शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लघु बीमाको लाइसेन्सका लागि किन परेन एउटै निवेदन ?

सोमबार, १० असोज २०७९, २२ : ३२
सोमबार, १० असोज २०७९

बीमा समितिले लघु बीमा कम्पनीको लागि खुलाएको लाइसेन्समा एउटा पनि निवेदन परेको छैन । समितिले भदौ १० गते ३५ दिनको म्याद दिएर लाइसेन्सका लागि आवेदन माग गरेको थियो । तर, समितिले सार्वजनिक रुपमा निवेदन माग गरेको ३० दिन बितिसक्दासम्म एउटा पनि निवेदन नपरेको समितिले जानकारी दिएको छ । समितिले गत भदौ १० गते सातै प्रदेशमा पर्ने गरी ७ वटा लघु बीमा लाइसेन्स वितरण गर्नको लागि निवेदन माग गरेको थियो ।

सार्वजनिक सूचना प्रकाशित गरेको ३० दिनसम्म पनि कुनै निवेदन प्राप्त नभएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । निवेदन दिने म्याद अझै बाँकी भएकोले तोकिएको म्यादभित्र निवेदन पर्ने विश्वास उनको छ ।

‘आइतबारसम्म एउटा पनि निवेदन परेको छैन, म्याद अझै केही दिन बाँकी छ, त्यसैले निवेदन पर्छ होला,’ कार्यकारी निर्देशक पौडेलले रातोपाटीसँग भने । समितिले भदौ १० गते सार्वजनिक सूचना प्रकाशित गरी सो मितिभन्दा अगाडि दर्ता भएका निवेदन रद्द गरेको थियो । समितिले ३ जीवन बीमा व्यवसाय गर्ने र ४ वटा निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीको लाइसेन्स दिने भनेको थियो । लघु बीमा कम्पनीको चुक्ता पुँजी कम्तिमा पनि ७५ करोड रुपैयाँ हुनुपर्ने भनिएको छ । 

समितिले साउन ३१ गते लघु बीमाको लाइसेन्स वितरण गर्न सक्ने गरी निर्देशिका संशोधन गरेको थियो । त्यसलगत्तै समितिले भदौ १० गते सार्वजनिक सूचना प्रकाशित गरेर लघुबीमाको लाइसेन्सका लागि सार्वजनिक आह्वान गरेको हो ।
यसअघि बीमा समितिले जीवन र निर्जीवन बीमा व्यवसाय गर्नको लागि मात्रै लाइसेन्स दिने गरेको थियो । यस्तै, पुनर्बीमाको लागि पनि लाइसेन्स दिइएको छ । 

समितिले बीमा कम्पनीको संख्या बढी भएको महसुस गर्दै पुँजी बृद्धिको योजना ल्याएर कम्पनीको संख्या कम गर्न खोजेको छ । समितिले प्रत्यक्ष रुपमा मर्जर वा एक्वीजीसनको दबाब दिएको नभएपनि हकप्रद जारी नगरी चुक्ता पुँजी बढाउ भनेर अप्रत्यक्ष रुपमा मर्जर र एक्वीजीसनमै दबाब दिएको थियो । समितिले जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुको चुक्ता पुँजी ५ अर्ब र निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुको चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ हुनुपर्ने व्यवस्था गरेको छ ।

पछिल्लो समय आर्थिक गतिविधि कम हुँदै गएर कम्पनी खोल्नका लागि आवश्यक रकम जुट्न नसकेको तथा लाइसेन्स वितरणमा ‘अतिरिक्त रकम लगानी’ गर्नुपर्ने भएकोले निवेदन दिन खासै उत्साह नभएको लाइसेन्स लिन चाहनेहरु बताउन थालेका छन् ।

‘लघुबीमाले काम गर्ने भनेको न्युन आय भएका व्यक्तिहरुसँग कम प्रिमियम लिएर अधिकतम सेवा प्रदान गर्ने गरी हो, यसरी व्यवसाय गर्दा ७५ करोड रुपैयाँको चुक्ता पुँजी भएको कम्पनीले लगानीकर्तालाई कति प्रतिफल कति वर्षमा दिन सक्ला ? एक त चुक्ता पुँजी नै बढी राखियो, दोस्रो अतिरिक्त रकम लगानी गर्नुपर्ने भन्ने पनि सुनिएको छ, त्यसैले निवेदन दिन त्यति मन लागिरहेको छैन,’ लघुबीमाको लाइसेन्स लिन चाहेका एक लगानीकर्ताले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप