भित्रिएको छ ।

दशैंंका महत्वपूर्ण दिनहरू
घटस्थापना
प्रतिपदाको दिनलाई घटस्थापना भनिन्छ । यसै दिनदेखि दसैंको नवरात्र आरम्भ हुन्छ । क्रमशः दशमीका दिन प्रातःकालमा मात्र यो व्रत समापन हुन्छ । यसै दिन जमरा राखिन्छ । उक्त दिन घट अर्थात् कलशको स्थापना गरी देवीदेवतालाई घर–घरमा निमन्त्रणा गरिन्छ । 

घटस्थापनाको दिन बिहानै नदी, खोला वा तलाउमा गएर चोखो बालुवा अथवा पञ्चमाटो ल्याई दसैं घर र सबैको आ–आफ्ना घरको पूजा कोठामा सूर्यको प्रकाश नपर्ने गरी अँध्यारो कोठामा जौ र मकैका गेडा पनि उमार्ने चलन छ । जसलाई हामी जमरा भन्छौ । माता भगवतीलाई मनपर्ने वनस्पति पनि जमरा नै हो । जमरा औषधीमय जडीबुटीको लागि पनि प्रयोग गरिन्छ ।

महासप्तमी (फूलपाती)

नवरात्रीको सातौं दिनलाई फूलपाती भनिन्छ । नवरात्रको सप्तमीका दिन बेलपत्र, धानको बाला, अनार अदुवाको बोट, कचु, उखु, केरा आदि नौ प्रकारका पालुवादसैं घरमा  भित्र्याउने कार्यलाई फूलपाती भित्र्याउने भनिन्छ ।  वर्षा ऋतु सकिएर शरद ऋतुको स्वागतका लागि नयाँ पालुवाहरु घरमा भित्र्याउँदा औषधीको काम गर्ने र विभिन्न रोगका किटाणु तथा जीवाणुहरु नास भएर जान्छन् भन्ने शास्त्रीय मान्यता छ । 

फूलपातीका दिन काठमाडौंको टुँडिखेलमा सेनाको हर्ष बढाइँ भएपछि फूलपाती स्वरुप दारिम, केरा, धान, हलेदो,कचु, बेल,अशोक र जयन्ती गरी नौ प्रकारका पातलाई पूजा गरी दुर्गापूजा गरेको स्थानमा राखिन्छ । यसैदिन गोरखा दरबारको दशैंं घरबाट ल्याइएको फूलपाती काठमाडौंको जमलमा ल्याई नेपाली सेनाले परेड र बढाइँका साथ हनुमानढोका दरबारमा भित्र्याउँछन् ।

महाष्टमी
नवरात्रीको आठौ दिनलाई महाष्टमी भनिन्छ । महाष्टमीमा महाकाली भद्रकालीको विशेष पूजा–आजा गरिन्छ । देवी भागवत्अनुसार प्राचीन कालमा दक्षप्रजापतिको यज्ञ नाश गर्ने ज्यादै शक्तिशाली भद्रकालीका साथ अष्टमीका दिन उत्पन्न भएकोले पूजा गर्ने चलन रहिआएको छ । पूजापछि मानिसहरु नवदुर्गा र आ–आफ्ना कुलदेवताहरुलाई पूजी बोका,कुखुरा, हाँस, पाडा लगायतको बलि दिन्छन् । शाकाहारीले भने नरिवल, कुभिण्डो, केरा आदि फल अर्पण गर्छन् ।
महानवमी
नवरात्रीको नवौं दिन महानवमीमा विशेष गरी महालक्ष्मी देवीको पूजा–आजा गरिन्छ । यसै दिन हातहतियार तथा सवारी साधन आदिलाई बलि दिई विश्वकर्माको पूजा गर्ने प्रचलन छ । यस दिन अरु पूजाको साथै दुई वर्षदेखि दश वर्षसम्मका नवकन्याको पनि पूजाआजा गरिन्छ ।

विजया दशमी
नवरात्रीको दशौं दिनलाई विजयादशमी भनिन्छ । यस दिनमा भगवान रामचन्द्रले रावणमाथि विजयी प्राप्त गरेकोले यस दिनलाई विजया दशमी भनिएको हो भन्ने भनाई छ । यसदिन आफूभन्दा ठूला र मान्यजनका हातवाट टीका, जमरा र दक्षिणा ग्रहण गरिन्छ । धर्मशास्त्र अनुसार जौलाई समृद्धिको प्रतीक मानिन्छ । दसैंको वेला सुख, शान्ति, शक्ति र समृद्धिको कामना गर्दै टीका लगाउन आफन्त छिमेक हुँदै मामाघर र ससुरालीसम्म पुग्दछन् । सामान्तयाः दसैंको टीका लगाउने चलन एक दिन रहेतापनि कतै कोजाग्रत पूर्णिमासम्म लगाउने प्रचलन छ ।

टीका लगाउँदा पुरुषहरूलाई दिइने आर्शिवाद यस्तो छः

“आयू द्रोणसुते श्रीयो खशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्य नहुषे गतिश्व पवने मानञ्च दुर्योधने ।
दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते ।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्व नारायणे ।।”

टीका लगाउँदा महिलाहरुलाई दिइने आर्शिवाद यस्तो छः

“जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गा शिवा क्षमा धात्री स्वाहा स्वधा नमोस्तुते ।।”

वास्तवमा वैदिककाल साधना, सिद्धि, सामर्थ्य, शक्ति र सौर्यताको संगमको काल थियो । त्यहीबाट दसैंको सुरुवात भो । बडादशैं सनातन परम्परा, संस्कार–संस्कृति, धर्म, आस्था र विश्वाससँग जोडिएको बिषयमात्र नभएर अव यसको वैज्ञानिक महत्वको बिषय पनि रहेको पुष्टि भएको छ । यो सामाजिक, साँस्कृतिक, मनोवैज्ञानिक र व्यवहार विज्ञानसँग पनि निकट रहेको छ ।

दसैं पुर्खाको धरोहर हो । यो चाड पुर्खौदेखि चल्दै आएको छ । हामीलाई एक अर्कामा अनुशासित राख्न, सामाजिक मर्यादा सिकाउन, सामाजिक सदाचारको जीवनयापन गर्नको लागि चाडपर्वको उल्लेखनीय भूमिका हुन्छ । 

दशैं जस्तो महान चाडको पनि केही कमजोरी नभएका होइनन् । सबैको क्षमता र हैसियत समान नभएकोले पनि सबैको घरमा दशैंं सोचे जस्तो हुँदैन । गरीबहरुको घरमा चाडवाड पीडा बनेर आउँछ । एक जोर नयाँ कपडा र मीठो गुलियो खान नपाउँदा गरिबलाई के को दसैं ? त्यसैले दसैंमा धेरै तडकभडक देखाउनु राम्रो पक्ष होइन । घाँटी हेरेर हाड निल्नुपर्दछ । 

आफ्नो क्षमताअनुसार चाडपर्व मनाउन जान्नु पर्दछ । ऋणको बोझ बोक्ने गरी कुनै चाडपर्व मनाउनु हुँदैन । दसैंका नराम्रा पक्षहरुलाई हटाउँदै चाडपर्वको संरक्षणमा लाग्नु आजको अनिवार्य आवश्यकता हो । संस्कृतिलाई कहिल्यै पनि मास्नु हुँदैन । संस्कृति हराए सबैको विनाश हुन्छ । चाडपर्व र संस्कृतिमा हाम्रो मौलिक जीवन बाँचेको छ । 

सामाजिक सद्‌भाव
सदाको बर्षझै यस बर्ष पनि वडा दसैं हामी सबैको घर–आँगनमा आइसकेको छ  । तर, विगतको दुई वर्ष कोरोना कालको दशैं बडो नमिठो भएर गयो । यसपाली आम नेपालीहरुको महान चाड विजयादशमी उल्लासमय तरिकाले भित्रिएको छ । घर–घरमा, गाउँ–टोलमा दशैंको बेग्लै रौनक छ । मानिसहरु यसपालिको दशैं के कसरी मनाउने भन्नेबारे तयारी गर्दैछन् । 

चाडपर्वले हाम्रो मूल्य र मान्यताको इतिहास बोकेको हुन्छ । सोह्र श्राद्ध चलिरहेका वेला र प्रीति बिसर्जन गर्ने दिनमा रातो टीका हिन्दू शास्त्रमा राम्रो मानिँदैन । हामीले हरेक चाडपर्वलाई सामाजिक सद्‌भावसँग जोड्नु पर्दछ । सबैको जीवन सुखमय रहोस् । सबैलाई यस वर्षको दसैंको शुभकामना ! 

स्वर्गद्वारी नगरपालिका–३, प्यूठानका लेखक शिक्षण पेशामा आवद्ध छन्

 

 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।